
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल सम्पन्न भएका छन्।
आज सम्पन्न पहिलो खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबमाथि २-१ गोलअन्तरको जित निकाल्यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टारलाई जित दिलाउन आयुस घलानले सातौं मिनेट र ऋतिक कुमार खड्काले २६ औं मिनेटमा गोल गरे। अर्कोतर्फ जावलाखेलका निकोलस फर्नान्डेजले ५५ औं मिनेटमा सान्त्वना गोल फर्काए।
त्यस्तै दोस्रो खेल पोखरा रंगशालामा मनाङ मर्स्याङदी क्लब र ब्रिगेड ब्वाइज क्लबबीच भएको थियो। उक्त खेलमा मनाङले अन्जन बिस्टको पहिलो हाफको इन्ज्युरी समयमा गोलमा १-० को संघर्षपूर्ण जित निकाल्यो। एएफसी कप छनोटको होडमा रहेको मनाङले भोलिको खेलमा मछिन्द्र क्लबको पराजयको कामना गर्नेछ।
त्यस्तै दशरथ रंगशालामा सम्पन्न तेस्रो खेलमा संकटा क्लब र च्यासल युथ क्लब गोलरहित बराबरीमा रोकिए। शीर्षस्थानको होडमा देखिएको संकटालाई रेलिगेशन क्षेत्रमा रहेको च्यासलसँगको पराजय भारी पर्ने देखिन्छ भने च्यासललाई संकटाविरुद्धको एक अंकले राहत दिनेछ।
आजको खेलसँगै मनाङ मर्स्याङदी क्लब १६ अंक जोडेर शीर्षस्थानमा रहँदा संकटा क्लब १३ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ भने १० अंक जोडेर थ्री स्टार तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। त्यस्तै जावलाखेल ७ अंक जोडेर नवौं स्थानमा रहँदा ब्रिगेड ब्वाइज ६ अंक जोडेर १२ औं स्थानमा छ।