PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रचण्डको ओलीपथ : ब्रान्डिङदेखि निर्विकल्पसम्म एकै रुप, एकै शैली



प्रकाश भण्डारी

प्रचण्डको ओलीपथ : ब्रान्डिङदेखि निर्विकल्पसम्म एकै रुप, एकै शैली

काठमाडौं : पुस ११ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको 'कट आउट' कार्यकर्ताले राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा ठड्याए। त्यसै दिन दिउँसो प्रचण्डको फोटो राखेर बेलुन उडाइएको थियो। आठौं महाधिवेशनको उद्घाटनमा प्रचण्डको फोटोलाई पुत्ला र बेलुनमा मात्रै होइन, ठूला फ्लेक्समा पनि टाँगियो।

महाधिवेशनका लागि सजाइएको ठाउँमा पनि प्रचण्डको फोटो छुटेन। कट आउटको चर्को विरोध भएपछि अर्को दिन अर्थात् पुस १२ गते बिहानै त्यसलाई हटाइयो। तर, सेल्फी पोइन्ट र प्रतिष्ठानको गेट अगाडि प्रचण्डको फोटो भने हटेन। माओवादी कार्यकर्ताले प्रचण्डलाई कतिसम्म ब्राण्डिङ गरिरहेका छन् भन्ने बुझ्न महाधिवेशनको लोगोमा उनको फोटो प्रयोग हुनुले पनि प्रष्ट्याउँछ।

प्रचण्डको शैली समकालीन कम्युनिस्ट नेतामा नयाँ भने होइन। यसअघि गोदावरीमा सम्पन्न नेकपा एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको स्ट्याचु राखेर सजाइएको थियो। महाधिवेशनमा पार्टीले आदर्श मान्ने कम्युनिस्ट नेताहरुको फोटो राख्ने चलन भए पनि ओलीले अरु नेतालाई भन्दा आफैँलाई प्राथमिकतामा राखेर महाधिवेशनस्थल सजाउन लगाए।

ओली ब्राण्डिङमा कम्तिका नेता होइनन्। महाधिवेशनमा प्रतिनिधिले पिउने पानीको बोतलमा पनि उनको फोटो थियो।

प्रधानमन्त्रीबाट हट्दै गर्दा उनका समर्थक/कार्यकर्ताले डमी सहितको र्‍याली निकालेर असार ३० गते बालुवाटारबाट बालकोट पुर्‍याएका थिए। आफ्नै अहम् का कारण सत्ताच्युत हुँदा पनि उनको देखाउने शैली कार्यकर्ताले स्थापित गराएका थिए।

मौलाएको 'बा'प्रवृति

ओली-प्रचण्डको शैली उस्तै भए पनि एमाले र माओवादी एकअर्काको शैलीलाई लिएर आलोचना गर्न पछि पर्दैनन्।

ओलीको कार्यशैलीमाथि पार्टीभित्रै विरोध हुन थाल्यो नेकपा सग्लै रहँदाको अवस्थामा। तत्कालीन नेकपाको विवाद चरम अवस्थामा पुगेकै बेला ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरे। विघटनपछि भने ओलीले झन् चर्को आलोचना खेप्नुपर्‍यो। अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले देशब्यापी रुपमा ओलीका विरुद्ध आन्दोलन छेडे। ओलीको 'बा'प्रवृति हावी भएको भन्दै प्रचण्ड-नेपालले चर्को आलोचना गर्ने गरेका थिए।

नेताहरु बिचमा आरोप प्रत्यारोपको श्रृङ्खला प्रतिनिधि सभा विघटन र पुनर्स्थापनासम्म मात्रै सीमित रहेन। २०७७ माघ २३ गते अदालतले एमाले र माओवादी मिलेर बनेको नेकपाको नाम नै अवैध भएको फैसला गर्‍यो। त्यसपछि अलग बनेको एमालेभित्र नेता नेपालले ओलीको कार्यशैलीलाई लिएर चर्को विरोध गरे। अन्तत: नेपालले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) बनाए। जसको मुल कारण ओलीको 'बा'प्रवृति भएको उनी तथा उनी समर्थितहरुले बताउने गरेका छन्।

यता, प्रचण्डले सार्वजनिक रुपमा तत्कालीन नेकपामा ओलीले आफूलाई इमोसनल ब्ल्याकमेलिङ गर्ने गरेको बताउने गरेका थिए। उनले ओलीले फकाएकै कारण आफूले आलोपालो प्रधानमन्त्री हुने सम्झौताबाट पछि हटेको बताउने गरेका छन्।

प्रचण्डको ओली स्टाइल

एमालेको चितवनमा सम्पन्न १० औं महाधिवेशनलाई लिएर प्रचण्ड, नेपाल लगायतका नेताहरुले आलोचना गर्ने गरेका थिए। विभाजनका बेलामा नेपाललाई साथ नदिएर एमालेमै रहेका नेताहरुलाई किनारामा पारेको भन्दै ओलीको आलोचना भएको थियो। पार्टीको आन्तरिक लोकतन्त्रलाई संकुचित गरेको भन्दै महाधिवेशनका बेलामा पनि ओलीको चर्को आलोचना भयो।

ओलीले आफू निकटलाई प्राथमिकतामा राखेर केन्द्रीय कमिटी र पदाधिकारीको सूची तयार पारे। जसलाई बन्दसत्रको हलले अनुमोदन गरेको थियो। तर, नेताहरु भीम रावल, घनश्याम भुसाल, टंक कार्की लगायतले ओलीको सूचीमा चित्त बुझाएनन्। बाध्य भएर ओली चुनावमा जान राजी भए।

माओवादी केन्द्रको महाधिवेशनमा प्रचण्डको 'स्टाइल' पनि ओलीसँग मिल्दोजुल्दो छ। उनले सकेसम्म आफ्नै खल्तीबाट केन्द्रीय सदस्य छान्ने तयारी गरिरहेका छन्। तिनै केन्द्रीय सदस्यले पदाधिकारी छान्ने व्यवस्था माओवादीको विधानले गरिसकेको छ। माओवादीको विधान अनुसार ५० प्रतिशत पूर्ण समानुपातिक र ५० प्रतिशत खुल्लागरी केन्द्रीय सदस्य चयन हुनेछन्।

शनिवार माओवादी केन्द्रको निर्वाचन आयोगले पहिलोपटक निर्वाचनको कार्यकतालिका सार्वजनिक गरेको थियो। तर, सहमतिका लागि भन्दै निर्वाचन तालिका स्थगित गरेर आइतवार चुनाव हुनेगरी संशोधित कार्यतालिका ल्याइयो। जसरी ओलीले चितवनमा सम्पन्न महाधिवेशनमा सहमतिका लागि भन्दै ३ दिनको महाधिवेशनलाई हप्ता दिन लम्ब्याएका थिए माओवादी केन्द्रले पनि सहमतिका लागि हप्तादिन भन्दा बढि समय लगाएको छ।

माओवादीमा प्रचण्डको शैलीलाई लिएर आलोचना हुने गरेको छ। यद्यपि, ओली प्रचण्डको शैलीमा अन्तर नभएको भने होइन। प्रचण्डले फरक मतलाई दस्तावेजिकरण गरेका छन् भने ओलीले फरक मतलाई छलफलको विषय नै बन्न दिएनन्। एमाले नेता घनश्याम भुसालले विधान महाधिवेशनमा आफ्नो फरक मत राख्न खोजे पनि उनी सफल भएनन्।

माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले प्रचण्डको कार्यशैलीमाथि प्रश्न उठाएर फरक मत राखे महाधिवेशनमा। जसलाई प्रचण्डले छलफलका लागि अघि सारिने बताएका छन्। उनले प्रचण्डमा पनि ओलीको जस्तै 'बा'प्रवृति भएको बताएको उल्लेख गरेका छन्।

'हामीले ओलीभित्रको 'बा' प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको 'बा' प्रवृत्ति देखिएको छ। तपाईँ आफै सशरीर उपस्थित भएको ठाँउमा तपाईँका लस्करै तस्बिर राख्न कसले निर्देशन दिएको हो?

कमरेड अध्यक्ष, त्यो ठाउँमा दिलबहादुर वा सुरेश वाग्ले अथवा शहीदहरुको तस्बिर राखेको भए हाम्रो संस्कति कति सुसंगत हुन्थ्यो होला?,' न्यौपानेले फरक मतमा उल्लेख गरेका छन्।

ओली-प्रचण्ड उस्तै कि फरक?

नेकपा माओवादी केन्द्रले पनि ८ औं महाधिवेशनबाट बहुपदीय संरचनामा जाने भएको छ। नेकपा एमालेको जस्तै माओवादी केन्द्रमा पनि अध्यक्षसँगै विभिन्न पदाधिकारी रहने विधानले व्यवस्था गरेको छ।

अन्तरिम विधानमा १५ सदस्यीय पदाधिकारी हुने भए पनि फेरि केन्द्रीय कमिटीको निर्णयले पदाधिकारी संख्या अनिश्चित बनाएको छ। केन्द्रीय कमिटीले पदाधिकारी संख्या आवश्यकता अनुसार निर्धारण गर्ने भएको छ। बहुपदीय संरचनाबारे महाधिवेशनका पदाधिकारीले प्रश्न उठाए पनि विधानमा नै माओवादी केन्द्रले अबको संरचना बहुपदीय हुने व्यवस्था गरेको छ।

ओलीसँगै मिल्ने माओवादी महाधिवेशनको अर्को दृश्य हो-प्रचण्डको विकल्प माओवादीमा छैन् भन्ने। जसरी एमालेको महाधिवेशनमा ओली निकट नेताहरुले ओलीको विकल्प एमालेमा नभएको र एमालेका लागि मात्रै नभइ देशकै लागि पनि ओली आवश्यकता भएको बताउने गरेका थिए, त्यसरी नै प्रचण्ड निकट नेता कार्यकर्ताहरुले प्रचण्ड विकल्प विहीन नेता भएको दावी गर्ने गरेका छन्।

चुनाव गर्न नहुने भन्दै प्रचण्ड निकट नेताहरुले दवाव दिँदै आएका छन्, एमाले महाधिवेशनमा ओलीका कार्यकर्ताले जस्तै। महाधिवेशन सञ्चालनका लागि गठित अध्यक्ष मण्डलका सदस्य गणेश साहले सहमतिमै केन्द्रीय सदस्य छानिने र त्यसैको लागि गृहकार्य भइरहेको बताए। भने, 'सबै सहमतिमै छानिन्छ। त्यसका लागि पहल भइरहेको छ। नेताहरु छलफमा छन्। सकेसम्म सहमति हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell