PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

'छद्म' नाममा उपसभामुख नै माओवादी केन्द्रको केन्द्रीय सदस्य, को हुन आर तामाङ र पी घर्ती?



पहिलोपोस्ट

'छद्म' नाममा उपसभामुख नै माओवादी केन्द्रको केन्द्रीय सदस्य, को हुन आर तामाङ र पी घर्ती?

काठमाडौं : नेकपा (माओ‌वादी केन्द्र) को ८ औं महाधिवेशन आइतवार सम्पन्न भएको छ। २९९ केन्द्रीय सदस्य मध्ये २३६ सदस्यको नाम घोषणा गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन समापनको घोषणा गरेका हुन्। 

यसरी घोषणा भएको सूचीमा पार्टीमा क्रियाशील श्रीमान श्रीमती, प्रचण्ड परिवारका चार जनासम्म परेका छन्। त्यस्तै विभिन्न क्लस्टरमा विभाजन गरेर सदस्यहरुको घोषणा भएको छ। 

खुला तर्फ १४५ मध्ये १११ समानुपातिक तर्फ १५४ मध्ये १२५ जनाको नाम मात्र प्रचण्डले घोषणा गरे। 

प्रचण्डले सबैलाई चित्त बुझ्ने गरी कसैको 'चित्त नदु:खाएर' घोषणा गरेको नाममा समावेशी तर्फ जनजाती, मुस्लिम, दलितलगायतका क्लस्टरहरुमा आकांक्षी कम भएकोले खाली राखिएको दाबी माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले बताए। 

माओवादी केन्द्रको केन्द्रीय सदस्यमा 'छद्म' नाममा दुई जनालाई समावेश गरिएको छ। 

को हुन् 'छद्म' नामका दुई केन्द्रीय सदस्य?

प्रचण्डले शनिवार साँझ सार्वजनिक गरेको सूची तर्फ समानुपातिक तर्फ जनजाति महिलाको सूचीमा पी घर्ती समावेश छ। 

पी घर्ती पुष्पा घर्ती विष्ट हुन्। उनी कर्णाली प्रदेशकी उपसभामुख हुन्। उनका पति पनि समानुपातिक तर्फ खस आर्य समूह पुरुषबाट केन्द्रीय सदस्य बनेका छन्। उनका पति नरबहादुर विष्ट हुन्। 

घर्ती २०५३ साल देखि माओवादी पार्टीमा लागेर भूमिगत भएकी थिइन्। उनी सुर्खेतबाट प्रदेशसभामा प्रतिनिधित्व गर्छिन्। 

उपसभामुख भएसँगै पार्टीको पदीय जिम्मेवारीबाट राजीनामा दिनुपर्ने प्रचलन छ। तर, उनी माओवादी केन्द्रको महाधिवेशनमा सहभागी भएर 'छद्म' नाममा केन्द्रीय सदस्य बनेकी छन्। 

त्यस्तै अर्को 'छद्म' नाम हो- आर तामाङ। उनी राधिका तामाङ हुन्- वाग्मती प्रदेशसभाकी उपसभामुख। उनी पनि 'छद्म' नामबाट केन्द्रीय सदस्य बनेकी छिन्। उनी २०५५ साल देखि माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को सदस्य हुँदै २०५७ सालमा भूमिगत भएकी थिइन्। उनी यसअघि पनि केन्द्रीय सदस्य थिइन्।  

२०६१ सालमा माओवादीको नुवाकोट जनसरकार प्रमुख भएकी उनी दोस्रो संविधानसभामा सदस्य थिइन्। त्यस्तै संघीय सरकारीकी राज्यमन्त्रीसमेत भइसकेकी हुन्। 

आइतवार साँझ हलमा नाम घोषणा गर्ने क्रममा प्रचण्ड आफै पनि अलमलिएका थिए। 'ऊ.... तामाङ, आर तामाङ.. यो अघि ऊ तामाङ भन्ने आर तामाङ हो' प्रचण्डले नाम घोषणा गर्दै भनेका थिए।

माओवादी केन्द्रको महाधिवेशनमा  तामाङ र घर्तीसँगै सुदूरपश्चिम प्रदेश उपसभामुख निर्मला बडाल जोशी पनि सहभागी थिइन्। तर, उनको नाम केन्द्रीय सदस्यको सूचीमा भने छैन। 
 
त्यसो त माओवादीले 'छद्म' नाम भूमिगत काल देखि नै प्रयोग गर्दै आएको छ। खुला राजनीतिमा आएपछि 'छद्म' नाम राखेर केन्द्रीय कमिटीमा राखिएको भने पहिलोपटक हो। 

यसअघि माओवादी केन्द्रले विभाग गठन गर्दा पूर्व प्रशासक देखि पूर्व न्यायाधीश सम्मलाई 'छद्म' नाममा सदस्यमा राखेको थियो। 

पूर्व मुख्यसचिव लिलामणि पौडेललाई 'एल.मणि पौडेल' भन्दै राजकीय मामला तथा सुशासन विभागमा राखिएको छ। त्यस्तै पूर्व न्यायाधीश अलिअकबर मिकरानीलाई ए. मिकरानीको नाममा र पूर्व न्यायाधीश भोलानाथ चौलागाईँलाई भी चौलागाईँको नाममा कानुन, न्याय तथा मानवअधिकार विभागको सदस्यमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell