काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकीकृत माओवादीको आठौं महाधिवेशन जारी छ। राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको माओवादीले सर्वसम्मत रुपमा केन्द्रीय कमिटी चयन गर्ने प्रयास गरिरहेको छ। जसका लागि ५० प्रतिशत समानुपातिक र ५० प्रतिशत खुला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्य छनोट गर्ने शनिवार निर्णय गरिएको थियो।
तर, यसरी ५०-५० प्रतिशत छुट्याउँदा आफूहरुलाई विधानले नै दिएको आरक्षण गुम्ने भन्दै दलित प्रतिनिधिहरु असन्तुष्ट बनेका छन्। विधान बमोजिम दलितलाई १५ प्रतिशत आरक्षण छुटाइएको छ। तर समावेशी बनाउन ५०-५० को अवराधण ल्याएपछि जम्मा ७ प्रतिशत आरक्षण पाउने भएपछि उनीहरु असन्तुष्ट बनेका हुन्। हाल प्रज्ञा प्रतिष्ठानमा बसिरहेको स्थायी कमिटी बैठक लगत्तै दलित प्रतिनिधिहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्र बुझाउने तयारी गरेका छन्।
'विधानले १५ प्रतिशत दलित आरक्षण दिएको छ। तर, समावेशी बनाउँदा ५०/५० को भाग लगाएर जम्मा पर्ने अवस्था ७ प्रतिशत पाइन्छ। हामीलाई १५ प्रतिशत नै आरक्षण चाहिन्छ' एक दलित प्रतिनिधिले भने।
विधानमा व्यवस्था भए बमोजिम १५ प्रतिशत आरक्षण नपाए आफूहरु बन्दसत्रमा सहभागी नहुने चेतावनी उनीहरुले दिएका छन्।
यसबिच महाधिवेशनको आजको बन्द सत्र खाजाको समयका लागि भन्दै ४ बजेसम्मका लागि स्थगित गरिएको छ। सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्ने भन्दै पार्टीको स्थायी कमिटी बैठक महाधिवेशन स्थल प्रज्ञा भवनमा जारी छ।