PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विदेशी खेलाडी फापेको एपीएफ, समात्दै लय



मुकुन्द घिमिरे

विदेशी खेलाडी फापेको एपीएफ, समात्दै लय
फोटो : APF Football Club

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा सातौं चरण चलिरहेको छ। सुरुवाती चरणमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको विभागीय टोली एपीएफले पछिल्ला खेलहरुमा लय समातेको छ। र, अंक जोडिरहेको छ। शुक्रवार सम्पन्न सातौं चरणको खेलमा पनि एपीएफले उपाधिको दाबेदार मानिने अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग बराबरी खेल्यो।

खेलपछि टोलीका प्रशिक्षक कुमार थापाले आफूहरु तीन अंकका लागि आएको तर एक अंकमात्र लिन सकेको बताए। अर्थात एपीएफले स्पस्ट सन्देश दिन खोजेको छ कि अब एपीएफ लिगको बलियो टोलीका रुपमा अघि बढ्छ।

लिगको सुरुवातका दुई खेल गुमाएपछि प्रशिक्षक थापाले विदेशी खेलाडीबिना खेल्न कठिन भएको प्रतिकृया दिएका थिए। त्यतिबेला उनले क्लबमा विदेशी खेलाडी भित्र्याउन कुरा गरेको बताएका थिए। पछि भयो पनि। त्यस्तै लगातार रेलिगेसन क्षेत्रमा रहेपछि विदशी खेलाडी एपीएफले भित्र्याएरै छाड्यो।

पाँचौ चरणमा आएर फ्रेन्डस् क्लबविरुद्धको खेलमा एपीएफले पहिलो पटक विदेशी खेलाडी उतार्‍यो। चोटबाट गुज्रिरहेको एपीएफमा गोलकिपर सबै घाइते हुँदा कठिन भइरहेको थियो। यस्तोमा युरा कुरियामालाई गोलकिपरका रुपमा उतारेको एपीएफले जारी लिगमा पहिलो जित पनि निकालेको थियो। त्यसपछिको खेलमा अर्का विदेशी खेलाडीलाई पनि एपीएफले थप्यो उनी हुन् अडम डौम्बिया। नेपालमा बसेर व्यवसायिक फुटबल खेल्दै आएका उनी एपीएफबाट खेल्ने दोस्रो विदेशी खेलाडी बने। उक्त खेलमा एपीएफले एनआरटीसँग ३-३ गोलको बराबरी खेलेको थियो। त्यस्तै अर्का एकजना विदेशी खेलाडीलाई पनि एपीएफले अनुबन्धनको प्रयास गरिरहेको प्रशिक्षक थापाले बताएका छन्। यो नतिजा हेर्दा विदेशी खेलाडीको आगमन पछिका तीन खेलमा एपीएफले पराजय ब्यहोरेको छैन। त्यसबाहेक पनि विदेशमा ट्रेनिङ गरिरहेका नेपाली खेलाडीलाई एपीएफले टीममा अनुबन्धित गरेको छ। जारी लिगका लागि स्पेनको मड्रिडस्थित एकेडेमीमा प्रशिक्षण गरिरहेका आवास लामिछानेलाई एपीएफले अनुबन्धित गरेको छ। उनी हाल टिमको महत्वपूर्ण खेलाडीका रुपमा स्थापित हुने क्रममा छन्।

'अझै पनि राम्रो प्लेयर खोजिरहेका छौं। राम्रो प्लेयर पायो भने ल्याउँछौं। आधाभन्दा धेरै गेम छ,' प्रशिक्षक थापाले भने, 'भएजति सबै गोलकिपर घाइते भए। उसलाई पनि इन्ज्युरी छ। ट्रेनिङ पनि राम्ररी गर्न सकिरहेको छैन।'

आर्मी पनि रोकिएको छ। प्वाइन्टको हिसाबमा अरुको खेलमा भर पर्नु पर्ने अवस्था छ। आफ्नैमा भर पर्नुपर्ने हो। गोल पनि हानिरहेका छौं।

त्यसैले पनि होला आर्मीसँगको बराबरी पछि एपीएफका प्रशिक्षक थापाले कन्फिडेन्स भएर भने : दुई प्वाइन्ट गुमाएजस्तो लागेको छ।

'आर्मीको पर्फमेन्स बेस हेर्ने हो भने हाम्रो राम्रो छ। हामीले धेरै गोल गरिरहेका छौं,' उनले थपे।

यद्यपि रेलिगेसन क्षेत्रबाट माथि उठेर पनि एपीएफलाई राहत भने छैन। आफूभन्दा पछाडि रहेका टोलीको नतिजाले एपीएफ फेरि रेलिगेसन क्षेत्रमै झर्ने या नझर्ने भन्ने निधो गर्नेछ।

'५/६ अंक भनेको अर्कोले जित्न सकिहाल्छ। खेलमा हामी लिड गर्न सकेका छैनौं। फलोब्याक मात्र भयौं,' उनले भने।

हुन पनि पछिल्ला खेलहरुमा एपीएफले पहिला गोल गर्नेभन्दा पनि गोल फर्काएर डिफेन्सिभ खेल्ने ध्याउन्नमा देखिन्छ।

छैठौं चरणमा एनआरटीसँग ३-१ को अवस्थाबाट पुनरागमन गरेको एपीएफले सातौं चरणमा पनि आर्मीसँग पुनरागमन गोल गर्दै बराबरीमा रोकेको थियो।

एपीएफको जारी लिगमा प्रदर्शन

एपीएफ भर्सेस ब्रिगेड ब्वाइज ३-२ (पराजय)

एपीएफ भर्सेस च्यासल युथ क्लब १-० (पराजय)

एपीएफ भर्सेस सातदोबाटो युथ क्लब ४-१ (पराजय)

एपीएफ भर्सेस थ्री स्टार क्लब ०-० (बराबरी)

एपीएफ भर्सेस फ्रेन्ड्स क्लब ३-१ (जित)

एपीएफ भर्सेस न्युरोड टीम ३-३ (पराजय)

एपीएफ भर्सेस त्रिभुवन आर्मी फुटबल क्लब १-१ (बराबरी)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell