PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

कप्तान परिवर्तनको निर्णयमा क्यान फर्केला भन्ने लाग्दैन : प्रशिक्षक दासानायके



पहिलोपोस्ट

कप्तान परिवर्तनको निर्णयमा क्यान फर्केला भन्ने लाग्दैन : प्रशिक्षक दासानायके

काठमाडौं : नेपाली क्रिकेट टोलीको नयाँ प्रशिक्षक बनेर आएका छन्, पुबुदु दासानायके। नेपाली क्रिकेटमा उनको नाम नयाँ होइन। यसअघि सन् २०१४ मा नेपालले टी-२० विश्वकप उनकै प्रशिक्षणमा खेलेको थियो। पछिल्लो समय डेभ ह्वाटमोर नेपालको प्रशिक्षकबाट बाहिरिएसँगै नेपाल क्रिकेट संघले उनलाई प्रशिक्षकका रुपमा नियुक्त गरेको छ।

उनी नियुक्त भएर आउँदा नेपाली क्रिकेटमा विवाद चरममा छ। एकातर्फ आकस्मिक कप्तान परिवर्तन भएको अवस्था छ भने अर्कोतर्फ खेलाडी कारवाहीमा छन्। यसलाई देशका प्रधानमन्त्रीसम्मले चासो दिएर हेरेका छन्। नेपाल आएका दासानायकेले बिहीवार पत्रकारसँग कुरा गर्दै क्यान सन्दीप लामिछानेलाई कप्तान बनाउने निर्णयमा अडिग रहेको आफूले बुझेको बताएका छन्।

‘टीमसँग सामान्य छलफल भइरहेको छ। विवादको सन्दर्भमा मैले छलफल गरेको छु दुबै पक्षसँग’, उनले भने, ‘यो सन्दर्भमा क्यानबाट मैले बुझेको कुरा भनेको कप्तानी परिवर्तन नगरेर (सन्दीप लाई नै राखेर) अन्य कारवाहीहरुमा लचक हुन उनीहरु तयार छन्।’

दासानायकेले आफूले क्यान अध्यक्ष चतुरबहादुर चन्दसँग चार जना खेलाडीको कारवाही फिर्ताबारे प्रस्ताव राख्दा सकारात्मक जवाफ आएको बताए।

‘मलाई लाग्दैन कप्तान सम्बन्धी निर्णय उल्टिने छ। म राष्ट्रिय टिममा राम्रो वातावरण बनाउन आफ्नो शतप्रतिशत प्रयास गर्नेछु,’ उनले भने।

पछिल्लो समय यी खेलाडी कारवाहीमा परेपछि अन्य खेलाडी पनि अभ्यासमा पुगेका छैनन्। अरु त अरु एसिया कपको तयारीमा रहेको यू-१९ सँग तय अभ्यासमा समेत सिनियर टोली नखेलेपछि यू-१९ क्रिकेट टोली विभागीय टोलीहरुसँग अभ्यास खेल खेलेर यूएई गएको थियो। यस्तोमा खेलाडीले नमाने के होला? भन्ने प्रश्नमा दासानायकेले घुमाउरो जवाफ दिए।

‘पहिलो कुरा त मलाई आशा छ यस्तो हुने छैन। यो राष्ट्रिय टोली हो। यो कुनै व्यक्ति विशेषको कुरा होइन,’ उनले भने।

अन्तर्राष्ट्रिय ठूला प्रतियोगिता खास गरी टी-२० क्वालिफायर्स नजिकिँदै गर्दा आफूले प्रधानमन्त्री कप टी-२० फर्म्याटमा गराउन प्रस्ताव गरेको दासानायकेले बताए।

‘मैले नदेखेका धेरै नयाँ खेलाडी पनि आइसकेका छन्। यो प्रतियोगिताले उनीहरुको पहिचान गर्न सहज हुनेछ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell