PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

जित निकाल्न आर्मी र एपीएफ दुवै असफल, लिगको सातौं चरण पुग्दा आर्मीको पाँचौ बराबरी



पहिलोपोस्ट

जित निकाल्न आर्मी र एपीएफ दुवै असफल, लिगको सातौं चरण पुग्दा आर्मीको पाँचौ बराबरी

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विभागीय टोली आर्मी र एपीएफ बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा आर्मी र एपीएफ १-१ को बराबरीमा रोकिएका हुन्।

आर्मीले खेलको सुरुबाटै दवाव बनाएको थियो। खेलको ८औँ मिनेटमा आर्मीका कप्तान भरत खवासको प्रहार एपीएफका गोलकिपर युवा कुरियमाले बचाए। त्यस्तै, १३ मिनेटमा गोल पोस्ट नजिकैबाट जर्जप्रिन्स कार्कीले गरेको प्रहार बाहिरिएको थियो। २१ औँ मिनेटमा जगजितको कर्नरमा जर्जप्रिन्सको हेडिङ गोल पोस्ट नजिकैबाट बाहिरिएको थियो।

एपीएफले आक्रमणको प्रयास गरे पनि आर्मीको रक्षा पङ्क्तिले राम्रो प्रदर्शन गर्दै सफल हुन दिएन।

३७ औँ मिनेटमा वान भर्सेस वानको अवस्थामा एपीएफका आशिष लामा गोल गर्न चुके। र, पहिलो हाफ गोलरहित बराबरीमा रोकियो। दोस्रो हाफ भने सुरुबाटै प्रतिस्पर्धात्मक बन्यो।

खेलको ५७ औँ मिनेटमा एपीएफका नवीन लामाले गरेको कडा प्रहार आर्मीका गोलकिपर विकेश कुथुले जोगाएका थिए। त्यस्तै ६३ औँ मिनेटमा आर्मीले अग्रता बनायो। जसका लागि जर्जप्रिन्स कार्कीको प्रहार एपीएफका डिफेन्डर राजन गुरुङलाई लाग्दै गोल भएको थियो। तर, लगत्तै एपीएफ खेलमा फर्कियो।

६७ औँ मिनेटमा विके तामाङले गोल फर्काए। नवीन लामाको प्रहार आर्मीका गोलकिपर कुथुले राम्ररी होल्ड गर्न नसक्दा पाएको अवसरमा तामाङले गोल गरेका थिए। खेलको अन्तिम समयमा आर्मीले दबाब बनाएको थियो यद्यपि गोल थप्न भने सफल भएन।

जारी लिगमा आर्मीको यो पाँचौँ बराबरी हो। आर्मीले यसअघि नेपाल पुलिस, मच्छिन्द्र, सातदोबाटो र थ्री स्टार क्लबसँग बराबरी खेलेको थियो। त्यस्तै, च्यासल र ब्रिगेड ब्वाइजलाई हराएको थियो। आर्मी पछि एनआरटी र थ्री स्टार क्लबले ६ खेल खेल्दा सर्वाधिक ४ बराबरी खेलेका छन्। लगातारको बराबरीले आर्मीको उपाधि होडमा उपस्थिति कमजोर बन्न थालेको छ।

एक अङ्क जोडेको एपीएफलाई भने राहत मिलेको छ। रेलिगेसन जोनबाट माथि उक्लन यसअघिका चरणमा सङ्घर्ष गरेको एपीएफ आजको बराबरीसँगै अङ्कतालिकामा ६ अङ्क जोडेको छ।

आजै हुने दोस्रो खेलमा न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लब आमने सामने हुनेछन्।

जारी लिगको तालिकाको पुछारमा रहेको फ्रेन्ड्स क्लब जितविहीन रहेको एकमात्र टोली हो। ६ खेलबाट तीन बराबरी खेल्दै एपीएफले ३ अङ्क जोडेको छ। एनआरटीले ६ खेलबाट ४ बराबरी र १ जित निकाल्दै ७ अङ्क जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell