PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

बंगलादेशका विदेश मन्त्रीले अमेरिकी विदेश मन्त्रीलाई किन भने 'तिम्रो राष्ट्रमा हरेक वर्ष ६० लाख मानिस बेपत्ता हुन्छन्'



पहिलोपोस्ट

बंगलादेशका विदेश मन्त्रीले अमेरिकी विदेश मन्त्रीलाई किन भने 'तिम्रो राष्ट्रमा हरेक वर्ष ६० लाख मानिस बेपत्ता हुन्छन्'

बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमिनले अमेरिकाका विदेश मन्‍त्री एन्टोनी ब्लिंकनलाई पत्र लेखेका छन्। अमेरिकाले बंगलादेशको र्‍यापिड एक्सन बटालियन (राब) र सैन्य एवम् नागरिक अधिकारीमाथि प्रतिबन्ध लगाएपछि त्यसलाई हटाउन माग गर्दै मोमिनले पत्र लेखेका हुन्।

मोमिनले नयाँ वर्षको अवसरमा पत्र लेखेको जानकारी आइतवार पत्रकार सम्मेलनका क्रममा दिएका थिए। यस्तै, उनले केही दिन अघि ब्लिंकनसँग टेलिफोन वार्ता समेत भएको बताएका छन्।

मोमिनले अमेरिकालाई कारवाहीमाथि पुन: विचार गर्न आग्रह गरेका छन्। उनले 'राब' विश्वस्नीय संगठन भएको भन्दै उक्त समूहले आतंकवादविरुद्ध काम गरेको र मानव तस्करीलाई नियन्त्रण गरेको बताएका छन्। 'राब' ले गरेको काम अमेरिकाको लक्ष्य नै रहेको उनको दाबी छ।

२०२१ डिसेम्बर १० मा अमेरिकाको अर्थ मन्त्रालयको 'अफिस अफ फरेन असेट्स कन्ट्रोल'ले कयौं देशका १० संगठन र १५ व्यक्तिमाथि प्रतिबन्ध लगाएको थियो। जसमा 'राब' पनि थियो। गम्भीर मानव अधिकार उल्लंघन गरेको भन्दै 'राब' माथि प्रतिबन्ध लगाइएको थियो। प्रतिबन्ध लगाइएकाहरुमा 'राब' का पूर्व प्रमुख र वर्तमान प्रहरी प्रमुख चौधरी अब्दुल्ला मामूनसमहित ६ जना अधिकारी छन्।

यसरी प्रतिबन्ध लगाइएकाहरुले अमेरिकाको भिसा पाउँदैनन्। यस्तै, प्रतिबन्धित व्यक्तिहरुको सम्पत्ति अमेरिकामा भए त्यसलाई अमेरिकी सरकारले नियन्त्रणमा लिनेछ। अमेरिकाको यस निर्णयको विरोध बंगलादेशले आफ्ना अमेरिकी राजदूतमार्फत पनि राखिसकेको छ।

मोमिनले बंगलादेशबाट १० वर्षमा ६०० जना बेपत्ता भएको भनिएको तर अमेरिकामा हरेक वर्ष ६० लाख मानिस बेपत्ता हुँदै गरेको दाबी समेत गरेका छन्। उनले अमेरिकाको प्रहरीले हरेक वर्ष 'ड्युटी' का क्रममा हजारौं मानिसको हत्या गर्ने गरेको दाबी समेत गरेका छन्। उनले यो कुरा आफूले पठाएको पत्रमा पनि लेखेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell