PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

परवानीपुर-वीरगंज प्रसारण लाइन ६६ केभीको मर्मत जारी, तीन दिन विद्युत आपूर्ति असहज



राधेश्याम पटेल

परवानीपुर-वीरगंज प्रसारण लाइन ६६ केभीको मर्मत जारी, तीन दिन विद्युत आपूर्ति असहज

वीरगंज : बिहीवारदेखि वीरगंज आसपासमा विद्युत् आपूर्ति असहज बनेको छ। परवानीपुर–वीरगंज ६६ केभी (६६ हजार भोल्ट)को प्रसारण लाइनको लत्रेको तार तान्ने र पुरानो तार फेर्ने काम भइरहेकोले वीरगंज क्षेत्रमा दुई दिनदेखि लाइन काट्ने काम भइरहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजले जनाएको छ।

केन्द्रका प्रमुख जितेन्द्र झाका अनुसार परवानीपुर–वीरगंजको प्रसारण लाइनको करिब सात किलोमिटर लम्बाईमा प्रसारण लाइन वरपर विभिन्न ठाउँमा सडक र घर निर्माण भइसकेको र लत्रेको तार व्यवस्थित गर्न कार्यालयमा दर्जनौं निवेदन परेकोले सो क्षेत्रमा मर्मत भइरहेको उनले बताए। परवानीपुरदेखि वीरगंज क्षेत्रमा सोह्वटा टावरमध्ये पाँचवटा टावरको शनिवारसम्म तीन दिनमा काम सम्पन्न गर्ने र पुरानो तार फेरेर हाइटेम्प्रेचर लो–स्याग (एचटिएलएस) तार जडान गर्ने काम भइरहेको उनले बताए।

ढल्केवरबाट परवानीपुर सब–स्टेशन आएर परवानीपुर सबस्टेशनबाट वीरगंजसम्म पुरानो प्रसारण लाइनको संरचनाबाट ८० मेगावाट बिजुली आयात गर्न सकिने क्षमता रहेकोमा प्रसारण लाइनको १६ वटा टावर र तार फेर्ने काम सम्पन्न भएपछि वीरगंज क्षेत्रमा थप ६० मेगावाट थपेर कुल १४० मेगावट बिजुली आपूर्ति गर्न सकिने वितरण केन्द्रको अनुमान छ।
परवानीपुर–वीरगंज प्रसारण लाइनबाट बिजुली अवरूद्ध भएपछि वीरगंज वितरण केन्द्र मातहत रहेका १२ वटा फिडर रहेकोमध्ये ३ वटा औद्योगिक फिडरको लाइन पूर्णरूपमा तीन दिनसम्म काटिएको छ भने बाँकी ९ वटा ग्रामीण फिडरमा आंशिक रूपले विद्युत् आपूर्ति भइरहेको छ। रक्सौल–वीरगंज प्रसारण लाइनबाट दैनिक १२ मेगावाट विद्युत् खरीद गरी ग्रामीण फिडरको घरायसी प्रयोजनको बिजुली उपभोगको व्यवस्था मिलाइएको केन्द्र प्रमुख झाले स्पष्ट पारे।

नेपालमा बिजुली उत्पादन बढेसँगै रक्सौल–वीरगंज प्रसारण लाइनबाट बिजुली ६ महीनादेखि खरीद गरिएको थिएन। तर प्रसारण लाइन मर्मत सम्भार गरिरहेकोले विशेषगरी राति र बिहानको समयमा ९ वटा फिडरले आलोपालो रक्सौलबाट बिजुली किनेर आपूर्ति मिलाइएको उनले बताए। रक्सौल–वीरगंज प्रसारण लाइनको तार पुरानो भएकोले १२ मेगावाटभन्दा बढी ल्याउन नसकिने अवस्था छ। औद्योगिक कोरिडोरमा लाइन काटिएपछि दर्जनौ उद्योगको उत्पादनमा असर पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell