PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

टाइटल रेसबाट शीर्ष चारको होडमा आर्मी, अपराजित यात्रा तर बराबरीले धकेलियो पछाडि



मुकुन्द घिमिरे

टाइटल रेसबाट शीर्ष चारको होडमा आर्मी, अपराजित यात्रा तर बराबरीले धकेलियो पछाडि

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा सदबहार उपाधिको दाबेदार टोली हो त्रिभुवन आर्मी फुटबल क्लब। अघिल्लो सिजनमा राम्रो प्रदर्शन गरेको आर्मी लिगको उपविजेता पनि बन्यो। त्यतिमात्र होइन त्यतिबेलाको लिग विजेता मछिन्द्र क्लबसँग एएफसी क्लब लाइसेन्स नहुँदा आर्मीले एएफसी कपको प्रारम्भिक छनोटसमेत खेल्ने मौका पायो। खेल शैलीमा आक्रामक खेल र राम्रो पेस भएको टोलीको रुपमा चिनिन्छ आर्मी। तर जारी लिगमा आर्मीको प्रदर्शन सोचेजस्तो भइरहेको छैन।

आर्मी फुटबल क्लबले ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै जारी सिजनमा पहिलो जित निकालेको थियो। त्यसअघिका दुई खेलमा बराबरी खेलेको आर्मीले बीबीसीलाई हराउन ठूलै संघर्ष गर्नुपरेको थियो। उपाधि दाबेदार मानिएको आर्मीलाई यो जितले राहत त मिलेको प्रशिक्षक नविन न्यौपानेको अभिव्यक्तिबाट थाहा हुन्थ्यो। उक्त जितपछि न्यौपानेले टिम टाइटल रेसमा अघि बढेको महसुस भएको अभिव्यक्ति दिएका थिए।

‘३ अंक महत्वपूर्ण थियो। टाइटल रेसमा अघि बढेजस्तो महसुस भएको छ। तर, स्ट्राइकिङ जोनमा अझै समस्या छ’, प्रशिक्षक न्यौपानेले भनेका थिए, ‘आजको खेलमा अवसरहरु धेरै बनायौं त्यो महत्वपूर्ण छ। यसअघिको खेलहरुमा अवसर बनाउन सकिएको थिएन। अझ सुधार्दै लैजाने छौं। खेलाडीको प्रदर्शनबाट खुशी छु।’

तर लिगको सातौं चरणमा आइपुग्दा त्यतिबेला खेलाडीको प्रदर्शनबाट सन्तुष्ट न्यौपाने असन्तुष्ट बनिसकेका थिए। रेलिगेसन क्षेत्रबाट बल्लतल्ल माथि उठ्दै गरेको एपीएफसँग आर्मीले १-१ को बराबरी खेलेको थियो शुक्रवार। यो बराबरीसँगै आर्मीको लिग जित्ने समीकरण पनि थप कठिन बनेको स्पस्ट छ। त्यसैले टाइटल रेसको होडमा रहने आर्मीका प्रशिक्षक न्यौपानेले भने अब शीर्ष चारको लक्ष्य भएको बताए।

'स्कोर पनि निस्कियो। तर अग्रता होल्ड गर्न सकेनौं। एक्पेक्ट गरेका खेलाडीबाट पनि भनेजस्तो प्रदर्शन भएको छैन,' उनले भने, 'टाइटल होप धेरै गाह्रो छ। धेरै अंक ड्र मै सकिरहेका छौं। टाइटल होइन टप ४ मा लड्नुपर्ने अवस्था छ। आशा गरेका खेलाडीले सोचेजस्तो पर्फमेन्स नदिँदा गाह्रो छ। स्कोर निस्किरहेको छैन।' खासमा आर्मीलाई खेलाडीको चोटले पनि साथ नदिएको हो। लिग सुरु नहुँदै आर्मीका मुख्य फर्वाडमध्येका नवयुग श्रेष्ठ घाइते भए भने अर्का महत्वपूर्ण खेलाडी सुदिल राईले पनि चोट बोके। त्यस्तै राष्ट्रिय टोलीमा समेत स्थान बनाइसकेका विकास खवासले पनि चोट बोकेका छन्। यसबाहेक कप्तान भरत खवासले नै पनि पूर्ण फिट भएर लिगका सबै खेल खेलेका छैनन्।

त्यसमाथि अनुभवी खेलाडीको प्रदर्शनबाटै पनि प्रशिक्षक न्यौपाने खुशी छैनन्।

उनले अगाडि भने, 'लिगको लक्ष्य च्याम्पियन हुने राख्यौं तर गेम च्याम्पियन हुने किसिमको खेल्न सकेनौं।'

अपराजित तर बराबरीमा अघि

जारी लिगमा अपराजित तीन क्लबमात्र छन् : लिग लिडर मछिन्द्र क्लब, संकटा क्लब र आर्मी। तर, सातौ चरणको खेल खेलेर पनि आर्मी ११ अंक जोडेर तालिकाको चौथो स्थानमा छ। यसको कारण हो बराबरी खेल। जारी लिगमा सबैभन्दा धेरै बराबरी आर्मीले खेलेको छ। सात खेल खेलेर दुई जित र बाँकी ५ मा बराबरी खेलेको छ आर्मीले। जसका कारण पराजय नब्यहोरेर पनि लिगमा अघि जान भने सकेको छैन। आर्मीले यसअघि नेपाल पुलिस, मच्छिन्द्र, सातदोबाटो र थ्री स्टार क्लबसँग बराबरी खेलेको थियो। त्यस्तै, च्यासल र ब्रिगेड ब्वाइजलाई हराएको थियो। आर्मी पछि एनआरटी र थ्री स्टार क्लबले ६ खेल खेल्दा सर्वाधिक ४ बराबरी खेलेका छन्।

एएफसीको होडबाट बाहिर   

अघिल्लो सिजनजस्तो यसपाला आर्मी भाग्यशाली हुन सकेन। छैटौं चरणमै थ्री स्टार क्लबसँग बराबरी खेलेपछि आर्मीको एएफसी कप छनोटको होड सकिएको छ। एन्फाले लिगको सातौं चरण सकिँदा शीर्षस्थानमा रहने टोलीले नेपालबाट एएफसी कप छनोट खेल्ने बताउँदा आर्मी त्यसको दाबेदार मध्येको थियो। अघिल्लो सिजन मछिन्द्र क्लबको एएफसी लाइसेन्स नहुँदा उपविजेता भएर पनि एएफसी कप क्वालिफायर्स खेल्ने अवसर पाएको थियो। तर यसपटक चारवटा टिमसँग एएफसी लाइसेन्स छ। जसमा मछिन्द्र क्लब, आर्मी, मनाङ मर्स्याङ्दी र एपीएफ रहेका छन्। एपीएफ सुरुबाटै रेलिगेसन जोनमा संघर्ष गरिरहँदा यो होडबाट टाढै थियो भने आर्मी लगातारको बराबरीले यो होडबाट पछि पर्‍यो। अहिले शीर्षस्थानको मछिन्द्र क्लब र दोस्रो स्थानको मनाङ मर्स्याङदी क्लबको सातौं चरणको प्रदर्शनले कुन टीम एएफसी कपको छनोट खेल्न जाने हो निधो गर्नेछ।

आर्मीको जारी सिजनको प्रदर्शन

नेपाल आर्मी भर्सेस नेपाल पुलिस १-१ (बराबरी)

नेपाल आर्मी भर्सेस मछिन्द्र क्लब ०-० (बराबरी)

नेपाल आर्मी भर्सेस ब्रिगेड ब्वाइज क्लब १-० (जित)

नेपाल आर्मी भर्सेस च्यासल युथ क्लब  २-० (जित)

नेपाल आर्मी भर्सेस सातदोबाटो युथ क्लब १-१ (बराबरी)

नेपाल आर्मी भर्सेस थ्री स्टार क्लब ०-० (बराबरी)

नेपाल आर्मी भर्सेस एपीएफ १-१ (बराबरी)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell