
काठमाडौं : नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनमा केहीबेर अघि मतदाताको नामावली प्रकाशित भएको छ। उक्त नामावलीमा कसैको दावी विरोध भए त्यसका लागि डेढ घन्टाको समय निर्वाचन समितिले तोकेको छ।
निर्वाचन समितिका सदस्य गोविन्दबहादुर बटालाका अनुसार साँझ ६ बजेसम्म अन्तिम नामावली प्रकाशित गर्ने तयारी छ।
'बेलुका ५ बजेसम्म पार्टी अध्यक्ष प्रचण्डले समय माग्नु भएको छ,' निर्वाचन समिति सदस्य बटालाले भने, 'त्यस अवधिभित्र सहमति भयो भने अर्कै कुरा हो नत्र यसै अनुसार निर्वाचन प्रकृया अगाडि बढ्छ।'
सहमतिका लागि आज जारी रहेको बन्द सत्र साँझ ५ बजेसम्मका लागि स्थगित गरिएको छ। त्यसबिचमा स्थायी कमिटी बैठक र महाधिवेशन आयोजक कमिटीको बैठक बसिसकेको छ।
प्रचण्डको मागअनुसार निर्वाचन समितिले आफूलाई तयारी अवस्थामा राखेको छ।
माओवादी केन्द्रमा २ सय ९९ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। तीमध्ये ५० प्रतिशत समानुपातिक र ५० प्रतिशत खुला निर्वाचित हुने व्यवस्था छ। केन्द्रीय सदस्य हुने महत्वकांक्षी धेरै भएमा निर्वाचनमा जाने सम्भावना छ। यद्यपि, सर्वसम्मतको प्रयास भन जारी नै रहेको छ।
केही अघि निर्वाचन समितिले निर्वाचन प्रकृया अगाडि बढाउँदै १ हजार ७ सय ४२ जना प्रतिनिधिको नाम टाँस गरिसकेको छ। उक्त नाममा असहमति भए त्यसविरुद्ध उजुरीको व्यवस्था छ। बेलुका ६ बजे टाँस गरिने नामको सूचीपछि कुनै उजुरी लाग्ने छैन।
महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिट्व्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ। पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ।
५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ। केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ।