PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

राष्ट्रियसभामा एमालेले उम्मेद्वारी दिने सबै ठाउँमा चुनावी तालमेल, कसको भागमा कति सिट?



प्रकाश भण्डारी

राष्ट्रियसभामा एमालेले उम्मेद्वारी दिने सबै ठाउँमा चुनावी तालमेल, कसको भागमा कति सिट?

काठमाडौं : सत्ता गठबन्धनले राष्ट्रियसभाको निर्वाचनका लागि भागबण्डा गर्ने सहमति गरेको छ। सत्ता घटक पाँच दलले भागबण्डा गरेर उम्मेद्वारी दिने सहमति गरेका हुन्। माघ १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ। त्यसका लागि एमालेका तर्फबाट खाली हुने ८ सिटमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समावादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्न लागेका हुन्। राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले ८ सिट मध्य ३ सिटमा कांग्रेस, २ सिट जसपा, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एक/ एक सिट दिने सहमति भएको जानकारी दिइन।

'एमालेको ८ बाहेकमा जसजसमा खाली हुन्छ त्यसमा सम्बन्धित दलको उम्मेद्वार बनाउने सहमति भएको छ,' उनले भनिन्।

राष्ट्रियसभाको ४ वर्षे अवधि अन्तर्गत २० जनाको पद खाली हुँदैछ। त्यसका लागि मंगलवार मनोनयनको समय तोकिएको छ।

२० मध्ये एमालेको ८, कांग्रेसको ३, माओवादी र एकीकृत समाजवादीको ४/४ र एक जना मनोनितको समय सकिँदै छ। गठबन्धनको सहमति अनुसार एमाले बाहेकमा सम्बन्धित दललाई नै राष्ट्रियसभाको सिट दिने सहमति भएको छ। उक्त सहमति अनुसार अब कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५/५ सिटका लागि उम्मेद्वारी दिनेछन्। त्यस्तै, जसपाले २ र राष्ट्रिय जनमोर्चाले १ ठाउँमा उम्मेद्वारी दिने सहमति भएको छ।

नेकपा एमालेले पनि राष्ट्रियसभाको निर्वाचनका विषयमा आइतवार साँझ छलफल गरेको थियो। सचिवालयको बैठकमा राष्ट्रियसभाका उम्मेद्वारका बारेमा छलफल भएको एमालेले जनाएको छ।

गठबन्धनमा आवद्ध दलहरुले अब हुने चुनावसम्मै गठबन्धन कायम हुने बताउँदै आएका छन्। एमालेको बलियो उम्मेद्वार भएको ठाउँमा मात्रै भए पनि चुनावी तालमेल गरेर जाने विषयमा गठबन्धनमा छलफल भइरहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने जसरी पनि अहिलेको सत्ता गठबन्धनलाई फुटाउने बताउँदै आएको छ। उसले चुनावमा आफ्ना विरुद्धमा गठबन्धन हुनसक्ने भन्दै कांग्रेसलाई एक्लै चुनाव लडन चुनौती दिइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell