PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एमाले रुपन्देहीको अध्यक्षका लागि आधा दर्जन नेता आकांक्षी



रमेश पराजुली

एमाले रुपन्देहीको अध्यक्षका लागि आधा दर्जन नेता आकांक्षी

बुटवल : नेकपा (एमाले)को जिल्ला अधिवेशन नजिकीएसँगै रूपन्देहीमा पार्टी नेतृत्वका लागि नेताहरूको दौडधुपले माहोल तातेको छ। जिल्ला अध्यक्षका लागि आधा दर्जनभन्दा धेरै नेताहरुले आ-आफ्नो दावीसहित आफूनिकटका नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएका छन्।

एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, नेताहरू खिमलाल भट्टराई, राधा ज्ञवाली लगायतका नेताहरुको गृहजिल्ला समेत रहेको रूपन्देही जिल्ला अध्यक्षका लागि आकांक्षीहरुको दौडधुप र सक्रियता बढ्दै गएको हो।

एमाले रुपन्देहीका अध्यक्ष तथा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी हालै सम्पन्न दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका छन्। सुवेदी केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै जिल्ला अध्यक्षमा नयाँ व्यक्ति आउने अनुमान गरिएको नेताहरु बताउँछन्।

हाल एमाले जिल्ला उपाध्यक्ष रहेका पुरुषोत्तम घिमिरे जिल्ला अध्यक्ष बन्ने दौडमा छन्। उनी प्रदेश सांसद एवं एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोज प्रसाद श्रेष्ठ मार्फत लबिङ गरिरहेका छन्।

त्यसैगरी, रुपन्देही जिल्ला सदस्य तेजेन्द्र केसी पनि एमाले अध्यक्ष पदका बलिया दाबेदार हुन्। एमाले र माओवादी एकीकरण भएपछि सह-संयोजकको भूमिका पाएका केसीले आफूलाई स्वभाविक रूपमा अध्यक्षको दाबेदार भन्दै आएका छन्।

त्यस्तै, एमालेको केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिएर पछि हटेका तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले पनि अध्यक्षमा आकांक्षा देखाएका छन्। यसअघि घिमिरेले अध्यक्षमा दावी गरेर नेतृत्वले सहमतिका लागि दवाव दिएपछि उपाध्यक्ष पदमा समेटिएका थिए।

उनी त्यो बेला माधव नेपाल समूहमा थिए। तर, करीव दुई वर्षदेखिको पार्टी विवादमा मौनजस्तै बसेका उनी पार्टीबाट माधव नेपाल समूह अलग भए पनि एमालेमै रहेका छन्।

त्यस्तै, एमाले रुपन्देहीका उपसचिव गोपाल रानाले पनि अध्यक्षमा दावी गरेका छन्। रानाले पार्टी युवा पुस्तामा हस्तान्तरण हुनुपर्ने बताउँदै जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्न आफू तयार भएको बताए।

त्यसैगरी, सुकुम्वासी आयोग रुपन्देहीका अध्यक्ष भइसकेका बलबहादुर आचार्य, सिद्धार्थनगरमा पार्टीको काम गर्दै आएका हितराज पन्थी र अखिल नेपाल किसान महासंघको जिम्मेवारीमा रहेका यज्ञ गैरे लगायतले पनि जिल्ला अध्यक्षमा दावी गरेका छन्।

एमालेको जिल्ला अधिवेशन पुस २३ गतेदेखि शुरु हुँदैछ। पुस ३० गतेसम्म ७७ वटै जिल्लामा अधिवेशनबाट नेतृत्व चयन गरिसक्ने एमालेले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell