PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

के प्रचण्ड १५ दिनसम्म श्रम गर्न खेतबारी पस्लान्?



विधुर ढकाल

के प्रचण्ड १५ दिनसम्म श्रम गर्न खेतबारी पस्लान्?
तस्विर : केशवराज खनाल

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८ औं महाधिवेशन ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण’का लागि भन्दै काठमाडौंमा जारी छ। शुक्रवारसम्म चल्ने सम्मेलनले पार्टीको ‘नयाँ नेतृत्व’सँगै विचार पनि तय गर्ने छ।

नेतृत्वका नाममा अध्यक्ष प्रचण्ड नै दोहोरिने निश्चित छ। पदाधिकारीमा आउने अनुहार पनि निश्चित जस्तै छन्। हालका स्थायी कमिटीका सदस्यहरु सबै पदाधिकारीमा अट्दै छन्।

विचारको बहसका लागि भन्दै अध्यक्ष प्रचण्डले ’२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा दस्तावेज प्रस्तुत गरेका छन्। प्रतिवेदन पारित भए अब प्रचण्डसमेत कम्तिमा वर्षमा १५ दिन श्रममा जोडिनुपर्ने छ।

के प्रचण्ड कृषि फार्ममा गएर गोबर सोहोर्ने छन्? खेत जोत्ने छन्?  शान्ति प्रक्रियामा आइसकेपछि शहर पसेका नेताहरु विलासितामा फस्दै गएको र हिजोको श्रम भुल्दै गएको प्रचण्ड स्वयंले पछिल्ला भाषणहरुमा भन्दै आएका छन्। उनले यसको निर्मम समिक्षा गर्ने भन्दै पनि आएका छन्। हिजो श्रमसँग जोडिएको पार्टी जनताको खेतमा धान रोप्दै र काट्दै हिँडेका कार्यकर्ताहरु अहिले माओवादी केन्द्रसँग कति छन्? 

हिजोको माओवादी शान्ति प्रक्रियापछि पटकपटक विभाजित भएको छ। प्रचण्डसँगको साथ छाडेर नेपाल कम्युनिस्ट पार्टी बनाएका नेत्रविक्रम चन्द पछिल्लो समय धान काट्दै गरेको देखिए। सरकारसँग तीन बुँदे सम्झौता गरेपछि कपिलवस्तुमा धान रोपेका जोत्दै गरेका धान काट्दै गरेका देखिने विप्लव अहिले च्याउ खेती गर्दै छन्।

हेडक्वाटर कपिलवस्तु नै बनाउँदै विप्लव उत्पादनसँग जोडिएका छन्। के प्रचण्ड पनि त्यसै गरी उत्पादनसँग जोडिएलान्? 

यदि महाधिवेशनले उनले प्रस्तुत गरेको प्रतिवेदनलाई पारित गर्‍यो भने प्रचण्ड पनि उत्पादनसँग जोडिनुपर्ने छ।

दस्तावेजको उत्पादन र विकास निर्माणका कामबारे भन्दै प्रचण्डले स्वतन्त्र एवं आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासको हामीले उत्पादन र विकास निर्माणका कामलाई अगाडि बढाउनुपर्छ।

देशभित्र र बाहिर रहेका युवा श्रम शक्तिलाई राष्ट्रिय विकासको अभियानमा नजोडेसम्म अपेक्षित परिणाम ल्याउन असम्भव छ। त्यसका लागि भन्दै प्रचण्डले योजना अगाडिसमेत सारेका छन्।  

प्रचण्डले अगाडि सारेको योजनामा हरेक पालिकामा कम्तिमा ५० जना संलग्न गरी अनिवार्य एक कृषि, उद्यम/उद्योग छ महिनाभित्र स्थापना गर्ने भनेका छन्।

यसरी स्थापना हुने उद्यम स्थानीय स्रोत, बजार, प्रविधि, दक्ष जनशक्तिलाई ख्याल गरेर स्थानीय तहमा नै तय गर्ने भनेका छन्। खाद्यान्न, पशुपालन, फलफूल, तरकारी नगदेबाली, घरेलु तथा साना उद्योग वा अन्य सिर्जनात्मक काम हुन सक्ने। जमिन चक्लाबन्दी गरी किसानको स्वामित्व कायम रहने र उनीहरु समेत शेयरधनी हुने गरी कम्पनी वा सहकारी वा साझेदारीमा त्यस्ता व्यवसाय सञ्चालन हुन योजना अगाडि सारेका छन्।

त्यस्तै अलि ठूलो परिणममा काम गर्न चाहेमा दुई वा दुईभन्दा बढी पालिकाले संयुक्त रुपमा वा समन्वयमा त्यस्तो उद्यम/व्यवसाय गर्न सक्नेसमेत बताएका छन्।

राज्यले प्रदान गर्ने सहुलियत, सुविधिा र पूर्वाधार निर्माणमा पालिका, जिल्ला, प्रदेश र केन्द्रले सूचना सम्प्रेषण, समन्वय, सहजीकरण तथा सहयोग जुटाउन पहल गर्ने। जिल्ला तहमा पालिका स्तरका उद्यमबीच समन्वय गर्ने र पालिकास्तरका उद्यमलाई चाहिने प्राविधिक तथा बजार व्यवस्थापनमा सघाउने व्यवस्था मिलाउनेसमेत प्रचण्डले भनेका छन्।

त्यस्तै प्रदेशले जिल्ला स्तरबाट अनुरोध भएका क्षेत्रमा प्राविधिक सहयोग अन्तरजिल्ला समन्वय र बजारीकरणको काम गर्नेसमेत भनेका छन्। प्रचण्डको योजनामा प्रदेशले कम्तीमा १०० जनालाई प्रत्यक्ष रोजगारी दिने गरी एक कृषि प्रशोधन तथा बजार केन्द्र चिस्यान केन्द्रसम्बन्धी उद्योग स्थापना गर्ने उल्लेख छ।

केन्द्रमा केन्द्रीय स्तरको प्रशोधन केन्द्र, चिस्यान केन्द्र र एक बजारका व्यवस्था गर्नेसमेत प्रचण्डले योजना अगाडि सारेका छन्। त्यसका लागि शक्तिशाली उद्यम/व्यवसाय परिचालन विभाग अध्यक्षको मातहत राख्नेसमेत उनको दस्तावेमा उल्लेख छ। साथै हरेक पार्टीका कार्यकर्ताले वर्षमा १५ दिन ती स्थापित कृषि फार्म वा उद्यममा श्रम गर्नैपर्ने दस्तावेजमा भनेका छन्।

यद्यपि यो काम चुनौतीपूर्ण रहेको नेता राम कार्कीले पेश गरेको पुरक प्रस्तावमा भनिएको छ। हाल वनजंगल, खानेपानी लगायतका विभिन्न जनमुखी संघसंस्थाहरु पार्टीको कब्जामा रहेको भन्दै उनले लेखेका छन्- ‘किसान एउटा हलोको निम्ति, मजदुर आफ्नो बालबालिकालाई सरकारी विद्यालयमा दाखिला गर्नका निम्ति, सामान्य गृहस्थी घरमा धारा जडानका निम्ति, पार्टीका कर्ताधर्ता सामु झुक्न बाध्य छन्। यी सबै कारणहरूले गर्दा कम्युनिस्ट पार्टी र यसका नेताहरुमा बढ्दो उपभोक्तावाद र त्यसलाई पूरा गर्न अपनाइने राजनीतिक अवसरवाद अनियन्त्रित बनेको छ। यो स्थितीमा सत्तामा पार्टी होइन जनवर्गका स्वयंसेवी संगठन पठाउने विधि नै सर्वोत्तम विधि हो।’

तर हाललाई यो असम्भव नभए पनि अत्यन्त चुनौतीपूर्ण रहेको उनले बताएका छन्।

कार्कीले संघीयता जनतालाई पीडा प्रदान गर्ने बुख्याँचा सावित हुने दिशामा रहेकोसमेत बताएका छन्। ‘चौरमा, चौतारामा, विद्यालय परिसरमा, गुन्द्री, राडीपाखी आदिमा बसेर कुलो, कुलेसो, पुलपँधेरा, बाटोघाटो, स्वास्थ्यकेन्द्र, विद्यालय आदिबारे नीतिनिर्माण गर्न सकियोस् भन्ने उद्देश्यका साथ हामीले संघीयतालाई आफ्नो राजनीतिक मुद्दा बनाएका हौं,’ उनले पुरक मतमा भनेका छन्, ‘यो निर्धन मुलुकका जनप्रतिनिधिहरू करोडौंको गाडीमा सवार भएर न्वारान, पास्नी, जन्मदिन मनाउने आतिथ्य सत्कार गरुन् भन्ने उद्देश्य हाम्रो कदापि थिएन। संघीयताले बजेटको एउटा हिस्सा स्थानीय तहमा त ल्याईदियो तर, त्यसको विचरण र अनुगमनको संयन्त्र तयार हुन सकेको छैन। अर्थात्, मजदुर-किसान जस्ता आधारभूत तहका जनताको निगरानी ती विकास निर्माण आदिमा कायम हुन नसक्दासम्म हाम्रो संघीयता जनतालाई पीडा प्रदान गर्ने 'बुख्याँचा' सावित हुनेछ।‘

आफूले राखेको पुरक मतलाई स्पष्टिकरण दिँदै कार्की भन्छन्- अहिले गाउँमा धारा जोड्न पनि पार्टीको कार्यकर्ता हुनुपर्छ। सामान्य सिफारिस लिन पनि पार्टीको सदस्यता लिनुपर्छ। अनिमात्र काम हुन्छ। यस्तो अवस्थाको अन्त्य अहिलेको चुनौती हो।

शिक्षा प्रणालीलाई सुधार गर्दै उत्पादनसँग जोड्दै लैजानुपर्ने बताए। त्यसका लागि आफ्नो पार्टी सदस्यले निर्वाचन जितेको क्षेत्रमा अनिवार्य कुल बजेटको १० प्रतिशत वा त्यो भन्दा बढी शिक्षामा छुट्याउनुपर्ने प्रस्ताव उनले राखेका छन्।

कार्कीले कृषि पर्यावरण र पर्यावरणमैत्री पर्यटनमा विशेष जोड दिन पनि पार्टी कमिटीहरुलाई परिचालित गर्नुपर्ने प्रस्ताव राखेका छन्। निर्वाहमुखी कृषिलाई औद्योगीकरण गरेर नेपाली समाजको कायापलट गर्ने नाममा खरबौँ रुपैयाँ खर्च भएको भन्दै कार्कीले भनेका छन्, ‘परिणाम हाम्रो अगाडि छ। त्यसैले खेतबारीलाई कारखानामा फेर्ने यो पूँजीवादी भ्रमबाट जति छिटो सचेत बन्यो त्यति नै नेपाललाई फाइदा हुनेछ।’

उनले देशभर कृषि पर्यावरणीय खेतीको अध्ययन गर्दै व्यवहारमा लागू गर्नुपर्ने बताएका छन्। उनले पार्टीभित्र भ्रष्ट आचरण बढेको भन्दै अगाडि लेखेका छन्, ‘पार्टीले आफैँ भित्रको भ्रष्ट आचरणलाई दुरुत्साहित गरेर र उत्पीडित सामाजिक वर्गको मन जित्नु पर्दछ र त्यसरी बलशाली भएपछि समाजको भ्रष्ट तत्वहरु विरुद्ध आन्दोलन चलाउनु पर्दछ।’

अहिले प्रज्ञा प्रतिष्ठानमा भइरहेको माओवादी केन्द्रको महाधिवेशनमा जनयुद्ध र प्रचण्ड पथ झल्कने तस्विर राखिएका छन्। कलाकार केशबराज खनालले तयार पारेको चित्रमा प्रचण्डले ट्रयाक्टरको स्टेरिङ समाएका छन्।

१५ दिन श्रमदान गर्ने प्रस्ताव गरेका प्रचण्ड पनि चित्र प्रदर्शनीको अवलोकन गर्न पुगेका थिए। आफैले गाडीको स्टेरिङ समाएर खेत जोतिरहेको चित्र देखेपछि प्रचण्ड दङ्ग परेका थिए।  चित्र हेर्दै ड्राइभर बनेको सिर्जनामा टक्क अडिएर अध्यक्ष प्रचण्डले भनेका थिए, 'राम्रो छ, राम्रो गर्नुभएछ, लक्ष्य समात्ने कलाकृति आएको छ।”



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell