PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

बाइबाइ २०२१ : पारसको सन्यास, ज्ञानेन्द्रलाई कारवाही र सन्दीपलाई कप्तानी



मुकुन्द घिमिरे

बाइबाइ २०२१ : पारसको सन्यास, ज्ञानेन्द्रलाई कारवाही र सन्दीपलाई कप्तानी

काठमाडौं : सन् २०२१ सकिएर २०२२ लागेको छ। नेपाली क्रिकेटको सन्दर्भमा भने यो वर्ष संक्रमणकालीन अवस्थाका रुपमा देखिएको छ।

मलेसिया र नेदरल्याण्ड्ससँगको सिरिजमा जित निकालेर सुखद् सुरुवात गरेको नेपालले विश्वकप लिग २ अन्तर्गतको अमेरिका र ओमनसँग सिरिज खेलेको थियो। जसमा दुई जित र दुई हार व्यहोर्‍यो। त्यही सिरिजका क्रममा नेपाली टोलीका प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिए। त्यसपछि प्रशिक्षकविहीन बनेको नेपालले पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षकका रुपमा भित्र्याएको छ।

यसबिचमा खेलाडी ग्रेडिङको विवाद चर्किँदा ज्ञानेन्द्र मल्ललगायत चार जना खेलाडी कारवाहीमा परे। र, सन्दीप लामिछाने नेपाली टोलीको कप्तान बने। यो विवादमा बोर्ड सदस्यहरु पनि मिसिए। प्रधानमन्त्रीसम्मले यो प्रकरणमा चासो दिए।

त्यस्तै फ्रेन्चाइज क्रिकेट एभरेस्ट प्रिमियर लिगमा शाहिद अफ्रिदी लगायतका विश्वका हस्तीहरुले नेपालमा आएर क्रिकेट खेले। पारस खड्का र अमिर अख्तरको विवाद पनि चर्किएर वक्तव्यबाजीसम्मै पुगेको थियो। तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले भने इपीएल खेलेनन्।

के के भयो त यो वर्ष?

क्रिकेटका सिरिज

अप्रिल महिनामा नेपालले नेदरल्याण्ड्स र मलेसियासँग काठमाडौंमा त्रिदेशीय सिरिज खेल्यो। जसमा फाइनलमा नेदरल्याण्ड्सलाई हराउँदै च्याम्पियन बन्यो।

सेप्टेम्बर महिनामा ओमनमा क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबिचको त्रिकोणात्मक सिरिज सम्पन्न भयो। प्रतियोगितमा नेपालले दुई जित र दुई हार निकाल्दै औसत प्रदर्शन गर्‍यो।

ह्वाटमोर गए, पुबुदु आए

सन् २०२१ जनवरी १ बाट कार्यान्वयन हुने गरि नेपाली क्रिकेट टोली सम्हाल्न डेभ ह्वाटमोर नेपाल आएका थिए। सन् १९९६ मा श्रीलंकालाई विश्वकप जिताएका प्रशिक्षक ह्वाटमोरले श्रीलंका, बंगलादेश, पाकिस्तान, जिम्बावे जस्ता हेभिवेट टिमहरु सम्हाले थिए। उनी नेपालको हालसम्मका हेभिवेट प्रशिक्षक थिए। यद्यपि उनले सेप्टेम्बरमा सम्पन्न ओमन सिरिजपछि प्रशिक्षकको भूमिकाबाट राजीनामा दिए। त्यसपछि प्रशिक्षक विहीन बनेको नेपाली टोलीका लागि क्यानले पुवदु दासानायकेलाई मुख्य प्रशिक्षक बनाएको छ। उनी हाल नेपाल आइसकेका छन्।

क्रिकेटको विवाद उत्कर्षमा

यो वर्षको अन्त्यसम्मका नेपाली क्रिकेट निकासविहीन भएर अड्किएको छ। सोमपाल कामीको ग्रेडिङलाई लिएर सुरु भएको खेलाडी र क्रिकेट संघको विवादले उग्र रुपमा लिँदा ज्ञानेन्द्र मल्लको कप्तानी र दीपेन्द्रसिंह ऐरीको उपकप्तानी खोसिएको छ। साथै चार जना खेलाडी कारवाहीमा परेका छन्। अन्य केही खेलाडीले कारवाहीमा परेका खेलाडीको समर्थनमा ऐक्यवद्धता जनाइरहेका छन्।

ज्ञानेन्द्र मल्ल लगायतले पत्रकार सम्मेलन नै गरेर कारवाही पुनर्विचार गर्न आग्रह गरेका छन्। यो प्रकरणमा प्रधानमन्त्रीले पनि चासो दिइरहेका छन्। क्यानको बोर्डकै केही सदस्यहरुले खेलाडी कारवाही र अन्य गतिविधिलाई लिएर नेतृत्वको चर्को विरोध गरेका छन्।

कप्तान सन्दीप लामिछाने

विश्व क्रिकेटमा चर्चित नेपाली नाम हो सन्दीप लामिछाने। विश्वका लगभग सबैजसो प्रतिष्ठित फ्रेन्चाइज लिग खेलिसकेका लामिछानेले क्यान र खेलाडीको विवादकाबिच कप्तानको भूमिका पाएका छन्। सिनियर खेलाडी र सन्दीपकै ब्याचका खेलाडीहरु क्यान विरुद्ध उत्रिँदा उनको कप्तानी कति सफल होला यो आउने केही दिनमा देखिनेछ।

पारसको संन्यास

कुनै समय नेपाली क्रिकेटकै 'पर्याय' बनेका थिए पारस खड्का। ओझेलमा रहेको नेपाली क्रिकेटलाई विश्वसामु चिनाउन उनले खेलेको भूमिकाले नै उनलाई क्रिकेटको 'पर्याय' बनाएको थियो। उनै पारसले यहीवर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। उनको 'रिटायरमेन्ट' घोषणासँगै खेल क्षेत्रमा तरंग उत्पन्न भएको थियो।

३३ वर्षे पूर्व कप्तान खड्काले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका थिए। डिभिजन ५ बाट आफ्नो कप्तानीमा नेपाललाई एक दिवसीय टुर्नामेन्ट (ओडीआई) सम्म डोहोर्‍याएका पारसको संन्यासलाई नेपाली क्रिकेटमा एउटा 'युग'को अन्त्य भएको रुपमा क्रिकेट प्रेमीहरुले व्याख्या गरेका छन्।

१५ वर्षको उमेरदेखि नै राष्ट्रिय जर्सीमा देखिएका पारसलाई नेपाली क्रिकेट इतिहासको सफल कप्तानका रुपमा लिइन्छ।

नेपाल क्रिकेट संघ क्यानको नेतृत्वमा आउने पारसको चाहना अहिले चर्चामा छ। क्यानको विधान बमोजिम आगामी निर्वाचनमा उम्मेद्वारी दिनका लागि खेलबाट संन्यास लिएको दुई वर्ष अवधि पूरा भएको हुनुपर्छ। त्यसैलाई मध्यनजर गर्दै पारसले संन्यास लिएको भन्ने चर्चा क्रिकेट वृत्तमा चलेको थियो। पछि खड्काले पत्रकार सम्मेलन गर्दै क्रिकेटको नेतृत्वमा आउने आफ्नो चाहना भएको बताएका थिए।

फ्रेन्चाइज लिग

अघिल्लो वर्ष कोभिड १९ संक्रमणका कारण स्थगित भएको एभरेस्ट प्रिमियर लिगले यसपाला राम्रो चर्चा कमायो। टेस्ट राष्ट्रका चर्चित विदेशी खेलाडी खेलाडीहरु आएर नेपालमा खेल्दा नेपाली क्रिकेट टोलीका पूर्वकप्तानहरु पारस खड्का र ज्ञानेन्द्र मल्लले भने सहभागिता जनाएनन्। पाकिस्तानी टोलीका पूर्व कप्तान शाहिद अफ्रिदी टीयू क्रिकेट मैदानमा उत्रँदा दर्शकहरुको उत्साह हेर्नलायक थियो। फाइनलमा पोखरा राइनोजलाई हराउँदै चितवनले उपाधि जितेको थियो।

महिला टीम विश्वकप छनोटमा असफल

नोभेम्बर महिनामा आईसीसी महिला टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटबाट नेपाललाई नेपाललाई प्रबल दावेदार मानिएको नेपालले यसबाट अघिल्लो चरणमा पुग्न सकेन।

छनोटका लागि नेपाल, युएई, मलेसिया, हङकङ, भुटान र कुवेत प्रतिस्पर्धामा थिए। जसमध्ये पाँच खेलमा शतप्रतिशत जित निकाल्दै युएईले ग्लोबल क्वालिफायर्समा स्थान सुरक्षित गरेको छ। नेपालले युएई र हङकङसँग पराजय व्यहोरेको थियो भने भुटान, कुवेत र मलेशियामाथि जित निकालेको थियो।

यू १९ को फितलो प्रदर्शन

टेस्ट राष्ट्रहरुलाई हराएर अचम्मित पार्ने लक्ष्यका साथ यूएई पुगेको नेपाली टोली तीन खेलमा सबै खेलमा पराजय व्यहोर्‍यो। नेपालले आफ्नो समुहमा रहेका बंगलादेश, श्रीलंका र कुवेतसँग पराजय व्यहोर्दै जितविहीन बनेर स्वदेश फर्किएको थियो। नेपाल रहेको समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाउँदा अर्को समूहबाट भारत र पाकिस्तानले अर्को चरणमा स्थान बनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell