PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

झ्याप झ्याप बत्ती जान कहिलेदेखि छुट्छ? यसो भन्छन् कुलमान



पहिलोपोस्ट

झ्याप झ्याप बत्ती जान कहिलेदेखि छुट्छ? यसो भन्छन् कुलमान

काठमाडौं : केही दिनदेखि  झ्यापझ्याप बत्ती जाने समस्या बढेपछि आलोचना खेपेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रवार पत्रकार सम्मेलन गर्दै बेलुकीदेखि आपूर्तिमा समस्या नहुने दाबी गरेका छन्।

घिसिङले विद्युत लोड नपुगेका कारण आपूर्तिमा समस्या नभएको बताएका छन्। उनका अनुसार यस्तो समस्या देशभर नभएर काठमाडौं उपत्यकाको सीमित ठाउँमा मात्रै भएको छ।

'त्यसको व्यवस्थापन भइसकेकाले आज बेलुकीदेखि समस्या आउनेछैन,' उनले भने। त्यसका लागि काम भइरहेको उनले बताए।

'प्राविधिक समस्या जहाँ पनि आउँछ, अमेरिका र जापानमा त बत्ती जान्छ। हामी सिस्टम सुधारको काम गरिरहेका छौं,' उनले भने। 

३/४ दिनदेखि विद्युतको माग ह्वात्तै बढेका कारण प्रणालीले थेग्न नसकेर ट्रान्सफर्मर पड्कने तथा तार जल्ने समस्याका बढेको उनको दावी थयो। जसका कारण विद्युत आपूर्ति भरपर्दो हुन नसकेको उनले जानकारी दिए।

प्राधिकरणका अनुसार सिंहदरबारको फिडरमा समस्या आएका कारण अनामनगर, डिल्लीबजार लगायतको पूरै क्षेत्रमा विद्युत आपूर्तिमा समस्या भएको हो। इमाडोल, बानेश्वर, रत्नपार्क, महराजगंज क्षेत्रमा पनि विद्युत आपूर्तिमा समस्या देखिएको थियो। कतिपय स्थानमा भने ट्रान्सफर्मरबाट घरघरमा पुग्ने केवल जलेर समेत समस्या भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बिहान करिब १ घन्टा र बेलुकी १ घण्टा विद्युतको माग बढेको छ। गत वर्षको तुलनामा करिब १ सय मेगावाट  माग बढेको छ। २५० देखि ३ सय मेगावाट माग रहेको उपत्यकामा पिक आवरमा ४५० देखि ५ सय मेगावाट पुगेका कारण बत्ती जाने समस्या भएको हो।

उपत्यकामा करिब ३८ सय वटा ट्रान्सफर्मर जडान गरिएको छ। जसमध्ये ५०/६० वटामा समस्या आएको छ। त्यस्ता स्थानमा ट्रान्सफर्मर फेर्ने र आवश्यक परेको ठाउँमा क्षमता बढाउने, ट्रान्सफर्मरको संख्या थप्ने लगायका काम भइरहेको घिसिङले बताए। ट्रान्सफर्मर फेर्दा फिडर नै बन्द गर्नुपर्ने र त्यसका लागि केही घण्टा समय  लाग्ने भएकाले पनि समस्या थपिएको उनको तर्क छ।

पानी परेका कारण चिसो बढ्दा यस्तो समस्या आएको उनले स्वीकारे। उपत्यकामा धेरै स्थानमा ट्रान्सफर्मरहरु राख्नुपर्ने भए पनि राख्नका लागि समस्या भएको घिसिङले गुनासो गरे।

'घर वरिपरि कसैले पनि ट्रान्सफर्मर राख्न र पोल गाड्न दिँदैन। आम उपभोक्तालाई मेरो अनुरोध छ। ट्रान्सफर्मर राख्दा कुनै समस्या हुँदैन,' उनले भने।

अहिले देशभरको माग १६९९ मेगावाट पुगेको छ। विद्युत प्राधिकरणको ५२५ मेगावाट, प्राधिकरणको सहायक कम्पनी ५२२  मेगावाट, निजी क्षेत्रको ४०९ मेगावाट गरि कुल १५५६ मेगावाट आन्तरिक उत्पादन छ भने भारतबाट १६९ मेगावाट आयात गरेर व्यवस्थापन भइरहेको छ।
घिसिङका अनुसार माग व्यवस्थापनका लागि भारतबाट अफ पिक आवरमा समेत आयात बढाइएको छ।

भारतबाट अफ आवरमा बिजुली धेरै आयात भइरहेको छ। कालीगण्डकी, मर्स्याङ्दी लगायतका आयोजनाबाट पिकिङ  गरेर व्यवस्थापन भइरहेको छ। विगतका वर्षहरुमा भन्दा यो वर्ष तामाकोशी आएका कारण व्यवस्थापन सहज भएको घिसिङले बताए।

घिसिङले उपत्यकामा गुणस्तरीय विद्युत आपूर्तिका लागि २ हजार मेगावाट सप्लाइ दिनसक्ने गरी सिस्टम बनाइरहेको दाबी गरे। उनका अनुसार मातातीर्थ, चोभार, टेकु, फुटुङ, थिमि, मुलपानी, चाँगुनारायण, बालकुमारी लगायतका ९ स्थानमा सवस्टेशन निर्माण भइरहेको छ। त्यस्तै, विभिन्न स्थानमा अण्डग्राउण्ड केबलिङको समेत काम भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell