- प्रकाश भण्डारी/नेत्र तामाङ -
काठमाडौं : ट्याक्टर चलाइरहेका छन् प्रचण्ड। क्रान्तिको झण्डा बोकिरहेका छन् महिलाहरु। आरनमा छन् केही मानिस। बारीमा खनजोत गर्नेहरु पनि छन् त्यहीँ। रगतका टाटाहरु आलैजस्तो लाग्छ। १० वर्षे माओवादी जनयुद्ध र त्यसैको रापतापको स्मृति झुन्डिएका छन् भित्तामा।
नेपाल प्रज्ञा प्रतिष्ठानको दोस्रो तला- बाहिर चित्र प्रदर्शनी जारी छ। भित्र चाहिँ नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन। महाधिवेशन प्रचारप्रसार उप समितिको आयोजना र अखिल नेपाल ललितकला संघको संयोजनमा समाज रुपान्तरणका विषयमा केन्द्रित कलाकृतिको प्रदर्शनी। भित्र हलको चर्को आवाज बाहिरसम्मै सुनिन्छ। तै पनि गोप्य राख्न खोजिएको छ भित्रका दृश्य।
मार्क्स, लेनिन, स्टालिनको गफ हलमा नेताले मात्रै होइन कार्यकर्ताले चियापसलमा पनि गरिरहेका छन्। चार दिनदेखिको चित्रकला प्रदर्शनीको आकर्षण उस्तै छ। नेता कार्यकर्ता कोही चित्रको वर्णन गरिरहेको भेटिन्छन् त कोही ती दृश्यलाई आफ्नो खल्तीफोनमा कैद गरिरहेका।
लतपतिएको रगतले खिचेको ध्यान
खाली खुट्टा, हातमा लौरौ। घाँटीमा बोधीचित्तको लामो माला। सेतो एकसरो पहिरन। पातालो रातो कलरको ज्याकेट शरीरमा। चित्रबारे ध्यानपूर्वक सुनिरहेका छन्। आवरणले नै थाहा हुन्छ उनी न माओवादीका नेता न कार्यकर्ता। श्री ५ सत्य सनातन उनको परिचय। कलाकारले बुझाइरहेका छन् श्री ५ लाई चित्रको भाव। चिसो सिमेण्टले खुट्टा ठिहिर्याइरहेको हुनुपर्छ। तर, खालिखुट्टै हिँडिरहेका श्री ५ लाई चिसोको पर्वाह छैन।
खुट्टा ठिहीर्याएन?
'चिमोट्दा सबैलाई दुख्छ। यसरी हिँड्न थालेको धेरै भइसक्यो। यो साधना न हो,' श्री ५ ले जवाफ दिए। उनी ५ वर्षसम्मै खाली खुट्टा हिँड्ने साधनामा रहेछन्। माघ १५ गते उनी खाली खुट्टा हिँडेको ५ वर्ष पुग्न लागेको छ। त्यसपछि भने जुत्ता लगाएर हिँड्नेछन्।
बायाँबाटै उनी क्रमश: हेरिरहेका छन् चित्र। तर, रगतले कोरिएको चित्र देखेपछि उनी टक्क अडिए। शान्तिका लागि समायोजन शीर्षकको चित्र केहीबेर घुरेर हेरे। र, सोधे - 'यो कसको रगत?'
'यो नेपाली सेना र जनमुक्ति सेनाको रगत हो,' कलाकार रवीन्द्र श्रेष्ठ जवाफ दिए।
श्री ५ लाई चित्रप्रति झन् रुचि बढ्यो। उनले युद्धको पाटो खोतल्न चाहे। रवीन्द्र उनको खुल्दुली मेटाउन तयार भए। 'बनाउने नबनाउने ५ वर्षसम्मै दोधारमा रहेँ। २ रात ननिदाएर आफ्नै रगत निकालेर चित्र बनाएँ,' रवीन्द्रले सुनाए, 'यो लामो सयमसम्म पनि केही हुँदैन। मैले ल्याबमा काम गरिरहेकै बेला चित्र बनाएको हुँ। यसै चित्रले मेरो जीवन बदल्यो।'
रगत लतपतिएको चित्र देखेपछि श्री ५ को मन अन्ततिर अडिएन। उनको जीवन कथा पनि रगतका टाटासँगै गासिएको रहेछ। एक वियोगान्त सत्य कथा। अर्थात् आफ्नै बुवाको हत्याको कथा। उनी आफ्नो बुवाको हत्यालाई जोडेर मात्रै रगत लतपतिएको चित्रलाई व्याख्या गर्न चाहँदैनन्। न त उनी माओवादी क्रान्तिलाई शान्ति भन्दा भिन्न पाटोबाटै बुझ्ने पक्षमा छन्।
'यो क्रान्तिले ल्याएको शान्तिलाई चीरकालसम्म लैजाने कोसिस योगीजनहरुले गर्छन्। शान्तिलाई अमर बनाउने कोसिसमा हुन्छन् बुद्धहरु। अशान्तिको जरो उखेल्ने काम वीरहरुले/योद्धाहरुले गर्छन्,' अध्यात्मक र युद्धको शाब्दिक कोलाज प्रस्तुत गरे श्री ५ ले।
श्री ५ ले सम्झेको बुवाको हत्या
२०५४ जेठ २५ गते। जाजरकोट बारेकोट-४ मा भैँसी किन्ने बाहानमा चार जना मानिस गाउँ पसे। गोठतिर गइरहेका श्री ५ का बुवा धनबहादुरको भेट भैँसी किन्ने बाहना बनाएर गाउँमा आएका मानिससँग हुन्छ। एक जनाले नमस्कार गर्छन्। र, बाँकीले पछाडिबाट खुकुरीले छप्क्याउँछन्। 'भैसीँ किन्ने भन्ने बाहना बनाएर आए। एक जनाले नमस्कार गरे। अरुले पछाडिबाट खुकुरीले हानेर मेरो बुवाको हत्या गरे,' घटनाबारे श्री ५ ले सुनाए।
आवरणमा भैसीँ किन्ने। योजना हत्याको। हत्या गर्ने चाहिँ नेकपा माओवादीका कार्यकर्ता।
सिहंको हत्या हृदयविदारक रह्यो। गर्धनमा खुकुरी प्रहार भएपछि गम्भीर घाइते भए सिंह।
'मेरो बुवाको घाटी नछिनालिएपछि धेरै दिनसम्म पनि सास गएन। तर, शरीर गलेरै बित्नुभयो,' डरलाग्दो त्यो हत्याबारे श्री ५ ले सुनाए। २०५४ सालमा मारिए पनि पोहोर मात्रै आफ्नो बुवाको अन्तिम संस्कार भएको ठाउँमा फूल चढाए उनले। उनको परिवारमा हत्या नियमित आकस्मिकता नै रहेछ। 'मेरो परवाजे कीर्ति सिंहलाई पनि मारेकै हुन्। हाम्रो परिवारमा यस्तो भइरहन्छ। त्यहाँ नसहनेले मारेका हुन्,' उनले भने।
माओवादीले किन मारे बुवालाई? प्रश्न स्वभाविक थियो।
उनले तत्काल जवाफ फर्काए - 'सामन्ती भनेर।'
अलि हुनेखाने परिवार थियो उनको। दुई पटक त गाउँ छोड्न माओवादीले उर्दी नै गरे - पत्र लेखेर। तर, उनका बुवा किन टेर्थे। माओवादीको आदेश अटेर गर्नु नै हत्याको कारण बन्यो। २०५२ सालमा लुटपाट पनि सहेकै थियो सिंह परिवारले। श्री ५ लाई पनि माओवादीले भारतको मनालीसम्म पुर्याए। तर, उनी माओवादीमा लागेर भूमिगत हुन चाहेनन्। केही समय मनालीमै रहे। त्यहीँ उनले थोरधेर जानकारी पाए - माओको सिद्धान्तबारे।
४ वर्षको उमेरदेखि योगी !
बुवा हत्याको कथाजस्तै उनको योगी भएको कथा पनि माओवादी युद्धकालसँग कुनै न कुनै रुपमा जोडिएको छ। तर, उनी बुवाको हत्याकै कारण विरक्तिएर योगी भएको चाहिँ होइनन्। उनले यस्तो यात्रा तय गरेको २६ वर्ष भइसकेको छ।
'त्यसरी विरक्त भएर म योगी भएको होइन। जे होस्, त्यतिखेरको अशान्तिले शान्तिको लागि यतातिर छिरेको हो,' उनले सुनाए। उनी आफूलाई जोगी भन्न रुचाउँदैनन्। बरु आफूलाई योद्धाहरुबाट जन्मिएको योगीका रुपमा चिनाउन चाहन्छन्। 'मलाई हजारौँ योद्धाहरुले जन्माएको भन्दा पनि हुन्छ,' उनले सुनाए।
४ वर्ष मात्रै भयो उनले आमा गुमाएको। ६ जना दाजुभाइ छन् परिवारमा।
माओवादीले उनका बुवा लाई 'जनकारवाही' मारेको भए पनि त्यसको बदलाको भाव नभएको बताउछन् श्री। 'अस्ति आएको पानीले मलाई ज्वरो आयो। यसको बदला मैले कोसँग लिने?,' अनाहकमा १७ हजारको मृत्युसँग जोडिने माओवादीका अध्यक्ष प्रचण्डसँग प्रतिशोध लिन मन लागेन भन्ने प्रश्नमा उनको जवाफ थियो।
काठमाडौंको दरबार हाइस्कुलमा १० कक्षासम्म पढेका श्री ५ त्यसपछि भने अनौपचारिक अध्ययनमा लागे। अध्यात्ममै रुची भएर डा. स्वामी प्रपन्नाचार्यको शिष्य भए। नेपालका अधिकांश ठाउँ घुमे एक्लै। हो, एक्लै गाउँबेसी डुलेका छन् उनले। उनी अहिले सिद्ध धर्म संगठनमा छन्। बुद्धका त्रिपिटकदेखि वेदबारे जनचेतना जगाउनु उनको कर्म बनेको छ अहिले। '११८८ सिद्ध सम्पथ छन्। म समन्वयमा लागिरहेको छु,' उनले भने। उनलाई सिद्ध धर्मसँग लगाव छ।
प्रचण्डसँग न आशा न भरोसा
माओवादीको महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठान पुग्नुमा राजनीतिक लगाव चाहिँ होइन रहेछ। उनी आफूलाई अरु योगीभन्दा भिन्न भन्न रुचाउँछन्। आफूमा क्रान्तिकारी चेत भएको उनको दाबी छ। त्यही चेतकै कारण चित्रहरु मन परेको उनले सुनाए। उनको पृष्ठभूमिमा नेपालको १० वर्षे युद्ध यसरी गाँसियो कि उनी क्रान्ति बुझाउने चित्र सहर्ष स्वीकार्छन्।
माओवादी सशस्त्र युद्धबाट प्रत्यक्ष प्रभावित भए पनि उनले अहिलेसम्म माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छैनन्। माओवादीबाट बुवा मारिए पनि 'जनयुद्ध'लाई गलत भन्ने पक्षमा उनी छैनन्। युद्धले नै अहिलेको परिवर्तन आएको उनको भनाइ छ। 'अहिले उहाँ (प्रचण्ड) जस्तोसुकै हुनुस् उहाँको कुरा हो। तर, त्यतिबेलाको काम त सही थियो नि। त्यसैले यो परिवर्तन आयो। अहिले उहाँ कहाँ हुनुहुन्छ त्यो उहाँले बुझ्ने कुरा हो,' उनले भने।
श्री ५ लाई राजनीतिमा चासो छैन। त्यसैले उनी कुनै पनि दलको नेतालाई आफूले भेट्ने इच्छा नभएको बताउँछन्। माओवादी केन्द्रका अध्यक्षलाई पनि भेट्ने आफ्नो इच्छा नभएको उनले बताए। प्रचण्डसँग कुनै आशा/गुनासा केही नभएको उनको भनाइ छ।
'मेरो केही भन्नु पनि छैन। उहाँबाट मैले केही आशा अपेक्षा राख्ने कुरा पनि भएन,' उनले भने। यद्यपि, उनको बुझाइमा अहिले नेपालको राजनीति ठीक हिसाबले चलिरहेको भने छैन। उनी भन्छन् - 'जिम्मेवारी बहन गरिरहेका छैनन् नेताहरु।'