PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

लिगको सातौं चरणका खेल आजबाट सुरु हुँदै, पहिलो खेलमा एपीएफ र आर्मी भिड्ने



पहिलोपोस्ट

लिगको सातौं चरणका खेल आजबाट सुरु हुँदै, पहिलो खेलमा एपीएफ र आर्मी भिड्ने
फाइल फोटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा विभागीय टोलीहरु एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब आमनेसामने हुनेछन्।

लिगको सुरुवाती चरणहरुमा जितविहीन रहँदै रेलिगेशन क्षेत्रमा रहेको एपीएफले पछिल्ला खेलहरुमा प्रदर्शन सुधार्दै २ बराबरी र १ जितको सहायतामा ५ अंक जोडेको छ। आजको खेलमा जित निकालेको खण्डमा एपीएफले पाँचौ र छैठौं स्थानमा रहेका सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबसँग अंक बराबरी गर्नेछ।

अर्कोतर्फ एएफसी कप छनोटको होडबाट बाहिरिसकेको आर्मी लिग उपाधिको होडमा पनि कमजोर देखिन थालेको छ। ६ खेलबाट १० अंक जोडेको आर्मी तालिकाको चौथो स्थानमा छ। आजको खेल जितेको खण्डमा आर्मीले दोस्रो स्थानको मनाङ मर्स्याङदी क्लबसँग अंकबराबरी गर्नेछ।

आर्मी र एपीएफबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लब र न्युरोड टिम भिड्दैछन्। जारी लिगको तालिकाको पुछारमा रहेको फ्रेन्ड्स क्लब जितविहीन रहेको एकमात्र टोली हो। ६ खेलबाट तीन बराबरी खेल्दै एपीएफले ३ अंक जोडेको छ। आजको खेलमा जित निकालेको खण्डमा फ्रेन्ड्स क्लब रेलिगेशन क्षेत्रबाट बाहिरिने छ र १० औं स्थानको नेपाल पुलिस क्लबसँग अंक बराबरी गर्नेछ।

त्यस्तै न्युरोड टिम एनआरटी जारी लिगमा सबैभन्दा धेरै बराबरी खेल्ने टोलीमध्येको हो। एनआरटी, आर्मी र थ्री स्टार क्लबले ६ खेल खेल्दा सर्वाधिक ४ बराबरी खेलेका छन्। एनआरटीले ६ खेलबाट ४ बराबरी र १ जित निकाल्दै ७ अंक जोडेको छ। हाल ८ औं स्थानमा रहेको एनआरटीले आजको खेलमा जित निकाल्न सके चौथो स्थानको आर्मीसँग अंक बराबरी गर्नेछ।

फ्रेन्ड्स क्लब र एनआरटी आज साँझ पौने ५ बजे दशरथ रंगशालामा आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell