PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

पोखरा सडक महोत्सवको पूर्वसन्ध्यासम्म पनि लेकसाइडका १५ प्रतिशत होटल मात्र बुकिङ



रिना थापा

पोखरा सडक महोत्सवको पूर्वसन्ध्यासम्म पनि लेकसाइडका १५ प्रतिशत होटल मात्र बुकिङ
फाइल फोटो।

पोखरा : दुई दशकको इतिहास बोकेको पोखरा सडक महोत्सव पर्यटन क्षेत्रको ब्रान्ड हो। अंग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखरामा हरेक वर्ष सडक महोत्सव आयोजना हुन्छ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराले हरेक वर्ष आयोजना गर्ने सडक महोत्सव पोखराको ब्रान्ड बनिसकेको छ। अंग्रेजी नयाँ वर्षमा पर्याय बनिसकेको पोखराको सडक महोत्सवमा पोखराका होटल-रेस्टुरेन्ट भरिभराउ बन्छन्।

यो वर्षको १५ पुषदेखि १७ सम्म सडक महोत्सव हुँदै छ। नयाँ वर्ष मनाउनकै लागि आन्तरिक पर्यटकले लेकसाइडको होटल भरिभराउ हुन्छ।

विदेशी पर्यटकलाई लक्षित गरी मनाउन थालिएको सडक महोत्सवमा आन्तरिक पर्यटकको पनि उत्तिकै आर्कषण बढेको छ। तर, कोरोनाकै कारण गएको वर्षदेखि पोखराका होटलमा पर्यटकको संख्या न्यून देखिन्छ।

महोत्सवको पूर्वसन्ध्यासम्म पनि होटलमा १५ प्रतिशत मात्र अकुपेन्सी छ। दुई वर्षदेखि थला परेको पोखराको पर्यटनलाई चलायमान बनाउनकै लागि पर्यटन व्यवसायीले महामारीमा पनि महोत्सवलाई निरन्तरता दिदै छन्।

महोत्सवकै लागि पोखरामा केही दिन यता आन्तरिक पर्यटक आशाजनक उपस्थिति हुन थालेको छ। न्यून होटल अकुपेन्सीले थला परेको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकले सन्तोष भने पलाएको छ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पोखराका होटलहरूमा बुधवारसम्म १५ प्रतिशतमात्र अकुपेन्सी भएको छ। कोरोना अगाडि सडक महोत्सव अवधिमा लेकसाइडका होटलहरु भरिएका हुन्थे।

न्यू इयर इभको दिन पर्यटकहरु कोठा नपाएर भौतारिनु पर्ने हुन्थ्यो। महोत्सव शुरु हुनु अगावै करीब ७० प्रतिशत अकुपेन्सी भइसक्थ्यो भने इभको दिन शतप्रतिशत अकुपेन्सी हुन्थ्यो।

जबकी अहिले भने भोलिदेखि हुन लागेको सडक महोत्सवमा १५ प्रतिशत मात्र होटल बुकिङ भएको छ। इभका दिन शुक्रवारको लागि भने ५० प्रतिशत अकुपेन्सी छ।

उनका अनुसार बुकिङ गर्नेहरुमा विदेशीभन्दा स्वदेशी पर्यटक धेरै छन्। बुकिङ भएका पर्यटकमध्ये ५ प्रतिशत विदेशी र १० प्रतिशत भारतीय पर्यटक छन्। बाँकी अकुपेन्सी जमाउनेमा आन्तरिक पर्यटक नै छन्।

‘आज र भोलिको हेर्दा १५ प्रतिशत पनि छैन, पर्सिको लागि ५० प्रतिशत भइसकेको छ’, उनले भने, ‘पोखराको कुनैपनि होटल भरिएका छैन। नेपालीहरु त्यति बुकिङ गरेर आउने चलन छैन, भोलि डारेक्ट पनि आउन सक्ने सम्भावना छ।’

होटल संघले महोत्सवको अवसरमा ३० प्रतिशत छुट दिन अनुरोध समेत गरेको छ। संघले महोत्सवका लागि आउने हरेक पर्यटकलाई आफ्नो तोकिएको मुल्यमा ३० प्रतिशत छुट दिनु भनेर परिपत्र समेत जारी गरेको छ।

कोरोनाको समय पनि सडक महोत्सवलाई निरन्तरता दिएको रेवानको अघिल्लो वर्षको सडक महोत्सवको अवधिभर ६० प्रतिशत होटल अकुपेन्सी भएको सुवेदीले जनाए। त्यसअघि भने अहिलेको समयसम्म होटल फुल भइसकेको हुन्थ्यो।

अहिले कोरोनाले पर्यटन क्षेत्र फेरिएको छ। वाहृय पर्यटक संख्या घटेपछि आन्तरिक पर्यटकको भरमा टिकेको लेकसाइडका रिसोर्ट तथा होटलमा समेत पर्यटकहरुको उपस्थिति गन्य छ।

यसवर्ष संघले होटलको फुल अकुपेन्सीको आशा राखेको छैन। पर्यटन क्षेत्रलाई चलायमान बनाउनकै लागि भएपनि पर्यटकीय गतिविधि गर्नुपर्ने सुवेदीको भनाइ छ।

‘कोभिडको महामारीको समयमा दैनिक कार्य नगर्दै प्रचारप्रसारमा लागिएन भने झन शून्यता आउँछ’, सुवेदीले भने, ‘पर्यटकलाई अन्त मोड्नु भन्दा पर्यटक कम आएपनि हाम्रो गतिविधि चलायमान राख्नुपर्छ।’

तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या शून्य बराबर छ। गतवर्ष भारतीय पर्यटकको उपस्थिति न्यून देखिएपनि अहिले उनकै संख्या बढी छ।

शुक्रवार र शनिवार बिदाको दिन परेको इभका कारणपनि संघले आन्तरिक पर्यटकको उपस्थिति बढ्ने आशा राखेको थियो। तर, महोत्सवको पूर्वसन्ध्यासम्म देखिएको अकुपेन्सीले आशा मारेको छ।

‘बिदाको समयमा पर्यटकको उपस्थिति राम्रो हुने आशा राखेका थियौं तर भोलि-पर्सिको मौसमको सूचनाले पनि पर्यटक घट्ने देखिएको छ’, उनले भने, ‘भर्खर मात्र मैले २५/३० होटलमा फोन गरेर बुझेको थिए, अहिलेसम्म एउटा होटलमा ५/१० जना अतिथि मात्र हुनुहुन्छ।’

पोखराको लेकसाइड र ड्यामसाइड गरेर करीब ७ सय पर्यटकस्तरका होटल छन्। सो होटलमा ३० हजार हाराहारी बेड रहेको संघले जनाएको छ।

यस्तै, पोखरा वरिपरि लेकसाइड, ड्यामसाइड, महेन्द्रपुल, पृथ्वीचोक, धम्पुस, सराङकोट गरेर एकहजार बढी होटल छन्। त्यसमा करिब ४० हजार बढी बेड छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell