PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

प्रचण्डको 'ओभर कन्फिडेन्स' आत्मालोचनाले कति सुध्रिएला माओवादी?



विधुर ढकाल

प्रचण्डको 'ओभर कन्फिडेन्स' आत्मालोचनाले कति सुध्रिएला माओवादी?

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८ औं महाधिवेशन अन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरको राजनीतिक दस्तावेज, नेता राम कार्कीले पेश गरेको पुरक प्रस्ताव र नेता देव गुरुङले पेश गरेको पार्टीको विधान प्रस्ताव माथि प्रतिनिधिहरुले आफ्ना सुझाव राखिरहेका छन्। मंगलवार दिनभर र बुधवार मध्यान्नसम्म समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताहरुले प्रस्तुत गर्दैछन्।

१० वर्ष जनयुद्धको नेतृत्व गरेर शान्ति प्रक्रियामा आएपछि माओवादी पार्टी र नेतृत्वमा विचलन आएको अध्यक्ष प्रचण्डले दस्तावेज मार्फत् स्वीकार गरेका छन्।

मंगलवार दिउँसो प्रज्ञा प्रतिष्ठानमा भएको स्थायी कमिटीको बैठकपछि बाहिरिँदै गर्दा पत्रकारले घेरिए प्रचण्ड। प्रश्न उनीतिर तेर्सियो- ‘सांस्कृतिक परिवर्तनको सुरुवात कोबाट हुन्छ?’

प्रचण्डको जवाफ पनि संक्षिप्त नै थियो- ‘मैबाट हुन्छ। अब जे हुन्छ, सुरुवात मबाटै हुन्छ।’

प्रचण्डले पेश गरेको दस्तावेजको वैचारिक-राजनीतिक एवं कतिपय सांगठनिक र व्यवहारिक कमजोरीको समीक्षा गर्दै आफूमा मनोगत भावना बढेको र ‘ओभर कन्फिडेन्स’ बढेर गएको स्वीकार गरेका छन् प्रचण्डले। उनले शान्ति सम्झौता गर्दा, जनमुक्ति सेना र हतियारलाई क्यान्टोनमेन्टमा राख्ने काममा अध्यक्षको ओभर कन्फिडेन्स देखिएको स्वीकार गरेका छन्। 

‘केन्द्रीय समितिको चुनवाङ बैठकबाट सामान्य सैद्धान्तिक राजनीतिक दिशावोध गरिएको भएता पनि शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तथा जनमुक्ति सेना र हतियारलाई क्यान्टोन्मेन्टमा राख्ने जस्तो अत्यन्त गम्भीर र संवेदनशील निर्णय न्यूनतम् रुपमा केन्द्रीय समितिको बैठकमा खुलस्त बहस र छलफल गरेर तथा शान्ति सम्झौतापछि पार्टीको नीति, योजना र कार्यक्रमको बारेमा समेत साझा धारणा बनाएर मात्र गर्नु पर्थ्यो,’ दस्तावेजमा प्रचण्डले स्वीकार गरेका छन्- ‘बस्तुगत रुपले सही नै भए पनि नेतृत्वले उपरोक्त निर्णय लिने प्रक्रियाले पार्टीभित्र कहीँ न कहीँ अविश्वास र आशंकाको जन्म भयो। यसमा अध्यक्ष कमरेड प्रचण्डको मनोगत तथा पार्टीको जनवादी केन्द्रीयतालाई अतिक्रमण गर्ने (ओभर कन्फिडेन्स) अति आत्मविश्वास झल्कने कमजोरी देखिएको छ।‘

प्रचण्डले अध्यक्षको यस्तो निर्णय प्रक्रियाले एकीकृत र केन्द्रीकृत रहेको नेतृत्वका जिम्मेवार कमरेडहरुको मनमा चिसो पसेको बताएका छन्। माओवादी नेतृत्वमा रहेका मोहन वैद्य लगायतका नेताहरु जनसेनालाई क्यान्टोन्मेन्टमा राख्ने र हतियार बुझाउने कुराको विरोध गर्दै आएका थिए।

‘अर्कातिर अब पार्टी कहाँ र कसरी जाने हो भन्ने कुराको स्पष्ट मार्गचित्र नहुँदा आम कार्यकर्ता पङ्क्तिमा अन्यौल बढ्न गयो। यो बिन्दुबाट तात्कालीन पार्टीमा रहेको सुदृढ वैचारिक राजनीतिक र सांगठनिक एकताको गाँठो खुकुलो बन्दै गयो,’ उनले भनेका छन्।

प्रचण्डले हतियार बुझाउँदा पार्टी विभाजन भएको स्वीकार समेत गरेका छन्। उनले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेर जनमुक्ति सेना र हतियारलाई संयुक्त राष्ट्रसंघीय मिसनको अवलोकनमा राख्नेगरी विभिन्न क्यान्टोन्मेन्टमा लगिसकेपछि पनि विद्रोह र संविधान निर्माणका दुवै कुरा एकैचोटी गरिरहनाले पार्टीमा ठूलो विचारधारात्मक राजनीतिक अन्यौल सिर्जना भएको स्वीकार गरेका छन्।

‘अझ कतिपय सन्दर्भमा मुखले संविधान निर्माणका कुरा गर्ने र मनले विद्रोह कुरा गर्ने भन्ने अत्यन्त अवस्तुवादी र अपारदर्शी कुराले शान्ति सम्झौता गरेर सेना र हतियारलाई क्यान्टोन्मेन्टमा राखिसकेपछि विद्रोह त हुने कुरै थिएन,’ उनले दस्तावेजमा भनेका छन्, ‘बरु संविधानसभाबाट अधिकतम प्रगतिशील संविधान निर्माणको काममा पनि ठूलो क्षति पुग्नगयो। यही वैचारिक र राजनीतिक अस्पष्टताको जगमा नै पार्टीमा गुटबन्दी र अराजकता झाङ्गिएर जान थाल्यो। वस्तुत: पार्टीले शान्ति सम्झौतामा हस्ताक्षर गरेर जनसेना र हतियारको व्यवस्थापन गरिसकेपछि स्पष्ट रुपमा अधिकतम प्रगतिशील संविधान निर्माणका निमित्त संघर्ष नै हाम्रो अबको बाटो हो भन्नुपर्थ्यो।‘

‘विद्रोह नभन्ने हो भने कार्यकर्ता भड्किन्छन् कि’ भन्ने नेतृत्वको मनोगत भयले यसमा काम गरेको समेत उनले बताएका छन्। ‘परिणामले के सावित गरेको छ भने बरु स्पष्ट रुपमा अबको बाटो संविधान निर्माण र शान्तिपूर्ण रुपले जनवादी क्रान्तिका बाँकी काम पूरा गर्नु हो भन्न सकेको भए सम्भवत: माओवादी पार्टीलाई विभाजनबाट जोगाउन सकिन्थ्यो,’ दस्तावेजमा भनिएको छ, ‘विद्रोह र संविधानका सबै कुरा गर्दा न पार्टी एकता बच्यो न अधिकतम प्रगतिशील संविधान बनाउने काम नै प्रभावकारी हुनसक्यो।'

उनले विचार र राजनीतिको प्रश्नमा सिधा र स्पष्ट छलफल गरेर पार्टीमा साझा धारणा विकास गर्नुपर्ने स्पष्ट भएको समेत उल्लेख गरेका छन्।
उनले प्रचण्ड-पथलाई छलफल बिना स्थगित गर्नु भुल भएको स्वीकार गरेका छन्।

‘जनयुद्धको गुणात्मक विकासमा एउटा विशिष्ट विचार श्रृङ्खलाका रुपमा संश्लेषित प्रचण्ड-पथ र त्यही आधारमा विकशित २१ औं शताव्दीमा जनवादको विकास सम्बन्धी प्रस्तावनाको महत्त्वपूर्ण भूमिका थियो। तात्कालीन नेकपा माओवादीलाई एकतावद्ध राख्ने बलियो वैचारिक हेडक्वाटरका रुपमा 'प्रचण्ड-पथ' दोस्रो राष्ट्रिय सम्मेलनले स्वीकार गरेको थियो,’ दस्तावेजमा भनिएको छ, ‘तात्कालीन नेकपा (माओवादी)ले युद्धको बिचमा जीवन हत्केलामा राखेर सम्पन्न गरिएको दोस्रो राष्ट्रिय सम्मेलनको सर्वसम्मत निर्णय तथा आम माओवादी कार्यकता एवं समर्थक जनसमुदायले समेत सगर्व अनुमोदन गरेको प्रचण्ड-पथ न केन्द्रीय समितिमा न राष्ट्रिय भेला वा सम्मेलन आह्वान गरेर कुनै खालको बहस, छलफल र निर्णय प्रक्रिया बिना नै प्रचण्डको व्यक्तिगत पूँजी जस्तो गरी स्थगित गर्नुले पनि पार्टीभित्र गम्भीर आशंका र अराजकतालाई टेवा पुर्‍यायो। वास्तवमा प्रचण्ड-पथका बारेमा पार्टीभित्र गम्भीर बहस, छलफलसहित सम्भव भए राष्ट्रिय सम्मेलन, सो सम्भव नभए कम्तिमा केन्द्रीय समितिको बैठक मार्फत् त्यसबारे एकरुप धारण बनाएर निर्णय लिनुपर्दथ्यो।'

शान्ति प्रक्रियामा आएपछि विचार र नेतृत्वबारे आवश्यक बहस, छलफल गरी निष्कर्ष निकाल्ने काम गर्न नसकिएको प्रचण्डले स्वीकार गरेका छन्। अत्यन्त हल्का ढंगले विषयलाई पन्छाइनु गलत भएको उनको भनाइ छ। यद्यपि, उनले पुन: प्रचण्ड-पथ स्थापित गर्नुपर्ने हो कि भन्ने तर्क उठे पनि त्यसरी सोच्नु विल्कुल पश्चगामी हुने बताएका छन्।

उनले एमालेसँगको एकतापछि आफ्नो उदारवादी कमजोरीका कारण ओली प्रवृत्तिलाई षड्यन्त्रको जाल बुन्ने अनावश्यक अवसर दिएको उल्लेख छ।

‘आगामी दिनमा सिंगो पार्टी यस प्रकारका उदारवादी कमजोरी सच्च्याउन विशेष सजग र सर्तक रहन जरुरी छ,’ उनले दस्तावेजमा उल्लेख छ।

प्रचण्डले आफ्नो दस्तावेजमा सांस्कृतिक रुपान्तरणको प्रश्नसमेत उठाएका छन्। उनले पार्टीका नेता कार्यकर्ताको दैनिक आचरण, सम्पर्क सम्बन्ध, जीवन पद्धती, लवाईखुवाई, यौन जीवन, आर्थिक र पारिवारिक सम्बन्धको विषयलाई उठान गरेका छन्। उनले पार्टीमा कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसा प्रति आशक्ति बढ्दो रहेको उल्लेख छ।

‘यो स्थितिलाई बदल्न नसक्ने हो भने क्रान्तिकारी पार्टी र उन्नत संस्कृति सहित समाजवादको यात्रामा अगाडि बढ्न सम्भव छैन,’ दस्तावेजमा भनिएको छ, ‘अत: सांस्कृतिक रुपान्तरणको विषयलाई प्रत्येक कमिटीले विचार, राजनीतिक, संगठन र आचरणको तहबाट गम्भीर बहस छलफलसहित साझा निश्कर्षका लागि विभिन्न जोड गर्ने तथा व्यवहारमा उतार्न योजनावद्ध पहल गर्नुपर्दछ।’

प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमा आत्मालोचनको कुरा उठाएसँगै अब बाँकी नेता कार्यकर्ताहरुले पनि आत्मालोचना गर्नुपर्ने नेता कार्यकर्ताहरुले बताउन थालेका छन्।

‘अध्यक्षले आत्मालोचना गरिसक्नुभयो। आफैँबाट सुरुवात गर्ने भन्दै लाग्नुभएको छ। अब हाम्रो पालो हो,’ स्थायी कमिटी सदस्य मातृका यादवले भने, ‘हामीले पनि आफ्ना कमजोरीप्रति आत्मालोचना गर्दै अगाडि बढ्नुपर्छ। हामी नेताले जे भन्यो त्यसैमा ताली ठोक्यौँ। अब त्यस्तो गर्ने होइन। नेतृत्वलाई गाली गरेर सुधार्ने जिम्मेवारी पनि हाम्रो हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell