PahiloPost

Dec 23, 2024 | ८ पुष २०८१

मलामी हिँडेकाहरु आफैँ शव बने!



रमेश पराजुली

मलामी हिँडेकाहरु आफैँ शव बने!

बुटवल : पाल्पाको रिब्दीकोट गाउँपालिका-२ लघुवामा मलामी बोकेको बस दुर्घटना हुँदा आफन्तको मलामी हिँडेकाहरु आफै शव बनेका छन्। आइतवार बिहान रुपन्देहीको बुटवल उपमहानगरपालिका-१७ रानीगञ्जका ७० वर्षीय वीरबहादुर विश्वकर्माको शव दाहसंस्कारका लागि गुल्मीको रुरुक्षेत्र रिडीतर्फ जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस दुर्घटना भएको थियो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी रामेश्वर त्वातीले दुर्घटनामा ज्यान गुमाएका सात जना सबैको सनाखत भएको जानकारी दिए। मृत्यु हुनेमा अर्घाखाँचीको मालारानी गाउँपालिका २ का चार जना रहेका छन्।

मालारानीका २८ वर्षीय भोजेन्द्र विश्वकर्मा, २५ वर्षीय शंकर विश्वकर्मा, २६ वर्षीय मोहन कुँवर र ३३ वर्षीय अर्जुन सुनार रहेका छन्। त्यस्तै, रुपन्देहीको बुटवल उपमहानगर ११ का ३२ वर्षीय विजय थापा, बुटवल-१७ का ३० वर्षीय पशुपति रसाइली र बुटवल-१७ कै ४० वर्षीय खुमबहादुर राना रहेका छन्।

दुर्घटनामा अन्य १६ जना घाइते भएका छन्। घाइतेको लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको डीएसपी त्वातीले बताए।

घाइते हुनेहरूमा बुटवल-१७ का ३८ वर्षीय विशाल रसाइली, सैनामैना नगरपालिका-६ रुपन्देही बस्ने ३१ वर्षीया मिरा रामदाम, सोही ठाउँका ५० वर्षीय श्यामबहादुर विक, बुटवल-१७ बस्ने ४५ वर्षीय धनबहादुर सुनार, अर्घाखाँचीको पाणिनी गाउँपालिका-१ बस्ने ५४ वर्षीय गोपाल नेपाली, गुल्मीको छत्रकोट गाउँपालिका-३ बस्ने ४३ वर्षीय लालबहादुर विक, अर्घाखाँची मालारानी गाउँपालिका-२ बस्ने ३७ वर्षीय रमेश टोहटो, रुपन्देहीको तिलोत्तमा नगरपालिका-१४ बस्ने ४५ वर्षीय दिलमाया सुनार रहेका छन्।

त्यस्तै, अन्य घाइतेहरूमा तिलोत्तमा-१४ रुपन्देहीकी ४५ वर्षीया तारा सुनार, मालारानी-२ अर्घाखाँची बस्ने ३९ वर्षीय तुलसीराम बिक, सोही ठाउँका २२ वर्षीय दीपक बिक, बुटवल-१२ बस्ने ४८ वर्षीय माधवप्रसाद बस्याल, मालारानी-२ अर्घाखाँची बस्ने ४० वर्षीय अर्जुन रसाइली, सोही ठाउँ निवासी ३५ वर्षीय लक्ष्मण टोहटो र सोही ठाउँका २७ वर्षीय विष्णु विक रहेका छन्।

ओरालो घुम्तीमा बस चिप्लिएर दुर्घटना भएको प्रहरीको अनुमान छ। बस सडकबाट ५५ मिटर तल खसेको छ।

घाइतेहरुलाई स्थानीय र प्रहरीले समयमै उद्धार गरेपनि मृतकको शव दुर्घटनाग्रस्त बसमुनी परेकोले डोजर प्रयोग गरी निकालिएको थियो।

दुर्घटनापछि फरार रहेका बस चालक रम्भा गाउँपालिका-१ पाल्पाका रुक्मागत बस्याल प्रहरीको नियन्त्रणमा रहेका छन्। साँघुरो सडक र चालकको असावधानीका कारण तानसेन-तम्घास सडकखण्डमा प्रत्येक वर्ष सयौँ मानिसले अकालमा ज्यान गुमाउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell