PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

'कठपुलती'ले हलसम्म तान्ला त दर्शक?, नेपालमा हरर फिल्मको बजार कस्तो छ?



लक्ष्मी बलायर

'कठपुलती'ले हलसम्म तान्ला त दर्शक?, नेपालमा हरर फिल्मको बजार कस्तो छ?

काठमाडौं : फिल्म 'कठपुतली' पुस १६ गतेदेखि नेपालभर प्रदर्शनमा आउँदैछ। हरर जनरामा बनेको 'कठपुतली' को बुधवार ग्रान्ड प्रिमियर गरिएको थियो। कमलपोखरी स्थित बिग मुभिजमा भएको ग्रान्ड प्रिमियरपछि दर्शकहरुको प्रतिक्रियाले फिल्म युनिट हौसिएको छ।

विदेशी हरर फिल्मलाई दर्शकहरुले धेरै रुचाएका छन्। तर नेपाली फिल्म उद्योगमा हरर जनराको फिल्म खासै सफल देखिएको छैन। जति पनि हरर फिल्महरु बने ती मध्य कुनै पनि फिल्मले व्यवसायिक सफलता हासिल गर्न सकेनन्। घर, एक रात एक दिन, सुनकेसरी आदि फिल्महरुमा कलाकारको तारिफ त भयो तर ती फिल्मले हलमा दर्शक तान्न भने सकेन। त्यसमाथि अहिले कोरोना भाइरस संक्रमणका कारण नेपाली फिल्म उद्योग ठप्प रहेको बेला शुक्रवारबाट रिलिज हुने फिल्म कठपुतली 'रिस्क जोन'मा छ।

भिमसेन लामाको निर्देशन रहेको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ। फिल्ममा पृथ्वी राना मगरको लगानी छ।

यस फिल्मको कथा लेखेकी हुन् सम्पदा मल्लले। सम्पदाको निर्देशक लामासँग यो दोस्रो सहकार्य हो। यसअघि पनि सम्पदाले भिमसेनको निर्देशन रहेको सर्ट फिल्म 'च्यान्टी' को कथा लेखेकी थिइन्। उक्त सर्ट फिल्मले केही अन्तर्राष्ट्रिय अवार्ड समेत हात पारेको थियो।

सम्पदा 'कठपुतली' बाट पनि राम्रो प्रतिक्रिया आउनेमा आशावादी सुनिइन्। 'कठपुतली'ले एउटा दरबारिया राजपरिवारको कथा भन्छ। परिवारभित्रै विद्रोह गर्न पुगेका राजकुमार विरानो बनेको दरबारमा पुग्दा उनले सामना गर्नुपरेका विभिन्न रहस्य र अदृश्य शक्तिहरूको कथा यस फिल्ममा छ।

सम्पदाको दाबी छ - यो फिल्म नेपाली मौलिक हरर फिल्म हो। भन्छिन्,'यो विदेशी हरर फिल्म जस्तो होइन। यसमा हामीले नै सुनेको भोगेको कथाहरु छन्।'

निर्देशक भिमसेनकै अनुरोधमा आफूले यो फिल्मको कथा लेखेको सम्पदा बताउँछिन्। आफूले वरिपरि र नजिकबाट देखेको कुराहरुलाई फिल्मको कथावस्तु बनाएकोले खासै गाह्रो नभएको उनको तर्क छ।

नेपाली दर्शकहरुले फिल्ममा मौलिक कथा खोजिरहेको उनको भनाई छ। 'नेपाली दर्शकले नयाँ कथा खोजिरहेको जस्तो लाग्छ। राम्रो फिल्म दिन सकेको खण्डमा दर्शकहरुले मन पराउनु हुन्छ। जब जब मौलिक कथामा फिल्म बनेको छ। तब तब दर्शकले माया गरिदिनुभएको छ' उनले भनिन्।

फिल्मको कथा लेख्दा सम्पदाले नेपाली दर्शकलाई मात्रै सोचिनन्। उनले विश्वभरका दर्शकलाई सोचेर फिल्मको कथा लेखेको बताइन्। जसको प्रतिफल हो दुईवटा अन्तर्राष्ट्रिय अवार्ड।

अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा यस फिल्मले ‘बेस्ट हरर फिचर फिल्म’का साथै ‘इन्डी पिक्स अवार्ड’ समेत जितिसकेको छ। जसले पनि आफूमा उत्साह थपेको उनी बताउँछिन्।

'नेपालमा हरर भन्नाले भुत नै आउनुपर्छ र तर्साउनुपर्छ भन्ने दिमागमा बसेको छ। तर त्यो मात्र हरर जनरा होइन्,' उनले भनिन्,'हरर भनेको मनोवैज्ञानिक हरर पनि हो। जसप्रति हामीलाई केही थाहा नै छैन। यस फिल्ममा मनोवैज्ञानिक हररलाई देखाउन खोजिएको छ।'

‘कठपुतली’ को ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएको छ। ग्रान्ड प्रिमियरमा पनि दर्शकहरुले कथाको 'प्रिजेन्टेसन'लाई मन पराए। शुक्रवारबाट प्रदर्शन हुने फिल्‍ममा कति दर्शक आउलान् ? मौलिक भनिएको कथाले नेपाली दर्शक कति तान्लान्? त्यो त आउने दिनमा देखिनेछ।

हरर फिल्मको बजार कस्तो छ ?

बलिउड र हलिउडका हरर जनराका फिल्मलाई नेपाली दर्शकले मनपराएका छन्। तर, नेपाली हरर फिल्मलाई किन दर्शकले रुचाएनन् त ?  

सम्पदा भन्छिन्, 'नेपालमा मौलिक हरर नै आएनन्। हररसँग कथा पनि जोडिएको हुन्छ। जुन कुरा नेपाली हरर फिल्ममा आएनन्। कुनै पनि फिल्म कपी र पुरानै ढर्राको हुनुहुँदैन।'

फिल्मका निर्माता पृथ्वी राना मगरका अनुसार कठपुलती निर्माणमा दुई करोड बढी रकम खर्च भएको छ। ग्रान्ड प्रिमियरमा राम्रो प्रतिक्रिया आएकाले आफूहरु लगानी उठ्ने कुरामा आशावादी रहेको उनले बताए।

निर्देशक दिपेन्द्र के खनाल नेपालमा हरर जनराको फिल्म हेर्ने दर्शक सीमित रहेको बताउँछन्। निश्चित व्यक्तिले मात्रै हरर फिल्म हेर्न रुचाउने भएकाले यसको बजार सानो रहेको उनको तर्क छ। 'घर' बनाएका खनालको विदेशी हररको तुलनामा नेपाली हरर दर्शकले मन नपराउने अनुभव छ।

'विदेशमा हरर फिल्ममा धेरै भिएफएक्स र एनिमेसनको काम हुन्छ। जसले थ्रिलर देखाउन सकिन्छ। तर हाम्रो उद्योग प्राविधिक कुराहरुको अभाव छ। जसले गर्दा हरर फिल्म बनाउन नेपालमा निकै रिस्क लिनुपर्छ। हामीहरु सानो सानो भिएफएक्सको काम त गर्न सकेका हुँदैनौँ। प्रविधिमा गर्ने कुरामा पछाडि छौँ। जुन हाम्रो कमजोरी हो' उनले भने।

तर बिस्तारै हरर जनराको फिल्म हेर्न दर्शक बढिरहेको उनको दाबी छ। कोरोनाकालमा हरर फिल्म सिनेमा हलमा नै रिलिज गर्नु निर्माता र निर्देशकको ठुलो आँट मान्छन् उनी।

यता, अभिनेत्री ऋचा शर्माले भने नेपालमा हरर फिल्मको राम्रो बजार रहेको बताइन्। केही वर्षअघि उनले पनि फिल्म ‘सुनकेसरी’ निर्माण गरेकी थिइन्। ‘सुनकेसरी’ राम्रो नबनेकै कारण फिल्म नचलेको उनले स्विकार गरिन्।

'सुनकेसरी राम्रो नभएकै कारणले नचलेको हो। सुरुको दिनमा राम्रै दर्शक आउनु भएको थियो। तर फिल्ममा धेरै कमीकमजोरी भएका कारण फिल्म चल्न सकेन। हरर फिल्म सफल हुनको लागि फिल्म पनि आफैमा राम्रो हुनुपर्छ। हररमा म्युजिक र बिग्रेको अनुहारले मात्र हुँदैन्। त्यसमा कथा पनि हुनुपर्छ' ऋचाले भनिन्।

कठपुतलीले नेपाली दर्शकलाई हलसम्म तान्न सक्ने भन्दै उनले भनिन्।

यस्तै, निर्देशक दीपेन्द्र लामा पनि हरर फिल्मको नेपालमा राम्रै दर्शक रहेको बताउँछन्। पहिले पनि सिगंल थिएटरमा हिन्दी हरर फिल्महरु रिलिज हुने गरेको र दर्शकले पनि मन पराउने गरेको उनी स्मरण गरे।

नेपालमा हरर फिल्म राम्रो नबन्दा विधालाई नै दोष दिनु उचित नभएको उनको तर्क छ। भन्छन्,'संसारमा सबैभन्दा बढी प्रेमकथामा बनेका फिल्महरु मन पराइन्छन्। तर नेपालमा प्रेमकथामा बनेका फिल्महरु सफल पनि त हुँदैनन् नि। कुनै हरर फिल्म नचल्दैमा हरर फिल्मलाई नै दोष दिन मिल्दैन्। फिल्म मेकरको कमजोरी र खुबी नहुँदाफिल्म नराम्रो बन्ने गर्छ।'

हरर फिल्ममा सीमित दर्शक हुने भएकाले जोखिम बढी र निर्माताहरु लगानी गर्न डराउने लामाको तर्क छ।

'बजारलाई हेरेर होइन अब बजारको खोजी गरेर फिल्म बनाउनुपर्छ। बजारमा विभिन्न विधाहरु लग्न सक्नुपर्छ। जसकारण म हररको बजार प्रशस्तै सम्भावना देख्छु' लामाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell