PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

अमेरिकाको अस्पतालमा मिलेको दोस्रो जन्म र चन्दाले दिएको चोट!



विष्णुहरि घिमिरे

अमेरिकाको अस्पतालमा मिलेको दोस्रो जन्म र चन्दाले दिएको चोट!

'ह्याप्पी न्यू इयर, बिष्णु।'

पहिलो वाक्य सुनेँ। सँगै सुनियो - बधाई छ नयाँ जीवनका लागि।

सेतो गाउन त्यसमाथि प्लास्टिकले ढाकिएकी थिइन् उनी। कोठा ज्यादै चहकिलो लाग्यो। हेर्न पनि सकसपूर्ण। अलमलमा थिएँ म।

को हुन् उनी?

कहाँ छु म?

अनि नयाँ जीवन? के भन्छिन् उनी? ठम्याउने आधार मेरासामु थिएनन्। आखिर यो सब के भइरहेको छ? रन्थनिएको छु म। अनुत्तरित प्रश्नको जवाफ सोध्न खोज्दै थिएँ। उनी ढोकाबाट गायव भइन्।

आँखाबाहेक शरीरका अङ्ग चलेको अनुभूति भएन। आँखाले नाकतिर हेर्दा छोपिएको जस्तो लाग्यो। शरीर पूरै सेतो कपडाले ढाकिएको छ। बोल्न खोजेँ मुखमा केही अल्झिएको थाहा भयो। जिब्रो चलाएँ। हो त ! मुखमा केही छ - पाइप जस्तो।

साह्रै नमिठा ध्वनी कानमा परिरहेछ - ट्या ट्या…. टुँ टुँ... गुन्जिरहेछ झर्को लाग्नेगरी। शरीर अरठ्ठ। के गर्ने? अत्तालिरहेको छु।

एक हुल मान्छे भित्र आए। उनीहरु के के कुरा गर्दै थिए ठम्याउन सकिन। कसैको अंङ्ग देखिँदैन थियो। कोरोना महामारी शुरु भए पछि टेलिभिजनका पर्दामा देखिएका जस्ता मानिस मेरै आगाडि थिए। म झन् झस्किएँ। आँखा र कानबाहेक शरीरका कुनै पनि अंगले काम गरेको अनुभूति छैन। शरीरले प्रतिक्रिया नै दिएको छैन। सिलिङ हेर्नुबाहेक विकल्प पनि छैन।

भित्तामा झुन्ड्याइएको टेलिभिजनमा प्रोमोसहित आताशवाजीका दृश्य देखेँ। सन् २०२० ले बिदा लिएको एकाध घण्टा भएको हुनुपर्छ दृश्य देख्दा। नयाँ वर्षलाई स्वागत चल्दै रहेछ।

ठीक त्यतिखेर मेरो परिवारमा नयाँ वर्षकोभन्दा ठूलो खुशीको खबर पुगेछ। सन् २०२१ ले पाइला टेक्दैगर्दा २२ रातपछि मैले आँखा खोलेको रहेछु।

अमेरिकाको पेन्सिलभेनिया राज्यको हर्सी। पेन स्टेट हेल्थ सेन्टरमा रहेछु म। नियमित बस्दै गरेको ल्यानक्यास्टर भन्दा ४५ मिनेटको दुरीमा रहेछ यो अस्पताल।

जनवरी १ तारिक २०२१ बिहान मेरो मुखमा लगाएको पाइप निकालियो। ओठ सुख्खा। असजिलो महसुस भएपछि चिसो कटनले पुछिदिए। नाकमा कोचेको ठूलो बुझोलाई मसिनो पाइपले रिप्लेस गरिदिए।

बिस्तारै थाहा पाएँ - घाटीमा ६ र छातिमा ४ वटा प्वाल पारिएको रहेछ।

बिस्तारै सासले बोल्नसक्ने भएँ।

म किन यहाँ छु?

मेरो परिवार खोइ?

यी दुई प्रश्नबाहेक केही बोल्न सकिन। जिब्रो चल्न मानेन। आँखबाट आँसु बगिरह्यो।

'तपाईँ गम्भीर विरामी भएर यहाँ ल्याइएको हो। तपाईँका परिवार सुरक्षित छन्। चिन्ता नमान्नु।' नर्सको बोली सुनियो।

आँतले अत्याएको त्यो क्षण

सन् २०१९ को दशैं-तिहारपछि नै पेटमा असहज अनुभूति भयो। सानोमा काँचो आरु वा आँप खाँदा रातो वा सेतो मासी देखिन्थ्यो। यहाँ त्यस्तै हुन थाल्यो। चाडबाडमा अलि बढी नै खाइयो क्यार! दुई तीन हप्तासम्म पनि समस्या समाधान भएन। डाक्टरकहाँ पुगेँ। कोलोनोस्कोपी गरियो। रिपोर्टले सबै ठीक छ भन्छ तर हालत बीसको उन्नाइस छैन।

काठमाडौंमा २० वर्ष बस्दा डाक्टर ऋषि कोइराला पारिवारिक चिकित्सक। उनलाई यहाँबाट रिपोर्ट पठाएँ।

'तिम्रो आन्द्रा अलि डराएका छन्। म निको बनाउँछु। नआत्तिनु। ६ महिना नियमित औषधी खानु पर्छ,' डाक्टर कोइरालाको भनाईले राहात दियो।

शुरुमा तीन महिनाको औषधी नेपालबाट झिकाएर खाने सल्लाह भयो। औषधी शुरु गरेको एक सातामा नै सकारात्मक प्रभाव। तर, कोरोनाका कारण विश्वव्यापि लकडान त्यही बेला शुरु भयो। बाँकी तीन महिनाको औषधी काठमाडौंमा नै रोकियो। औषधी सकिएको एक महिनापछि समस्या झन् चर्कियो। दिनमा १०/१२ पटकसम्म ट्वाइलेट जानुपर्ने र रगत आउने! जुलाईमा दोस्रो पटक कोलोनोस्कोपी भयो। यस पटक 'अल्सरेटिभ कोलाइटिस' (ठूलो आद्रामा हुने रोग) रिपोर्टमा बोल्ड अक्षरमा थियो। पाचन प्रक्रिया खलबलाउने, मान्छे रातारात दुब्लाउने। डरलाग्दो रहेछ यो रोग।

कोरोना महामारीको विगविगी। अस्पताल, डाक्टरको पहुँच असहज। डाक्टर क्लिफर्ड लोम्बाइले खाने औषधी दिए। यस्तो कडा औषधी दिएछन कि एकै रातमा सुगरको मात्र तेब्बर बनायो। बिहान उठ्दा चक्कर लाग्यो। फोनमा डाक्टर कोइरालाको म्यासेज रहेछ - 'पेटका लागि दिइएको औषधीले त्यसले सुगर बढाउछ। तलाईँ खतरा हुन्छ। तत्काल डाक्टरलाई सम्पर्क गर्नु।'

सुत्नु अगाडि उनलाई अपडेट गराएर सुतेको थिए। तत्काल इमरजेन्सी गए। झण्डै ६ घण्टापछि घर पठायो।

अनि सुईले सुतायो

पेटको समस्या सुल्टिने लक्षण देखिएन। एक महिना औषधी खाएपछि डाक्टर लोम्बाइले एउटा खोपको सिफारिस गरे - 'हुमेरा'। हरेक दुई सातामा लगाउनुपर्ने। अरु डाक्टरसँग सल्लाह गरेँ। डाक्टर कोइराला सम्पर्कमै थिए। उनीबाहेक अन्य दुई डाक्टरको राय दिए सुई लगाउन।

पहिलो डोज लगाएको चार पाँच दिन पेटले आराम पायो। त्यस बिच एक महिना काम पनि गरेँ। चौथो डोज लिनु चार दिन अगाडि ज्वरो आयो। सिजनल हुनसक्छ। तर तापक्रम घट्न मान्दैन। कोरोना टेष्ट गराएँ। रिपोट आयो - नेगेटिभ। हरेक ८/८ घण्टामा ज्वरो नियन्त्रण गर्ने ‌औषधी लिएँ।

'सास फेर्न मुस्किल नभए सम्म घरमै आराम गर' - डाक्टरको सुझाव लगायत एकै।

१२औं दिन पनि ज्वरो हटेन। शरीर शिथिल। इमर्जेन्सीमा गएँ - यस पटक भर्ना लियो। आठौं दिनमा डिस्चार्ज। यूपीएमसी लिटिज अस्पतालको कमजोरी वा मेरो दुर्भाग्य। ज्वरो त हट्यो तर के कारणले ज्वरो आएको हो र कसरी हट्यो भन्ने निक्यौल नै नगरी घर पठाए।

अक्टोबर २९, २०२० मा घर आएँ। बिचमा के के भयो याद छैन। अस्पतालबाट डिस्चार्ज भएको थाहा छ। त्यसबिचमा केके होस् रहेन। धेरै साथीसँग कुराकानी पनि गरेको रहेछु - कल रेकर्ड हेरेपछि थाहा पाएँ। बेथाले झन् च्याप्दै लगेछ। पारिवारिक डाक्टरले थेरापीको सिफारिस गरेछन्। डिसेम्बर १० मा छोराले थेपारी सेन्टरमा लगेछ। फेरि ज्वरो बढेर त्यहीँबाट लिटिज अस्पताल लगिएछ। लिटिलले दुई रात राखेर उपचार गर्न नसक्ने भए पछि हर्सी पठाएको रहेछ। हुमेरा सुईको साइड इफेक्टले गर्दा मलाइ मिलिरिया नामक घाततक क्षयरोगले छोएछ। लगातार २२ रात कोमामा पुग्नुको कारण त्यही बन्यो।

रिपोर्ट हेर्दा झसङ्ग : कुनै अङ्ग काम गर्दैन!

'मस्तिस्कमा गम्भीर प्रकृतिका घाउ छन्। कलेजो, फोक्सो र मृगौला संक्रमित। नशामा समस्या छ। पक्षघात छ। आँखामा दाग देखिएको छ।'

अहिले रिपोर्टहरु पल्टाउँदा आफैँ झस्किन्छु।

भेन्टिलेटरमा राखेकै बेला १५ तारिक राति घरमा गएको फोन भयपूर्ण रहेछ

'आधा घण्टा भयो मुटु पनि चल्न छोडेको। हामी जे पनि सन्देश दिन सक्छौं। तयार रहनु होला।'

मृत्यु सरह थियो संदेश।

'इज मेडिकल मिराकल, तँ अचम्मसँग बाँचिस,' पछि मलाई एक नर्सले सुनाइन्।

सोधेँ, 'कसरी?'

'१५ तारिकमा अब भो धेरै दु:ख नदिने भन्ने नै भइसकेको थियो। त्यति नै बेला मेशिनले संकेत गर्‍यो - तँ ज्युँदै छस्।'

लामो सास तान्दै मैले फर्काएँ - 'यो त तिमीहरुको मेहेनत। धन्यवादबाहेक के दिन सक्छु र!'

डाक्टरका अनुसार हामी दक्षिण एसियालीको शरीरमा टीवीका जिवाणु सदैव रहन्छ। हुमेरा सुइले मेरो रोग प्रतिरोधात्मक क्षमता निमिट्यान्न पारिदियो। त्यही मौकामा टीवीका जिवाणुले रजाइ गर्‍यो।

+++

नयाँ वर्षको पहिलो बिहान आँखा त खोलेँ। चहकिलो कोठामा अन्धाकारमात्र देख्छु। धेरै कुरा सम्झन सकिन। अङ्ग चल्दैन। मृगौलाको पटकपटक डायलासिस भइसकेको रहेछ। त्यसै पनि डायवेटिजको १२ वर्षदेखिको विरामी। अनि डाइलसिस। शरीर चल्दैन। नर्ससँग याचना गरेँ - मरेँ भने त परिवारको मुखै हेर्न पाउँदिन।

दिउँसो भिडियो कलबाट घरमा कुरा भयो। शुरुमा त मान्छे चिन्नै गाह्रो।

मलाई एम्बुलेन्समा अस्पताल लगेपछि छोरो घर फर्किएछ। भोलिपल्ट बिहानै श्रीमती यमुना अस्पताल आइछिन्। म छटपटाउने, बरबराउँदो रहेछु। आमालाई बोलाउन जोड गरे रे!

होस् हराएकाले हुनुपर्छ। नत्र १३ वर्ष अगाडि देहान्त भएकी आमालाई म अस्पतालमा किन खोज्थेँ?

दिनभर अन्यौल। धन्न अस्पतालमा कार्यरत नेपाली नर्स रिन्कु रानाले ठूलो सहयोग गरिछिन्। दाजु सन्जिव घिमिरे र भाउजु जोत्सनालाई अस्पताल जानै दिइएनछ। घरमा दुई नावालक छोरा छाडेर रिन्कुले नियमित १२ घण्टे ड्युटी भ्याएर मेरा लागि अर्को पाँच घण्टा समय! भोलिपल्ट बिहानै सात बजे उनको ड्युडीको सेड्युल रहेछ।

मेरो अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा लगिएछ। रिक्कु दिदीकै सहयोगमा श्रीमती मध्यरातमा घर आइन्। सन्जिव दाइ र जोत्सना भाउजुले छोराहरुलाई सान्त्वना दिँदै थिए रे! सोही समय तीन घण्टा टाडा रहेका बहिनी कल्पना घिमिरे, ज्वाइ पारस भारद्वाज आइपुगेछन्।

'मरिजानेलाई के थाहा यहाँ बाच्नेको पीडा,' कतै पढेको थिएँ।

म त बहोस् भएर लडिरहेँ। घरको स्थिति कस्तो थियो होला?

भिडियोमा सबैलाई एकै ठाँउ देखेर अकमक्क परेँ। मान्छे चिनेचिने जस्तो लाग्यो। यी सबै कसरी एकै ठाँउमा? सबै भन्दा पहिला भान्जी प्रसिद्धिलाई चिनेँ। त्यसपछि कान्छो छोरालाई चिनेपछि आँखाबाट आँशु बग्न थाल्यो।

लाग्यो मृत्यु नै प्यारो

आफ्नो हालत सम्झेर दिग्दारी लाग्ने। शरीर चल्दैन। किन मलाई अस्पताल राखेको? गाली गर्दोरहेछु। नर्स र डाक्टरसँग पनि गुहारेछु - मलाई घर पठाइदेउ।

होस आए पनि अर्धमात्र। शरीरमा सासमात्र चल्नुभन्दा मर्नु ठीक भन्ने मनमा आयो। उठ्न खोजेँ। सिकिन। दाहिने हात चल्न थालेको थियो। छातीमा टाँसिएका तारहरु थुत्न थालेछु। मेसिनले संकेत गर्‍यो, सायद। नर्सहरु आए। हातमा बक्सरले गलाउने ग्लोब्स लगादिए।

अहिले रिपोर्ट हेर्छु - डाक्टरले गरेको मेहनत ओहो! सबैभन्दा धेरै त नेपाली डाक्टर रश्मी बन्जाडेको मेहनत रहेछ। उनले आफ्नो ड्युटी अन्यत्रै पर्दासमेत लन्च ब्रेकको समय मेरा लागि दिन्थिन्।

'नआत्तिनुस् बिस्तारै सबै ठीक हुन्छ।'

सुरुदेखि नै मेरो केश उनले नै हेरेकी रहिछिन्। परिवारसँग पनि दैनिक सम्पर्क हुनेरहेछ उनको।

अर्का दुई डाक्टर पाकिस्तानी मुलका मुनिमा नासिर र सायद बुकहरि। मुनिमा नासिर त पाकिस्तानबाट दुवई हुँदै अमेरिका आएकी रहेछिन्।

मेरो हिम्मत टुट्दै गर्दै सम्हाल्ने यिनै थिए।

'विष्णु मान्छेले जीवन एक पटक पाउँछ। तर, तिमीले त दुई पटक पाएका छौ। के अब यो सुनौला अवसर तिमी फुत्काउँछौ?'

नासिरले भनेको यही वाक्यले मलाई उद्दार गर्‍यो। आत्महत्याको सोचबाट अलग गरायो। मलाई आफ्नोफ ज्यानको माया लाग्ने बनायो।

'हामीले गर्ने गरिरहेका छौं। अब यसभन्दा बढी गर्न तिम्रो सहयोग चाहिन्छ। तिमीले आफूलाई हेरेर मात्र हुन्छ? तिम्रा छोरा हेर। जहान हेर।'

उनको बोलीले मेरा आँखा टिलपिल गरायो। वाक्य फुटेन। सहमतिमा टाउको हल्लाएँ। त्यसपछि बाच्नुपर्छ भन्ने मनमा आउनथाल्यो। दुवै हिन्दीमा बोल्थे, मलाई बुझ्न सहज हुनेगरी।

बिस्तारै औंला चलाउने प्रयास गरेँ। शरीर सुन्निने र घट्ने भइ नै रहेछ। रिपोर्ट हेर्दा देखेँ - २४ घण्टामा नै शरीरको तौल ७/८ पाउण्ड तलमाथि भएको रहेछ। फलोअपमा जादा डाक्टरलाई सोधेको थिएँ। पानीको मात्रले त्यस्तो भएको सुनाए।

तेस्रो पटक आइसीयुमा नआउनु!

मबाट अरुलाई टीवी सर्ने सम्भावना टरिसकेको थियो। आराम चाहिँ लामै समय गर्नुपर्ने।

'छ महिनादेखि दुई वर्षसम्म लाग्छ शरीरका सबै अङ्ग पूर्ववत रुपमा काम गर्न। नआत्तिनु। अर्को साता रिह्याव सेन्टर पठाउँछौं। त्यहीँबाट घर जानु,' जनवरी तेस्रो सप्ताहन्त डाक्टर सायदले भन्दै गर्दा मन चङ्गा भएको थियो।

बेलुका मलाई वार्डमा सारियो। कोठा साह्रै साघुँरो। अत्यास लाग्ने मेसिनका आवाज आइरहने। त्यसै रातिदेखि लगातार खोकी लाग्न थाल्यो। दिउँसो त रगत नै देखियो। नर्सलाई बोलायो, कोही आउँदैन।

साँझ छोराले फोन गर्दा बोल्न नसक्ने भइसकेको रहेछु। छोराले डाक्टरलाई फोन गरेर मेरो बुवाको अवस्था जटिल भएछ, नर्सले केयर गरेको छैन भनेर गुनासो गरेछ। त्यस बेलासम्म धेरै ढिलो भइसकेको रहेछ। मलाई सास फेर्नै गाह्रो भइरहेको थियो। सानो कोठा मान्छे धेरै, झन् आत्तिँदा कठिन भयो।

'भगवान! म यसभन्दा धेरै यातना सहन सक्दिन माफ गर।'

त्यसको दुई दिनपछि फेरि आईसीयूमा नै आफुलाई पाएँ। त्यस एक रातले मेरो अस्पताल बसाई अर्को एक महिना लम्बियो। त्यसपछि मलाई वार्डमा पनि विशेष निगरानीका साथ राखियो। दोस्रो पटक आईसीयूबाट निस्किँदैगर्दा नर्सहरु भन्दै थिए - 'नो मोर थर्ड टाइम इन आईसीयू।'

+++

५४औं दिनपछि श्रीमतीसँग प्रत्यक्ष भेट भयो। त्यसको एक दिन अगाडि पारसजीलाई भेट्न पाएको थिए। समग्रमा ७५ दिनपछि घर आएँ। त्यस अगाडि अर्को दुई घटना पनि अनौठो रह्यो। नर्सहरु साह्रै सज्जन। होसमा आएको ६ हप्ताभन्दा बढी समय खानदेखि सौचसम्म असक्षम थिएँ। ओछ्यानबाटै उठ्न सक्दैनथेँ। नर्सहरुको सेवा लिँदा ग्लानी महसुस हुने। उनीहरु झर्को मान्दैन थिए।

तर, सबै उस्तै कहाँ हुन्थे? दुई जना यस्ता नर्स भेटिए जो अजिव थिए। एकजना मध्यपूर्वकी थिइन्, जबरजस्ती हिँडाउन खोज्ने। दैनिक शरीरबाट रगत निकालेर परीक्षण गर्नुपर्ने थियो। त्यसका लागि स्थायी ठाँउ नै बनाएका थिए। तर उनी सिरिन्जले नै रगत निकाल्ने।

'दुख्यो भनिस् भने झन् दुखाइदिन्छु' भन्थिन्।

अर्को एक रात मलाई अचानक चिट्चिट पसिना आयो। ओड्ने कुरा न म आफैँ ओड्न सक्थेँ न त फाल्न नै। साथमा घण्टी थियो। दुई तीन पटक बजाएपछि एक अधवैसे नर्स आइन्।

'गाह्रो भयो। पसिना आएको छ। ज्यान पनि दुखेको छ,' भनेँ।

उनले ओड्ने हटाइदिइन। हिटर पनि बन्द गरिदिइछन्। तर समय जाडोको थियो।

एकछिन पछि त लुगलुग काँप्न थालेँ। जाडो हुनथाल्यो। गोडामुनि ओड्ने छर तर, तान्न सक्दिन। नर्स बोलाउने घण्टी त गायव! राति बोलाइरहन्छ भनेर होला घण्टी नै लुकाइछिन्।

'अब सकिएँ' भन्ने भयो। निरीह भएँ। बिहान नियमित ‌औषधी खुवाउने नर्स आउँदा ज्यान पुरै चिसो। बोल्नै नसक्ने भइसकेको। उनले छिट्छिटो तातो कम्वल ल्याइदिइन। हटब्याग पनि ल्याइन। त्यसपछि हालतमा सुधार आयो।

साथीको साथ, चन्दा र व्यापार

रिहाव अस्पतालमा १२ दिन बसेपछि वाकर समात्दै बाथरुमसम्म जाने भएँ। फ्रेब्रुअरी २३ तारिक घर आइपुगेँ। अस्पतालमा हुँदा धेरै साथी सम्पर्कमा आउन थालेको थिए। अस्पाताल पुगेकै राति नेपाल पुगेका पत्रकार साथी विजय पौडेलले फोन गरेका रहेछन्। मैले कुरा गर्न नसकेको रहेछु।

त्यसपछि उनले विमल मोक्तान र विनोद मोक्तानलाई खबर गरेछन्। आफैँ स्वास्थ लाभ गरिरहेका मोक्तान दाजुभाइ, डाक्टर केशव भण्डारी र राज कालाखेतीले एक घण्टाभन्दा लामो दुरी छिचोल्दै पटकपटक मेरो घरमा आएर परिवारलाई ढाढस दिएका रहेछन्। डाक्टर केशव पौडेलले पनि चिकित्सा क्षेत्रमा मिलेसम्म सहयोग गरेछन्। डाक्टर बन्जाराले र पौडेल दुवै टीयुका विद्यार्थी भएर पनि मलाई सजिलो भयो ।

अमेरिका फर्केपछि विजयजीको परिवार, तारा भट्टराई, सुनिल जोशी, अरु पनि धेरै पत्रकार साथीहरु घरमा आए। कतिले फोन मार्फत् त कतिले समाजिक सञ्जाल मार्फत् सुभेच्छा र प्रार्थना गरेका रहेछन्। त्यस्ता कुराले रिकभरीका लागि ठूलो सहयोग पुग्ने रहेछ - बाच्नुपर्छ भन्ने हौसला आउने रहेछ।

जब जुलाई अन्तम साता भर्जिनिया पुगेँ - छाँगाबाट खसे जस्तो भएँ। जीवन बेकार लाग्न थाल्यो। मलाई सामाजिक सञ्जालमा दु:ख बाड्न मन पर्दैन। रोनाधोना मन पर्दैन प्रष्ट भन्दा। हो, नेपालमा विकल्प छैन तर अमेरिकामा पनि केही घटना भयो कि चन्दा उठाउने खराब चलन। भर्खर आएकाहरुलाई समस्या पर्न सक्छ तर वर्षौं अमेरिका बसेका पनि चन्दा उठाउन थालिहाल्ने!

त्यस्तो नहोस् भनेर नै मैले शुरुदेखि नै जीवन बिमादेखि स्वास्थ बिमा गरेको थिएँ। तर, जे नहोस् भनेको थिएँ त्यही भएको रहेछ। एउटा खराब समयबाट गुज्रिँए भनेको त अर्को शुरु भइरहेको रहेछ।

म अस्पताल भर्ना भएपछि डाक्टर अविन ओझा, नेपालमा हुँदा कान्तिपुर टेलिभिजनका सहकर्मी बद्री गौतम, राजु तिमल्सिना लगायतले 'केही त गरौं' भनेर लागेछन्। गुणराज लुइटेलहरुले पनि साथLलाई पर्दा गर्नपर्छ भनेर लागेछन्। कोर टिमका साथी साथीले सकेको सहयोग गर्ने तय भएछ।

अमेरिकामा पत्रकारहरुको दुईवटा संस्था छ - नेपाल अमेरिका पत्रकार संघ (नेजा) र अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (इन्जा)। गुणराजजी इन्जामा, म नेजाको सदस्य।

'व्यक्तिगत रुपमा एउटा साथीलाई पर्दा अर्को साथीले सहयोग किन नगर्ने? भोलि हामीलाई पनि पर्दा बिष्णुजीले सहयोग गर्नुहुन्छ।'

बहिनी कल्पनालाई मैले अस्पतालकै बेडबाट के भएको हो भनेर सोध्दा पाएको जवाफ यही थियो। पछि डाक्टर ओझा, गुणराज, बद्री, राजु सबैबाट त्यही जवाफ पाएँ - चन्दा भनेर गरिएकै होइन।

पैसाले कहिले पुग्छ र? गुजारा चलेकै थियो। साथीहरुले मनले दिएको सहयोग ठीकै छ भन्ने भयो। त्यस समयमा धेरै सोच्ने अवस्था नै थिएन। फेरि ऐचो, पैचो, भार पर्म चलाएरै हुर्केको परेँ।

साथीहरुले व्यक्तिगत सहयोग भनेको विषयमा बिचमा नेजा मिसिएछ। त्यसपछि नाफा, घाटा, व्यापार र राजनीति सबै त्यसैभित्र अटाएछ।

साथीहरुले गरेको सहयोग रकमलाई मैले नचलाउनु, बैकको लकरमा राख्नु भनेको थिएँ।

म मरिगए भने पनि ४-५ वर्ष जीवन निर्वाह हुने व्यवस्था हुने गरि जीवन बिमा गरिदिएको छु। नियमित स्वास्थ बीमा लिएकै थिएँ। शारीरिक रुपमा अक्षम भएँ भने सामाजिक सुरक्षा भत्ता दावी गर्न मिल्थ्यो। छोराहरु हुर्कँदै छन् - पैसाले पुग्ने होइन गुजरा चलाउने हो।

+++

म मेरो बातिरको २२ औ सन्तान। आमापट्टिको दशौं। मेरो बालाई अन्तिम समयसम्म पनि मुख्य पीर भनेकै सन्ततीले मागेर खान नपरोस् भन्ने थियो। आमा बाराम्बार त्यही कुरा दोहोर्‍याउने। बाले सित्तैको कुरा लिन हुँदैन भन्ने कुरा भित्रै गढेको। जीवनमा हात पसारेर खान नपरोस् नै भन्ने थियो। त्यही डरले नै हुदाँ खादाको पेशा जोडेर विदेशिएको थिएँ।

तर भर्जिनियामा नेजाको अधिवेशनमा रातरात सबै कुरा उल्टो भयो। व्यक्तिगत सहयोगलाई चन्दामा रुपान्तरण गरेर दस्तावेज बनाइयो। मलाई 'बिचरा' बनाएर नेजाको इतिहासमा ठूलो काम गर्‍यौं भनियो। बन्दशत्रमा ताली पिटियो।

एउटा अपराधीलाई त तेरो अन्तिम इच्छा के छ भन्ने गरिन्छ। तर, त्यहाँ पूर्व जानकारी केही दिइएन। मेरो नाममा चन्दा उठाउने अधिकार कसले दियो? अनुत्तरित नै भयो। गिफ्ट र डोनेसन फरक कुरा हुन्। पहिला गिफ्ट भन्ने पछि डोनेसन भनेर दस्तावेज तयार पारियो।

दोस्रो, पत्रकार साथीबि सीमित भनिएको थियो सहयोग उठाउने विषय। पछि सूची हेर्दा आधा भन्दा धेरै मैले चिन्दै नचिकेकासँग पनि २०/२५ डलर उठाइएको रहेछ। कतिपय त अमेरिकी नेपाली समाजमा निकै नै विवादित पात्र पनि त्यही सूचीमा।

तेस्रो, मोही माग्ने ढुङ्ग्रो लुकाउने भने किन गरेको? म बसेको क्षेत्रमा रहेका नेपाली, मेरो जाहानको कार्यस्थलका सहकर्मीले गरेको सहयोग पनि जोडेर २५ हजार डलर उठाइएको रहेछ।

चन्दाले दिएको चोट

चन्दाकै कारण मैले बिमाबाट पाउने सुविधा कटौति भयो। शून्य आम्दानीमा पाएको सुविधा थियो मसँग। तर, दशहजार भन्दा बढी आम्दानी देखिएपछि स्वास्थ बिमामा पाउने सुविधा रोकियो। अर्कातर्फ, मजस्तो लामो समय आराम गर्नुपर्ने विरामीका लागि राज्यले विशेष हेरचाहका लागि रकम दिने रहेछ। त्यसका लागि मेरो परिवारको आम्दानी मासिक तीन हजारभन्दा कम हुनुपर्ने। मेरा लागि जोडेको पैसाको चेक मलाई नभिडाएको भए पनि मैले कम्तिमा पनि दुई वर्ष मासिक करिब १५ सय अमेरिकी डलर पाउने थिएँ। त्यो गुम्यो।

अमेरिकी राज्य जनताप्रति जिम्मेवार छ। मैले काम गरेको समयमा कर तिरेको छु। नसक्दा मलाई राज्यले दिन्छ। पुजीवाद र साम्राज्यवादको नारा सुनेर नेपालबाट आएको मसामु ती नारा झुठो प्रमाणित भएको छ। मलाई घोकाइएको समाजवाद मैले अमेरिका आए पछि अनुभुत गरेको छु। अमेरिकामा खान, बस्न, पढ्न र स्वास्थ उपचारका लागि पैसा नभएका कारण मर्नपर्छ जस्तो लाग्दैन।

चन्दा उठाउने भनेको म डुबेँ। सकिएँ। अब केही लागेन भनेर समर्पण गर्नु हो। म गरिव चाहिँ हो। तर, भिखारी भइसकेको थिइन। बाहिर हेर्दा नेजाले ठूलो सहयोग गर्‍यो भन्ने देखियो। तर, त्यो पैसाले मानसिक र आर्थिक दुवै क्षति बेहोर्नुपर्‍यो। मेरो उपचारमा चार लाख डलर भन्दा बढी खर्च भइसकेको छ। एक वर्ष यता मासिक तीन हजार डलर भन्दा बढीको औषधी खाँदै आएको छु। त्यो चन्दाले मलाई कसरी फाइदा भयो?

जीवनमा प्रश्नका चाङहरु छन्। तर, सन् २०२० मा उठेका यी प्रश्नले मलाई घचेटिरहने छ। म छाब्दी बराही माताको भक्त। हरेक सुख दु:खमा सम्झन उनैलाई। भर्जिनियाबाट फर्केपछि कयौं हप्ता निदाउन सकिन। सन् २०१९ मा नेपाल जाँदा मेरा गुरु डाक्टर दुर्गाप्रसाद ढुङ्गानाले चिना हेर्दै भनेका थिए - दुई वर्ष तेरो ठूलो खड्गो छ।

मैले सोधेँ - के म मर्छु?

उनले भनेका थिए - तेरो समय खराब छ।

आज नयाँ जीवन पाएको पहिलो वर्ष। आशा छ त्यो खराब समय सकियो होला। तर, मेरा ती तमाम प्रश्नको जवाफ कुनै दिन समयले दिने नै छ। नयाँ वर्ष २०२२ को शुभ कामना।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell