कर्णालीः आसन्न राष्ट्रियसभा निर्वाचनका लागि नेकपा (एमाले) ले कर्णाली प्रदेशबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। एमाले कर्णाली प्रदेश कमिटीको शुक्रवार सम्पन्न सचिवालय बैठकले नौ जनाको नाम सिफारिस गरेको हो।
सिफारिसमध्येका तीन जना उम्मेदवार छानिने छन्। कर्णाली प्रदेशमा रिक्त तीन जना राष्ट्रियसभा सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ।
एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार उम्मेदवारका लागि सिफारिस हुनेमा अन्य समूहबाट सुर्खेतका चुडामणि शर्मा, जाजरकोटका गोविन्दविक्रम शाह र कालीकोटका हिरे सुनार छन् ।
महिला समूहबाट जुम्लाकी गंगा थापा महत, सल्यानकी कुन्ता बस्नेत र मुगुकी सोनाम छोइजुङ भोटे लामा तथा अपाङ्गतातर्फ मुगुका रुपबहादुर बुढा, कालीकोटका केशवराज देवकोटा र सल्यानका शेरबहादुर डाँगीको नाम सिफारिस गरिएको छ। पार्टी केन्द्रले प्रदेशबाट प्रत्येक समूहबाट तीन/तीन जनाको नाम पठाउन निर्देशन दिएको थियो।