PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

क्रिकेट विवादमा नयाँ ट्वीस्टः ‘सन्दीपकै कप्तानीमा खेलाडी मैदान फर्कने, कारबाही फिर्ता लिन क्यान तयार’



मुकुन्द घिमिरे

क्रिकेट विवादमा नयाँ ट्वीस्टः ‘सन्दीपकै कप्तानीमा खेलाडी मैदान फर्कने, कारबाही फिर्ता लिन क्यान तयार’

काठमाडौं: क्रिकेट विवादमा नयाँ ट्वीस्ट आएको छ। क्यान र खेलाडीबीच सन्दीप लामिछानेलाई कप्तान मानेर मैदान फर्कने सहमति भएको हो। यस्तै नेपाल क्रिकेट संघको अर्को बैठकबाट खेलाडीको कारबाही अवधि घटाउने समझदारी समेत भएको छ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दसिहतको टोली र कारबाहीमा परेका खेलाडीबीच आइतबार जमलस्थित यल्लो प्यागोडा होटलमा छलफल भएको थियो। छलफलबाट सन्दीपकै कप्तानीमा नेपाल ग्लोवल क्वालिफायर्समा जाने सहमति भएको अध्यक्ष चन्दले जनाए।

'६ महिना खेलाडीलाई सेन्ट्रल कन्ट्रयाकमा नल्याउने भन्ने निर्णय भएको थियो। आगामी बोर्ड बैठकबाट ज्ञानेन्द्र मल्लसहित ४ जनाकै कारबाही फुकुवा गर्ने सहमति भएको छ', अध्यक्ष चन्दले भने, 'सन्दीप लामिछानेकै कप्तानीमा नेपाली राष्ट्रिय टोलीले ग्लोवल क्वालिफायर्स खेल्ने भएको छ।'

उनले २०२२ को ग्रेडिङ मापदण्ड बनाउँदा सबैसँग (कप्तानलगायत) सरसल्लाह गरेर अघि बढ्ने सहमति भएको बताए। र, यसबारे खेलाडीलाई जानकारी गराउने सहमति भएको बताए।

यो सँगै सोमबारदेखि खेलाडीले क्याम्पमा आउने जनाएको पनि चन्दले बताए।

तर, क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले छलफलबारे फरक धारणा राखे। मल्लले कारबाही फिर्ता पूर्ण नभएको र खेलाडीले सोमबारसम्म निर्णय दिने जानकारी गराएको बताए।

'हामीले उहाँहरुलाई सम्झायौँ। राष्ट्रको प्रतिनिधित्व गरेर खेल्ने कुरामा शर्त ल्याउनु हुँदैन। तपाईंहरु राष्ट्रका लागि खेल्नु नै ठूलो सम्मान हो। राष्ट्रको आवश्यकता हो। तपाईंहरु खेल्नुपर्छ। तपाईंहरुले कारबाही फिर्ताको जुन मागहरु राख्नुभएको छ। त्यसमा हामी आंशिक रुपमा लचिलो भइदिन्छौँ भन्ने किसिमले उहाँहरुलाई आश्वासन दिएका छौँ,' उनले भने, 'बोर्डले कन्ट्रयाक्टमा राख्ने कुरामा लचिलो भइदिन्छौँ भन्ने कुरामा उहाँहरुले हामी भोलि बिहानसम्म खबर गर्छौं भन्नुभएको छ।'

सचिव मल्लले भोलिसम्म खेलाडी आउनेमा आशामात्र जनाए पनि अध्यक्ष चन्दले खेलाडी भोलि ९ बजेसम्म प्रशिक्षणमा फर्कने जनाएको दाबी गरे।

'केही आइपुगसकेका छन्। आज ६ बजेसम्मको अन्तिम समय दिइएको थियो। भोलि ९ बजेसम्म आइपुग्छौं भन्नुभएको छ', चन्दले भने।

ग्लोवल क्वालिफायर्सको तयारी लागि ३० जनालाई प्रशिक्षणमा बोलाइएको भए पनि कारबाहीमा परेका खेलाडीलगायत आधाजसो खेलाडीले निर्धारित समयमा रिपोर्ट गरेका थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell