बुटवल : पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा घाइते हुनेको पहिचान खुलेको छ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७, रानीगञ्जका वीरबहादुर विश्वकर्माको शव दाह संस्कारका लागि गुल्मीको रुरुक्षेत्र रिडी जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना भएको थियो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी रामेश्वर त्वातीका अनुसार दुर्घटनामा परी ७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने, १३ जना घाइते भएका छन्।
घाइतेमध्ये पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा ६ जना र लुम्बिनी मेडिकल कलेज प्रभासमा ७ जनाको उपचार भइरहेको छ। घाइते हुनेमा बुटवल–१७ का ३८ वर्षीय, विशाल रसाइली, अर्घाखाँची कुभिण्डेका ४३ वर्षीय लालबहादुर विक, बुटवल–१७ का ४५ वर्षीय घनबहादुर सुनार, सैनामैना–६ का ५० वर्षीय श्यामबहादुर विक, अर्घाखाँची मालारानी–२, का ३७ वर्षीय रमेश टोमटा रहेका छन्।
यस्तै, अर्घाखाँची डाँडा कटेरी–१ का ५४ वर्षीय गोपाल नेपाली, सैनामैना – ६ रूपन्देहीका २९ वर्षीय मीरा रामदान घाइते भएका छन्। यस्तै, बुटवलका ४८ वर्षीय माधव बस्याल, अर्घाखाँची मालारानीका २२ वर्षीय दीपक विक र तुल्सी विक रहेका छन्।
दुर्घटनामा परी मृत्यु हुनेमध्ये ४ जनाको पहिचान खुलेको छ। बुटवल–१७ रानीगञ्जका २४ वर्षीय भोजेन्द्र विक, लालबहादुर विक, पशुपति रसाइली र विजय थापा रहेका छन्। बाँकी ४ जना मृतकको सनाखत हुन सकेको छैन।