
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशन निर्वाचन प्रकृयामा प्रवेश गरेको छ। सहमति जुटाउन ५ बजेसम्म बन्दसत्र स्थगित गरेको माओवादीको निर्वाचन प्रकृया अगाडि बढाउन मतदाता नामावली टास्ने प्रकृया पूरा भएको छ।
केन्द्रीय सदस्य चयन गरेपछि त्यही केन्द्रीय सदस्यले पदाधिकारी चयन गर्ने व्यवस्था छ। निर्वाचन प्रकृयामा १ हजार ७ सय ४२ जना प्रतिनिधिको नाम टाँस गरिएको हो।
आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्र ५ बजेसम्मका लागि स्थगित गरेर नयाँ निर्वाचन प्रकृया थाले पनि सर्वसम्मत रुपमा केन्द्रीय सदस्य चयनको बाटो अपनाउने सम्भावना अधिक छ। त्यसैले निर्वाचनको प्रकृया सुरु भइसक्दा पनि समय तालिका भने सार्वजनिक गरिएको छैन।
यस प्रकृयाबाट २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ। आजमात्र संशोधन सहित पारित भएको पार्टीको विधान अनुसार केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट सदस्यहरू चुनिनेछन्।
महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिट्व्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ। पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ।
५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ। केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ।