PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

डेरा सर्नेबारे प्रचण्डलाई अलमल : काठमाडौंमा सर्ने कि चितवनमा?



पहिलोपोस्ट

डेरा सर्नेबारे प्रचण्डलाई अलमल : काठमाडौंमा सर्ने कि चितवनमा?

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डेरा सर्ने बताएका छन्। खुमलटारमा बस्दै आएका प्रचण्डले ८औं महाधिवेशनमा प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिँदै डेरा सर्न लागेको जानकारी गराएका हुन्।

ठेकेदारको घरमा बसेको भन्दै प्रचण्डको आलोचना हुने गरेको थियो। उनको बसाइबारे प्रतिनिधिले पनि प्रश्न उठाएका थिए। ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बस्दै आएका छन् प्रचण्ड। अधिकारीले ठेक्का पाएका धेरै ठाउँमा काम अलपत्र छाडेका छन्। त्यसैले उनीमाथि शारदाप्रसाद अधिकारीलाई बचाउँदै आएको आरोप पनि लाग्दै आएको छ। 

'डेरा सर्ने कुरा ठीक छ। खुमलटारबाट डेरा सर्छु। अर्को डेराको खोजी हुँदैछ। ठेकेदारको घरमा बस्यो भनेर आलोचना भयो। घर सल्लाह गर्छु। यहीँ बस्ने कि चितवन,' प्रचण्डले आज जवाफ दिँदै भने।

उनले लिपुलेक लिम्पियाधुरा कालापानी लगायत भूमि फिर्ता ल्याउने विषय दस्तावेजमा समेट्ने बताए। नक्सामा अतिक्रमित भूमि फिर्ता भएको भए पनि जमिन नै फिर्ता नभएको भन्दै माओवादीले दस्तावेजमा राख्नुपर्ने प्रतिनिधिको सुझाव थियो।

अमेरिकी सहायता मिलिनियम च्यालेज कर्पोरेशन (एमसीसी)बारे भने प्रचण्डले दस्तावेजको धारणामा परिवर्तन नहुने बताए। राजनीतिक प्रतिवेदनमा संशोधनबिना एमसीसी अघि नबढ्ने उल्लेख छ।  

'तपाईँले उठाएको यो विषय दस्तावेजमा समेटिनेछ। एमसीसीको विषयमा पार्टीको दस्तावेजमा जे उल्लेख्य छ त्यही अडान हो। थप छलफल हुन्छ। संशोधनविना पारित हुन्न,' प्रचण्डको भनाइ छ।

माओवादी केन्द्रले ८औं महाधिवेशनबाट चुनिने केन्द्रीय सदस्यहरुलाई गाउँमै बस्नुपर्ने बताएको छ। आफ्नै जिल्लामा बस्नुपर्ने व्यवस्था गर्न लागिएको प्रचण्डको भनाइ छ।

'केन्द्रीय सदस्य काठमाडौंमा बस्न पाउने छैनन्। आफ्नो जिल्ला गाउँमै बस्नु पर्नेछ,' उनले भने। त्यसैले डेरा सर्दा काठमाडौं नै बस्ने कि चितवन भन्ने प्रश्नले अध्यक्ष प्रचण्डलाई पनि अलमल्याएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell