PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

अलमुताइरीको आगमन र विवाद : २०२१ मा नेपाली फुटबलमा जे भयो



पहिलोपोस्ट

अलमुताइरीको आगमन र विवाद : २०२१ मा नेपाली फुटबलमा जे भयो

काठमाडौं : २०२१ मा नेपाली फुटबल चर्चामा रह्यो। कोभिड १९ संक्रमणका कारण लामो समय ठप्प रहेर दशरथ रंगशालामा फुटबल फर्कियो। नेपाल, कीर्गिस्तान यू २३ र बंगलादेशबिचको थ्री नेशन्स कप नेपालले घरेलु मैदानमा जित्यो।

योहान कालीन कोभिडका क्रममा घर गएर नेपाल फर्किएनन्। थ्री नेशन्स कपमा नेपालले बालगोपाल महर्जनको प्रशिक्षणमा खेल्यो। च्याम्पियन पनि बन्यो। त्यसपछि प्रशिक्षकमा आए कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी। नेपाली फुटबलको फर्वाड सुधार्ने भनेर प्रतिवद्धता जनाएका उनी नेपाली फुटबलमा चर्चित र विवादित पनि बने। उनको प्रशिक्षणमा नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्यो भने विश्वकप क्वालिफायर्स अन्तर्गतको खेलमा अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइसँग खेल्यो। जसमा ताइपेइमाथि नेपालले जित निकाल्यो।

त्यस्तै, नेपालले भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्यो जसमा एउटामा बराबरी र एउटा पराजय व्यहोर्‍यो। साफ च्याम्पियनसिपमा नेपालले यसपटक इतिहास कोर्न सफल भयो। फाइनल खेलमा भारतसँग पराजित बने पनि साफमा पहिलो पटक उपविजेता बन्दै नेपालले इतिहास कोर्न सफल भएको हो।

केके भयो २०२१ मा नेपाली फुटबलमा?

फुटबल सिरिज

नेपालले मार्च महिनामा बंगलादेश, किर्गिस्तान यू २३ र नेपाल सम्मिलित त्रिदेशीय सिरिज खेल्यो। त्यसपछि मात्रै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण सम्हालेका थिए। विश्वकप क्वालिफायर्स अन्तर्गतका खेलहरु पछि खेल्यो। जसमा अस्ट्रेलिया रजोर्डनसँग पराजित हुँदा साफ च्याम्पियनसीपको तयारीमा रहेको नेपालले भारतसँग दुई खेलको मैत्रीपूर्ण सिरिज काठमाडौंमा खेल्यो। जसमा एक बराबरी र एक हार ब्यहोर्‍यो। यसैवर्ष नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पहिलो पटक पुग्यो र उपविजेता बन्यो।

फुटबलमा फ्रेन्चाइज

नेपाली फुटबलमा पहिलो पटक फ्रेन्चाइज लिग यसैवर्ष सम्पन्न भयो। अक्सनमा अक्सर क्रिकेटरहरु देखिने गरेकोमा यसपटक फुटबल खेलाडीहरु देखिए। २० हजारदेखि २ लाख हुँदै खेलाडीहरुले राम्रै पैसा पनि पाए। त्यस्तै, विदेशी खेलाडीका रुपमा अफ्रिकाभन्दा बाहिरबाट पनि खेलाडीहरु नेपाल आए। अर्थात् युरोपका खेलाडीको खेल कौशल पनि दशरथ रंगशालामा देख्ने अवसर मिल्यो। भलै कोरोनाका कारण दशरथ रंगशालामा दर्शकहरुको उपस्थिति निषेध थियो। दर्शक निषेध गरिए पनि पहिलो संस्करणमै सुपर लिगले नेपाली फुटबल वृत्तमा राम्रै चर्चा कमायो। प्रतियोगिताको उपाधि काठमाडौं रेजर्सले जितेको थियो।

विराजको संन्यास

विराज महर्जनले मार्च महिनामा सम्पन्न त्रिदेशीय सिरिजको फाइनलमा बंगलादेशविरुद्ध खेल्दै सन्यास लिए।एक हिसाबले सन्यास लिनका लागि महर्जन भाग्यमानी देखिए।

घरेलु मैदानमा दर्शकहरुको उपस्थिति बिच उपाधि जित्दै सन्यास लिने अवसर मिल्यो महर्जनलाई। अझ उनले विदाइको बेला प्रधानमन्त्रीबाट ‘ब्लेजर’ लगाउँदै विदा भए।

सन् २००८ मार्च २५ मा पोखरामा सम्पन्न पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेभ्यु गरेका उनले राष्ट्रिय टोलीबाट ७३ क्याप जितेका छन्। हाल उनी च्यासल युथ क्लबबाट शहीद स्मारक ए डिभिजन लिग खेलिरहेका छन्।

अलमुताइरी: विकास र विवाद

फुटबलमा यसवर्ष सबैभन्दा बढी चर्चामा रहे प्रशिक्षक अब्दुल्लाह अलमुताइरी। स्पष्ट रुपमा आफ्नो कुरा राख्ने अलमुताइरीले राष्ट्रिय टोलीको मनस्थितिमा सकारात्मक परिवर्तन ल्याए भने प्रदर्शनका हिसाबले नेपाली टिमले समर्थकहरुमा सकारात्मक उर्जा पैदा गर्‍यो। यद्यपि, उनी विवादित पनि त्यतिकै रहे। उनले पटकपटक राजीनामा पनि दिइरहे र करार पनि बढाइरहे। खास गरी एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङलाई दोष लगाउँदै समाजिक सञ्जालबाट राजीनामाको घोषणा गरेपछि एन्फा पदाधिकारीहरुको गुट उपगुट छरपस्ट भएको थियो।

पदाधिकारीहरु बिच पनि आफ्नो भूमिकाबाट राजीनामा दिने लहर चल्यो। विवाद खेलकुद मन्त्रालय हुँदै राष्ट्रिय खेलकुद परिषद पुग्यो। जहाँ गठित समितिले प्रतिवेदन पनि सार्वजनिक गर्‍यो। तर, कुनै ठोस कुरा बाहिर आएन। विवाद त्यतिकै सेलायो।

त्यस्तै, नेपालले साफ च्याम्पियनसीपको फाइनल खेल्नुअघि पनि अलमुताइरीले राजीनामाको घोषणा गरे। यद्यपि, पछि करार बढाएर उनी सन् २०२४ सम्मका नेपालमै रहने भएका छन्।

महिला फुटबल

नेपाली महिला फुटबल टोलीले यस पटक एसियन कप क्वालिफायर्स खेल्यो। यद्यपि, नतिजा सुखद् हुन सकेन। प्रतियोगिता अघि नेपालले दुईवटा मैत्रीपूर्ण खेल बंगलादेशसँग खेलेको थियो। जसमा पहिलो खेलमा जित र दोस्रो खेलमा बराबरी खेल्दै सिरिज आफ्नो पक्षमा पार्‍यो।

त्यस्तै, यसपटक महिला लिगमा पहिलो पटक विदेशी खेलाडीले खेले। लिगको उपाधि विभागीय टोली एपीएफले अपराजित रहँदै जितेको थियो।

ए डिभिजन लिग

अघिल्लो वर्ष कोभिड १९ को महामारीका कारण रोकिएको लिगयसपटक जारी छ। सातौं चरणसम्मको खेल दशरथ रंगशाला र पोखरा रंगशालामा चलेका छन्। एन्फाले यसबाहेक च्यासल स्टेडियम र एन्फा कम्प्लेक्सको पनि मैदान प्रयोग गर्ने जनाएको छ।

लिग विकेन्डमा (शुक्रवार, शनिवार, आइतवार र सोमवार) भइरहेको छ। यसपटक भने दर्शकको उपस्थिति पनि अघिल्लो सिजनको तुलनामा धेरै छ। छैटौं चरण सकिँदा साविक विजेता मछिन्द्र क्लब शीर्षस्थानमा छ भने मनाङ दोस्रो स्थानमा छ। रेलिगेशन क्षेत्रमा च्यासल र फ्रेन्ड्स क्लब छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell