PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

माओवादी महाधिवेशन : फेरि नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक, केन्द्रीय सदस्य चयन गर्न प्रदेशमा भागवन्डाको तयारी



पहिलोपोस्ट

माओवादी महाधिवेशन : फेरि नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक, केन्द्रीय सदस्य चयन गर्न प्रदेशमा भागवन्डाको तयारी

काठमाडौं : नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको निर्वाचन कार्यतालिका फेरि परिवर्तन भएको छ। शनिवार तय भएको निर्वाचन कार्यतालिका पटक पटक परिवर्तन भएकोमा आज पनि फेरि नयाँ कार्यतालिका सार्वजनिक गरिएको हो।

नयाँ कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता आज दिउँसो ४ बजेदेखि ६ बजेसम्म गर्ने भनिएको छ। यस्तै, उम्मेदवारको मनोनयन पत्र दर्ता सूची प्रकाशन बेलुकी ६:३० बजे हुनेछ। ७ बजे उम्मेदवारको विरोधमा उजुरीका लागि समय छुट्याइएको छ। उजुरी उपार छानविन र निर्णय ७:४५ सम्म हुनेछ।

उम्मेदवारको नामावली पुन:प्रकाशन राति ८ बजे गर्ने भनिएको छ। उम्मेदवारी फिर्ता लिनका लागि आधा घण्टाको समय छुट्याइएको छ। अन्तिम नामावली राति ८:४५ मा प्रकाशित गरिनेछ।

आज राति ८ बजेदेखि सोमवार बिहान १:२५ सम्म मतदान हुने कार्यतालिकामा उल्लेख छ। मतगणना भने मतदान सम्पन्न भएको एक घण्टापछि नै सुरु गर्ने बताइएको छ।

सहमतिका लागि कयौं प्रयास भएपनि सहमति हुननसक्दा पटकपटक निर्वाचन कार्यतालिका हेरफेर भइरहेको हो।

यसअघि यो महाधिवेशनबाट १५ जना पदाधिकारी चयन गर्ने भनिएको थियो। अब भने पदाधिकारी संख्या केन्द्रीय कमिटीले आवश्यकता अनुसार निर्धारण गर्ने जनाइएको छ।

त्यसैले पनि केन्द्रीय कमिटी सर्वसम्मत बनाउन नेताहरु लागेको बताइन्छ। ७ प्रदेशबाट सर्वसम्मत रुपमा २५६ सदस्य छनोट गर्ने प्रयास भइरहेको छ। प्रदेश १ बाट ४१ जना,

प्रदेश २ बाट २५ जना, वाग्मतीबाट ५२ जना, गण्डकीबाट २४ जना, लुम्बिनीबाट ४० जना, कर्णालीबाट ३१ जना र सुदूरपश्चिमबाट २९ जना सदस्य केन्द्रीय कमिटीमा राख्ने तयारी स्वरुप छलफल भइरहेको छ। यस्तै, प्रवास विशेष सम्पर्कबाट १४ जना केन्द्रीय कमिटीमा राख्ने गरी भागवन्डाको खांका बनेको बताइन्छ।

छलफल र नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक सार्वजनिक भए बिच आजको बन्द सत्र सुरु गर्ने तयारी अध्यक्ष मण्डलले गरेको छ।

बन्दसत्रमा सहभागी हुन सबै प्रतिनिधिहरु हलमा प्रवेश गरिसकेका छन्। बन्द सत्र अघि स्थायी कमिटी बैठक चलिरहेको छ। स्थायी कमिटी सकिए लगतै बन्द सत्र सुरु हुनेछ। आज पार्टीको केन्द्रीय कमिटी चयन गर्दै बन्द सत्र सम्पन्न गर्ने तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell