काठमाडौं : हनुमानढोका दरबार क्षेत्रमा रहेको जीवित देवी कुमारी घरमा साढे छ वर्षअघिको भूकम्पले क्षति पुर्यायो।
भूकम्पको केही दिनमै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले कुमारी घरको निरीक्षण गरेका थिए। पश्चिमतिरको भाग जीर्ण बनिसकेको देखेर उनले कुमारी घरलाई पुनःनिर्माणको सूचीमा राख्न निर्देशन पनि दिएका थिए। कुमारी घरमा भूकम्पले गरेको क्षतिका बारेमा गुठी संस्थान, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाले छुट्टाछुट्टै प्राविधिक अध्ययन समेत गरेको थियो। तीनवटै निकायले एक-एक महिना लगाएर भवनको प्राविधिक अध्ययन गरेको ६ वर्ष बितिसक्दा पनि भवन भने टेकोका भरमा अडिएको छ। कुनै पनि निकायले पुनर्निर्माणमा चासो देखाएका छैनन्।
सनातनदेखि चली आएको यँया: (इन्द्रजात्रा)मा जीवित देवी कुमारीको पनि रथयात्रा गराउने चलनको सुरुआत मल्लकालमा भयो। कुमारीको रथयात्रा चलाउन कुमारी राख्ने घर जयप्रकाश मल्लका पालामा बनेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्य बताउछन्। त्यसपछि बेलाबेलामा भवनको मर्मतसम्भार गरिए पनि पुनःनिर्माण भएको छैन।
पच्चीस वर्षअघि चार इञ्चको चिल्लो इँटाको गारो बाहिरबाट थपिएकाले भवन नयाँ नै हो कि भन्ने लाग्छ। मल्लकालीन भवन भएकाले भूकम्पले भित्रभित्रै जीर्ण बनेको छ।
भित्री गारो जीर्ण भएकाले भवन जोखिममा परेको समितिले जनाएको छ। कुमारी घरको पश्चिमी भागमा भित्रबाट टेको लगाएर राखिएको छ। इन्द्रजात्रामा गुठी संस्थानले प्रयोग गर्ने कोठासमेत रहेको पश्चिमी भाग धेरै जीर्ण भएकाले नै तालाबन्दी गरी राखिएको छ। वसन्तपुर डबलीको भागमा भने बाहिरपट्टिबाटै टेकोका भरमा कुमारी घरलाई अड्याइएको छ।
'भवनको भित्री भाग चर्किएको छ। दलिन कुहिएको छ। वरिपरि टेकोका भरमा भवन अडिएको छ। भित्री चोकको टेको भने यसै वर्ष इन्द्रजात्रा बेला निकालियो। भर्याङ जीर्ण भएर हनुमानढोका दरबार हेरचाह अड्डाले बनाइदिएको छ। मूल भवन भने अझै बनाउने अत्तोपत्तो छैन', शाक्यले भने।
धेरै विदेशी पर्यटकको आवतजावत हुने वसन्तपुर डबली क्षेत्रमा राखिएको टेकोले नकारात्मक सन्देश प्रवाह गरे पनि पुनःनिर्माण नहुनु दुःखद् भएको स्थानीय बताउँछन्।
जीवित देवी कुमारीको घर बनाउन गत आर्थिक वर्षमै काठमाडौँ महानगरपालिकाले रु ५० लाख बजेट विनियोजन गरे पनि काम भने सुरु हुन सकेन। गत आर्थिक वर्षमा वडा नं २३ का अध्यक्षको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर काम अघि बढाउन खोजे पनि बजेट अपुग भएर काम सुरु हुन नसकेको हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख रोशन शाक्यले जानकारी दिए।
महानगरपालिकाले चालू आर्थिक वर्षमा कुमारी घर पुनर्निर्माणका लागि एक करोड बजेट विनियोजन गरेको छ। पुनर्निर्माणका लागि तीन करोड बजेट लाग्ने अनुमानित लागत यसअघि नै तयार गरिएको छ। पुनर्निर्माणको लागत एकैपटक जुटाउन नसक्दा काम हुन नसकेको दरबार संरक्षण कार्यक्रमले जनाएको छ। दरबार क्षेत्रका सम्पदा हेर्न महानगर र पुरातत्व विभागले फरकफरक निकायको स्थापना गरे पनि संरक्षणमा ध्यान नदिएको स्थानीयवासी सन्तबहादुर श्रेष्ठले बताए।