PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

प्रचण्ड चाहन्छन् कार्यकर्ता सुधार्न, प्रचण्डलाई नै सुधार्न चाहन्छन् प्रतिनिधि



प्रकाश भण्डारी

प्रचण्ड चाहन्छन् कार्यकर्ता सुधार्न, प्रचण्डलाई नै सुधार्न चाहन्छन् प्रतिनिधि

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ८औँ महाधिवेशनका प्रतिनिधिको साझा बुझाइ हो-माओवादी बिग्रियो। प्रचण्डले बिग्रनुको कारणलाई दस्तावेजीकरण गरे भने प्रतिनिधिले सुधारका उपाय सुझाए।

आइतवार उद्घाटन भएको महाधिवेशनको सोमवारदेखि बन्दसत्र सुरु भएको थियो। बन्दसत्रको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन र स्थायी कमिटी सदस्य देव गुरुङले विधान संशोधन मस्यौदा प्रस्तुत गरे। सोमवार नै समूहगत छलफलका लागि २५ वटा समूह विभाजन भएको थियो। मंगलवार छलफल भएकोमा बुधवार र बिहीवार समूह नेताहरूले निष्कर्ष प्रस्तुत गरे। शुक्रवार प्रचण्डको प्रतिवेदन पारित हुँदा शनिवार गुरुङको प्रतिवेदनलाई प्रतिनिधिले पास गर्नेछन्। प्रतिनिधिहरूले प्रचण्डमाथि नै प्रश्न गरेका छन्।

नेताहरू राम कार्कीले पूरक प्रस्ताव प्रस्तुत गरे भने लेखनाथ न्यौपानेले फरक प्रस्ताव राखे। स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रचण्डलाई लिखित सुझाव दिएका थिए। पूरक प्रस्ताव र सुझावलाई ग्रहण गरिसकेको र न्यौपानेको प्रस्तावलाई छलफलमा लैजाने प्रचण्डले प्रतिबद्धता जनाएका छन्। २१औँ शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकमा प्रचण्डले प्रतिवेदन प्रस्तुत गरेका थिए।

छोराछोरीलाई सरकारी स्कुलमा पढाउन सुझाव

माओवादी केन्द्रका नेताहरूले नेतृत्वमाथि नै प्रश्न उठाएर सुधारका उपाय सुझाएका छन्। २१औँ शताब्दीको समाजवादको स्पष्ट व्याख्या तथा समाजवादी क्रान्तिको चरणबद्ध कार्यक्रमसहित स्पष्ट कार्यदिशा तय गर्नुपर्ने प्रतिनिधिको सुझाव थियो। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा अघि सार्नुपर्ने, अहिलेसम्मलाई एक कार्यकाल मानी एक व्यक्ति प्रधानमन्त्रीमा दुई कार्यकाल मात्रै योग्य हुने व्यवस्था हुनुपर्ने प्रतिनिधिहरूले माग गरेका थिए। पार्टीमा ७० वर्षीय उमेर हद तोकेर अनिवार्य अवकाशको व्यवस्था गर्नुपर्ने, नेताहरूको सम्पत्ति विवरण वार्षिक सार्वजनिक गर्नुपर्ने, सुदृढ पार्टी निर्माणको लागि केन्द्रीय कमिटीसहित सबै तहका कमिटीहरूको आकार घटाइ दुई अंकको बनाउनुपर्ने पनि प्रतिनिधिको सुझाव थियो। छिमेकी देश भारतलाई हेर्ने नजर प्रस्ट नभएको, नेपालका राजनीतिक दलबारे धारणा नआएको भन्दै प्रचण्डको आलोचना भएको थियो।
नेताहरूले आफ्नो छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने विषयले पनि महाधिवेशनमा चर्चा पायो। प्रतिनिधिहरूले अध्यक्ष प्रचण्डको जीवनशैलीबारे पनि प्रश्न गरेका थिए। उनीहरूको सुझाव थियो -डेरा सर्नुपर्ने र कार्यकर्ताले नै उनका लागि आवासको व्यवस्था गर्नुपर्ने।

प्रचण्डको जवाफ -डेरा सर्छु

बुधवार र बिहीवार प्रतिनिधिले उठाएका प्रश्नमाथि प्रचण्डले शुक्रवार जवाफ दिएका थिए। शुक्रवार नै अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रतिनिधिका प्रश्नको जवाफमा प्रचण्डले आफू डेरा सर्न तयार भएको सन्देश कार्यकर्तालाई दिएका छन्।

'डेरा सर्ने कुरा ठिक छ। खुमलटारबाट डेरा सर्छु। अर्को डेराको खोजी हुँदैछ। ठेकेदारको घरमा बस्यो भनेर आलोचना भयो। घर सल्लाह गर्छु। यहीँ बस्ने कि चितवन,' प्रचण्डले जवाफ दिँदै भनेका छन्।

तिनै तहको निर्वाचनपछि विशेष महाधिवेशन हुने प्रचण्डको घोषणा थियो। यस्तै उनले भारतले अतिक्रमण गरेको लिपुलेक र लिम्पियाधुराको जमिनबारे पनि दस्ताबेजमा उल्लेख हुने बताए। केन्द्रीय सदस्यले गाउँमै बस्नुपर्ने, अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधन बिना पारित नहुने भन्दै प्रचण्डले प्रतिनिधिलाई आश्वस्त पार्न खोजेका थिए।

प्रचण्ड सुधार्न चाहन्छन् प्रतिनिधि

माओवादी महाधिवेशनका प्रतिनिधिहरूले माओवादी बिग्रनुमा अरू कारणसँगै प्रचण्डको कार्यशैलीलाई पनि मुख्य कारण भएको बताएका थिए। हुन त प्रचण्ड आफैँले पनि पार्टी शान्ति प्रक्रियापछि स्पष्ट कार्यनीति नहुँदा बिग्रिएको दस्ताबेजमै स्विकारिसकेका छन्। त्यसका अलावा नेकपा (एमाले) सँग एकताका बेला पनि प्रचण्ड बढी लचिलो र भावनात्मक हुँदा पार्टीलाई बढी क्षति भएको प्रतिनिधिहरूको भनाइ थियो।

प्रचण्डको कार्यशैली र उनको प्रतिवेदनमाथि असन्तुष्टि जनाउँदै राम कार्की र लेखनाथ न्यौपानेले आफ्नो मतमाथि छलफल गराएका छन्। प्रचण्डले निर्णयमा प्रक्रियामा समेत हस्तक्षेप गरेको उनीहरूको आरोप थियो। प्रचण्डको प्रतिवेदन यथार्थभन्दा भिन्न भएको भन्दै यथार्थमा आधारित हुनुपर्ने उनीहरूको मत थियो।

प्रचण्डको चाहना कार्यकर्ता सुधार्ने

सार्वजनिक रूपमै प्रचण्डले धेरैपटक नेतृत्वकै कारण माओवादी बिग्रिएको बताएका छन्। उनले कार्यकर्ताभन्दा नेताहरू बिग्रिएको बताउने गरेका छन्। त्यसो त उनले कार्यकर्तामाथि पनि प्रश्न नउठाएका होइनन्। माओवादीका नेताहरू पदलोलुप भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार बिस्तारका बेला पार्टीमा मन्त्रीका लागि आकांक्षीको संख्या धेरै भएको भन्दै आफ्नो दिमागमा आतंक भएको बताएका थिए।

महाधिवेशनमा पनि प्रचण्डले उल्टै कार्यकर्तामाथि नै प्रश्न तेर्स्याएका छन्। उनले केन्द्रीय सदस्यलाई समेत गाउँमै बस्नुपर्ने प्रस्ताव गरेका छन् भने उत्पादन ब्रिगेड बनाएर श्रम गर्नुपर्ने बताएका छन्। प्रतिवेदनमा पनि प्रचण्डले नेता कार्यकर्ता भ्रष्टाचारमा, यौन प्रकरणमा मुछिन लागेको भन्दै आनीबानी सुधार्नुपर्ने उल्लेख गरेका थिए।

माओवादीको बन्द सत्रमा शनिवार देव गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि प्रतिनिधिले उठाएका प्रश्नको गुरुङले जवाफ दिनेछन्। जवाफपछि हलबाट पारित हुने र त्यसपछि निर्वाचनको कार्यतालिका आउने माओवादी केन्द्रले जनाएको छ।

विधान अनुसार प्रतिनिधिहरूले केन्द्रीय कमिटी चयन गर्नेछन् भने केन्द्रीय कमिटीले पदाधिकारीको टुंगो लगाउने छन्। सुरुमा ११-१३ पुस सम्मका लागि तोकिएको महाधिवेशन दुई दिन लम्बाएर १५ गतेसम्म पुर्‍याइएको थियो। दुई दिन थप्दा पनि छलफल नसकिएपछि एक दिन समय थपिएकोमा अब १७ गतेसम्म महाधिवेशन सकिसक्ने माओवादी केन्द्रले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell