PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

आफ्ना सहयोगीलाई धमाधम केन्द्रीय समितिमा मनोनीत गर्दै देउवा



पहिलोपोस्ट

आफ्ना सहयोगीलाई धमाधम केन्द्रीय समितिमा मनोनीत गर्दै देउवा
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई सघाएकालाई एकलौटी रुपमा धमाधम केन्द्रीय सदस्यमा मनोनीत गर्न थालेका छन्। १४ औं महाधिवेशनमा आफूलाई जिताउन सघाएकालाई देउवाले धमाधम केन्द्रीय सदस्यमा मनोनीत थालेका हुन्।

विधानको दफा २१(१०) बमोजिम पार्टी सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउँछन्। सोहीअनुसार देउवाले शनिवार १० जना र आइतवार ३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्।

मनोनीत भएका मध्ये अधिकांश महाधिवेशनमा देउवालाई सघाएका नेताहरु हुन्।

शनिवार देउवाले महाधिवेशनमा पराजित नेताहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा प्रकाशशरण महत, सुजाता कोइरालालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए।

आइतवार महाधिवेशनमा पराजित भएका कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गरे। सिंह, निधि र गुरुङ सभापति पदको निर्वाचनमा क्रमश: तेस्रो, चौथो र पाँचौ भएपछि मैदान दोस्रो चरण निर्वाचनमा देउवालाई जिताउन उत्रेका थिए।

यता गच्छदार देउवा टिमबाटै निर्वाचनमा उत्रिँदा सभापतिमा पराजित उम्मेद्वार हुन्। कोइराला भने प्रकाशमान टिमबाट उपसभापतिका उम्मेद्वार बनेकी थिइन्। डा महत महामन्त्रीमा पराजित भए भने सिटौला टिमबाट देउवा समूहमा जोडिएका पौडेल पनि महामन्त्रीमा पराजित नेता हुन्। देउवा टिमबाटै उम्मेद्वार बनेका कर्णालीका मुख्यमन्त्री शाही भने सहमहामन्त्रीमा बद्री पाण्डेसँग पराजित भएका थिए।

यता, केन्द्रीय सदस्य बनेका कृष्णप्रसाद सिटौलाले देउवालाई जिताउन उल्लेख्य भूमिका खेलेका थिए। परराष्ट्रमन्त्री समेत रहेका डा नारायण खड्काले देउवालाई सभापतिमा जिताउन भन्दै कुनै पदमा उम्मेद्वारी दिएनन्। उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई पनि सघाए बापत देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्।

शेखर पक्षलाई उपेक्षा

१४ औं महाधिवेशनमा कसैलाई नसघाई तटस्थ बसेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। तर सभापतिमा दोस्रो बनेका डा शेखर कोइरालाको टिमलाई भने देउवाले उपेक्षा गरेका छन्।

आफ्नो टिमबाट पदाधिकारीमा पराजितलाई धमाधम केन्द्रीय समितिमा तान्दा देउवाले शेखर टिमका एक जनालाई पनि पारेका छैनन्। उप सभापतिमा पराजित डा चन्द्र भण्डारी, महामन्त्रीमा पराजित डा मीनेन्द्र रिजाललाई पनि केन्द्रीय सदस्यमा मनोनयन गर्ने बताइएको थियो। यद्यपि, देउवाले बदलाको भाव साँध्दै उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनीत नगरेको शेखर पक्षको नेताहरुको आरोप छ।

सह महामन्त्रीमा शेखर पक्षबाट कमला पन्त, रामकृष्ण यादव, शेख वकिल, तेजुलाई चौधरी, विकास लामा र देवराज चालिसे पराजित बनेका थिए। यसो त शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा देउवाले आफ्नै पक्षबाट सह महामन्त्रीमा पराजित मानबहादुर विश्वकर्मालाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।

अब २० जना मनोनीत बाँकी

पार्टीको विधान, २०१७ (संशोधन सहित) को दफा २१(१०) बमोजिम देउवाले अझै २० जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउनेछन्। ३३ जनामा एक तिहाई महिला हुनैपर्छ। १३ जनामा देउवाले जम्मा २ जनामात्र महिला केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। देउवाले २० मा ९ जना महिला केन्द्रीय सदस्य ल्याउनुपर्ने हुन्छ। समावेशी, अपांगता कोटालाई पनि ध्यान पुर्‍याउनुपर्ने हुन्छ।

गत मंसिर २४ बाट काठमाडौंमा भएको १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवाले निर्वाचनमासमेत एकलौटी बहुमत हासिल गरे। पदाधिकारीसहित निर्वाचित १३४ जनामा देउवा पक्षका ११० जना छन्। मनोनीतमा पनि एकलौटी हुँदा केन्द्रीय समितिमा देउवाको दवदवा हुने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell