PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

सिस्टम ह्याक गर्ने धम्की दिदैं ह्याकरको बैंकलाई इमेल, सचेतना अपनाउन राष्ट्र बैंकको सर्कुलर



पहिलोपोस्ट

 सिस्टम ह्याक गर्ने धम्की दिदैं ह्याकरको बैंकलाई इमेल, सचेतना अपनाउन राष्ट्र बैंकको सर्कुलर
Photo : Economic Times

काठमाडौं : अज्ञात समूहले कुमारी बैंकलाई इमेल लेख्दै सिस्टम ह्याक गर्ने चेतावनी दिएको छ। गत साउनमा पनि बैंकलाई इमेल लेख्दै प्रणाली ह्याक गर्ने चेतावनी दिइएको थियो।

कुमारी बैंकले ह्याक गर्ने इमेल पाएपछि राष्ट्र बैंकलाई जानकारी गराइसकेको छ। राष्ट्र बैंकले पनि आफू अन्तर्गतका बैंक तथा वित्तीय संस्थालाई सचेतना अपनाउन भनेको छ। साउदी ग्रुप अफ कम्पनी नामबाट इमेल पठाइएको छ। स्रोतका अनुसार प्रणाली ह्याक गरेर पैसा लैजाने कुरा इमेलमा उल्लेख गरिएको छ।

राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले प्रणाली ह्याक गर्ने इमेल आएपछि उच्च सतर्कता अपनाइएको बताए। उनले अहिलेसम्म बैंकिङ प्रणालीमा कुनै पनि 'अट्याक' नभएको जानकारी दिए।

'हामीले राष्ट्र बैंकको पनि प्रणाली हेरिसक्यौं। बैंकहरुलाई पनि हेर्न भनेका छौं' उनले भने, 'अहिलेसम्म कुनै समस्या देखिएको छैन।'

राष्ट्र बैंकले बैंकर्स संघका अध्यक्षलाई प्रणाली ह्याक हुन सक्ने सन्देश पठाएपछि बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले सबै बैंकरलाई भाइबर ग्रुपमार्फत सचेत हुन भनेका छन्। विकास बैंक र फाइनान्स कम्पनीलाई पनि अलर्टमा राखिएको छ।

यस घटनाबारेमा अहिलेसम्म प्रहरीलाई भने खबर गरिएको छैन।

गत साउनमा पनि ह्याकरले नेपाली बैंकलाई खाता ह्याक गर्ने इमेल पठाएका थिए। तर ह्याकरले दावी गरेजस्तो प्रणालीमा नराम्रो भने केही पनि भएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell