सुर्खेतः सात वर्षअघि बाढी पहिरोबाट घरबास गुमाएका नागरिकको अझै पुनस्र्थापना हुन सकेको छैन। पीडितको पुनस्र्थापनाका नाममा सरकारले ३१ करोड बढी खर्चिए पनि अवस्था उस्तै छ। चालु वर्षमा पनि झण्डै १२ करोड बजेट सक्ने तयारी छ।
२०७१ साल भदौ अन्तिम साता आएको बाढी पहिरो पीडितको घरबासका लागि सरकारले तीन चरणमा गरी हालसम्म ३१ करोड बजेट खर्च गरेको हो। विपद पीडित आवास निर्माण कार्यविधि २०७६ निर्माण गरेर आंशिक क्षति भएका ५९१ घरपरिवारलाई आवास निर्माणका लागि तीन लाखका दरले र पूर्ण क्षति भएका १३० घरपरिवारलाई साढे एक लाखको दरले आवास निर्माणका लागि स्थानीय तहमार्फत् राहत रकम दिइएको थियो।
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार हालसम्म पटक–पटक गरी ३१ करोड रुपैयाँ वितरण गरिसकिएको छ।
बाँकी ३२४ घरपरिवारलाई चालु वर्षमा रकम वितरण गर्ने तयारी छ।
चालू वर्षमा ११ करोड ९४ लाख रकम स्थानीय तहमा पठाएको र अब छिट्टै बाढी पीडितको समस्या समाधान हुने प्रदेश सरकारको दाबी छ।
‘प्रदेश सरकार आउनुअघिको समस्या हो। यसका लागि हामीले प्रत्येक आर्थिक वर्ष बजेट विनियोजन गरेर पुर्नस्थापनाका लागि पहिलो, दोस्रो र तेस्रो किस्ता गरेर रकम दिएका थियौँ ।’
आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले भने, ‘यस आर्थिक वर्ष पनि करिव १२ करोड बजेट पुनस्र्थापनाकै लागि भनेर स्थानीय तहमा पठाएका छौँ, सम्भवतः अव छिट्टै पीडितको समस्या समाधान हुन्छ।’
प्रदेश सरकार गठन हुनुअघि संघीय सरकारले पनि प्रत्येक घरधुरीलाई ५० हजारका दरले रकम उपलब्ध गराएको थियो। तर, उनीहरुको अवस्था अझै फेरिएको छैन।
सरकारले विगतका वर्षदेखि राहत रकम वितरण गरे पनि त्यसको अनुगमन र निगरानी नगर्दा लगानी बालुवा पानीजस्तै बनेको देखिन्छ।
जहाँ जति लगानी गरे पनि अवस्था सुधिँ्रदैन। न घरबास बनेका छन्, न उनीहरु त्रिपालमुनिको बसाइँ मुक्त बनेका छन््।
त्यतिबेला सुर्खेतको वीरेन्द्रनगर, भेरीगंगा, लेकवेशी, बराहताललगायत स्थानीय तहमा १०४५ घरपरिवार बाढी पहिरोबाट विस्थापित भएको प्रदेश सरकारले तथ्याङ्क संकलन गरेको थियो। उनीहरुको पुनस्र्थापना गर्न सरकारले बजेट खर्चेको छ तर, च्यातिएको त्रिपालमुनिको बास अझै हटेको छैन।
‘पानी पर्दा र रातिको शीत पनि सरलक्कै भित्रै पस्छ’, ७६ वर्षीया लक्ष्मी योगी भन्छिन्,‘न बस्ने त्रिपाल गतिलो छ, न ओढ्ने, ओछ्याउने तातो कपडा छ, न ताप्ने आगो छ चिसोले बिरामी परियो।’
उनी ढल्किँदो उमेर भएकाले पनि दैनिकी चलाउन निकै मुस्किल भएको बताउँछिन्। चिसोले शारीरिक रुपमा बिरामी पर्दै गएको उनी बताउँछिन्।
‘बुढाबुढी मात्रै छम, काम गर्ने कोही छैनन्, के खाने के लाउने, त्यसैमाथि चिसो मौसमले बिरामी परेकी छु’, उनले भनिन्, ‘न राम्रोसँग खानु छ, न रातमा सुत्नु छ, चिसोले मर्नु न बाँच्नु भा’छ।’
बाढी पहिरोले उठिबास लगाएपछि थातथलो छोडेर सडक र जंगलका छेउछाउमा अस्थायी शिविरमा बसेका उनीहरुलाई सरकारलले उचित व्यवस्थापन गर्न नसक्दा अझै कष्टकर दैनिकी गुजारिरहेका छन्।