नेपाली फिल्म उद्योगका लागि पछिल्लो दुई वर्ष निकै सकसपूर्ण रहयो। कोरोना भाइरस महामारीका कारण विश्वभरका फिल्म उद्योग ठप्प रहँदा नेपाली सिनेमाघरहरु पनि खाली भए। यस बिच केही नेपाली फिल्महरुले मात्रै सिनेमा हलमा आउने साहस गरे। तर तिनीहरुको साहसलाई दर्शकले रुचाएनन्। फिल्म असफल ठहरिए। केही फिल्मको असफलताले बहुप्रतिक्षित भनिएका नेपाली फिल्महरु अझैसम्म 'होल्ड'मै छन्। केहीले नयाँ रिलिज मिति सार्वजनिक गरेका छन्। यस बिच अहिले नेपाली सिनेमाघरमा भूतले कब्जा जमाएको छ। अर्थात् हरर जनरामा बनेको नेपाल फिल्म ‘कठपुतली’ले।
नेपालमा हरर जनरामा बनेका फिल्महरु मध्ये अहिलेसम्म केहीले बाहेक औसत् व्यापार गर्न पनि सकेका छैनन्। भनिन्छ अहिलेसम्म नेपालमा करिब १ दर्जन हरर जनराको फिल्म बने। तर, तर्साउन पर्ने फिल्ममा दर्शक हाँसेपछि कसरी हल भरिन्छ? अनि अर्को कुरा फिल्ममा कथा पनि त हुनुपर्यो। बलिउड र हलिउडका हरर जनराका फिल्म रुचाउने नेपाली दर्शकले नेपाली फिल्मबाट पनि त्यहीस्तरको नभए पनि केही नयाँ खोज्छन्। जुन नेपाली फिल्म मेकरहरुले दिन सकेका छैनन्।
अहिले कोरोनाकालमा नेपाली सिनेमाघरमा सूर्यवंशी, स्पाइडर म्यान : नो वे होम र पुष्पाको क्रेजलाई टक्कर दिन कठपुतली उत्रिएको छ हरर फिल्मबारे पुराना ढर्रालाई भत्काउँछु भनेर। फिल्म निर्माण पक्षको दाबी छ : यो फिल्म पुराना नेपाली हरर फिल्मभन्दा फरक छ। यसको कथा अर्गानिक छ। यसले दर्शकलाई तर्साउँछ।
सम्पदा मल्लले नेपाली लोक कथामै आधारित बनाएर फिल्म लेखेकी छिन्। जसले दर्शकहरुलाई आफूले सुनेको र देखेको केही भुतका किस्साहरु पक्कै याद दिलाउनेछ। उनले फिल्मबाट शासकको क्रुरता र दमनविरुद्ध महिलाको एकतालाई प्रदर्शन गरेकी छिन्। यद्यपि, उनले कथा मार्फत् दिन खोजेको सन्देश गौण छ। उनले फिल्मले कयौं अनुतरित प्रश्नहरु पनि छोडेकी छिन्।
फिल्मलाई ‘अर्गानिक’ बनाउन निर्देशक भीमसेन लामाले पनि राम्रै प्रयास गरेको देखिन्छ। तर, निर्देशनको पाटोमा उनले अझै मेहनत बढाउनुपर्थ्यो। हुन त सर्ट फिल्ममा काम गरिसकेका उनको यो फिचर फिल्ममा डेब्यु हो। त्यसैले उनको प्रयासलाई राम्रो मान्नुपर्छ। उनले नेपालको जातीय विविधता कठपुतलीमार्फत् देखाउन खोजेका छन्। यद्यपि, अझै राम्रो बनाउन सक्ने ठाउँ हुँदाहुँदै केही ठाउँमा त्रुटि गरेकोमा भने उनको आलोचनात्मक टिप्पणी हुनैपर्छ।
फिल्म राजपरिवारसँग सम्बन्धित छ। जहाँका क्रुर शासकविरुद्ध जनता आन्दोलनमा हुन्छन्। तर, जनताहरु गरिबीले भोकमरीले छटपटाइरहँदा स्वार्थी शासक आफ्नो सत्ता जोगाउन तल्लिन हुन्छन् भन्ने कथा यसमा छ। अन्तत: राजाले जनताको नरसंहार गर्न आदेश दिन्छन्। जसको विरुद्धमा उत्रिन्छन् युवराज (कर्मा)। तर, आफ्नै बुवासँग विद्रोह गर्न राजदरबारबाट बाहिरिँदा अकसमात् उनी दुर्घटनामा पर्छन् र आफ्ना बुवाले छाडेर हिँडेको भिरकोट दरबार पुग्छन्। त्यहीबाट कथाले दर्शक तर्साउन सुरु गर्छ।
राजाको यौन शोषकको शिकार भएकी महिलाहरुले बदला लिन कसरी कर्मालाई दरबारमा तर्साउँछन् र अन्तिममा राजा पुरुषहरुको संहार गर्छन् त्यो हेर्न लायक छ। तर, एकादेशको कथा भन्ने अनि फिल्मलाई ऐतिहासिक दृश्य दिन नसक्नु फिल्मको कमजोरी हो। फिल्ममा पहिला नेपालमा अञ्चल हुँदा दिइने गाडीको नम्बर प्लेट स्क्रिनमा टक्क देखाउनु निर्देशकीय र सम्पादकीय कमजोरी हो। यस्तै, कतिपय संवाद र दृश्यहरु दोहोरिएको अनुभूति हुन्छ। फिल्मको बिचबिचतिर पुग्दा दर्शकले कथाका पात्र र क्लाइमेक्स चाहिँ पक्कै थाहा पाउन सक्षम हुन्छन्। कौतुहलतालाई बिचमै मार्नु आफैँमा कमजोरी हो।
कथाले भन्न खोजेका कुरा धेरै छन्। हामीले सुन्दै आएका भूतप्रेत, तन्त्रमन्त्र र किचकन्याकै कथा हो कठपुलती। कसरी कठपुतलीमा मानिसको रौं र कपडा बाँधेर तन्त्रमन्त्रमा पारेर मानिसलाई प्रभावित बनाइन्छ भन्ने देखाइएको छ। कतिपय ठाउँमा कथाले के बुझाउन खोजेको हो दर्शकलाई सकस पर्छ बुझ्न। फिल्मको कथालाई बढी नै तन्काइएको छ जुन आवश्यक देखिँदैन।
कलाकारहरुको अभिनय बलियो छ। पात्रहरुको कुरा गर्दा मिथिला शर्मा र गौरी मल्लको अभिनय पहिला झै राम्रो छ। तन्त्रविद्या र यौनसँग जोडिएको छिरिङ रितारको फिल्म मुकुण्डोमा शर्मा र मल्लको अभिनय देखिएको थियो जसले निक्कै चर्चा कमायो। कठपुतलीलाई जिवन्त बनाउन यी दुई पात्रलाई रोज्नुका पछाडि निर्माण पक्षको स्वार्थ - उनीहरुको अब्बल अभिनय नै हो भन्दा हुन्छ।
कर्मा आफ्नै शैलीमा अभिनयलाई वास्तविक्तामा उतार्न सफल देखिएका छन्। यहाँ उषा रजकको भने तारिफ गर्नुपर्छ। नेवारी समुदायकी महिलाका रुपमा उनी देखिएकी छिन्। खासगरी उनको नेपालभाषा को ‘एक्सेन्ट’ले उनको अभिनयमा बल पुगेको छ।
फिल्ममा राम्रो पाटोहरु धेरै छन्। पहिलो त यसले ठप्प रहेको नेपाली फिल्मलाई ऊर्जा दिएको छ। ठूलो लगानीमा बनेको फिल्म होल्डमा हुँदा भारत र विश्वभर चर्चित फिल्महरुसँग भिड्न आउनु नै कठपुतलीको बलियो पक्ष हो। अर्को नेपालमा हरर जनरामा मौलिक कथामा नै फिल्म बनाउन सकिन्छ भनेर स्थापित गरेको छ। अर्को विशेष पाटो भनेको यसको सम्पादन हो। खासगरी नेपाली फिल्महरुले दर्शकलाई तर्साउन नसक्नुको कारण भीएफएक्स लगायत प्रविधिको प्रयोगमा कमजोरी नै हो। यो फिल्मले त्यसलाई पूर्ति गरेको छ। यद्यपि, फिल्मका अधिकांश दृश्यहरु अध्याँरोमा छायांकन हुँदा दर्शकहरुलाई कहिलेकाहीँ भूत खोज्नै गाह्रो भएको महसुस हुन्छ। सिनेमाटोग्राफी र पोस्ट प्रोडक्सन अझै राम्रो हुन सक्थ्यो।
कठपुतलीको बजार व्यापक छैन किनभने यो जुन जनरामा बनेको छ त्यसको बजार नेपालमा सीमित छ। दर्शकहरु पनि सीमित छन्। अझ कोरोनाकालकै बिच नेपाली फिल्म हेर्न दर्शक सिनेमा हल नपुगेको बेला कठपुतलीले दर्शकलाई हलसम्म भने दोहोर्याएकोले यसले जति व्यापार गर्छ त्यसलाई नेपाली फिल्म उद्योगमा हाललाई राम्रो मान्नु पर्छ।
अन्तत: आफैले सुनेका भूतका कथाहरु ठूलो पर्दामा हेर्न र तर्सिने हो भने चाहिँ कठपुलती हेर्न जाँदा हुन्छ।