पोखरा : मर्दी हिमालको आधार शिविरमा ‘समर स्की’ महोत्सव हुने भएको छ। दीगो हिमालयन कोषको आयोजनामा यही माघ २७ देखि फागुन ३ गतेसम्म महोत्सव हुने भएको हो।
महोत्सवलाई ‘ग्रेट हिमालयन स्की भ्रमण’ नाम दिइएको आयोजक सदस्य प्रभात अधिकारीले जानकारी दिए। नेपालमा स्की पर्यटनको विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको उनले बताए।
संस्थाले मर्दीमा गर्न लागेको स्की महोत्सव आठौं चरणको हो। यसअघि सो महोत्सव मनास्लु, कालिञ्चोक लगायतका स्थानमा भइसकेको संस्थाका अध्यक्ष रामबहादुर थापाले जानकारी दिए।
यस्तै अन्तर्राष्ट्रिय स्की प्रशिक्षक कृष्ण थापा मगरको प्रशिक्षण तथा सहजीकरणमा हुन लागेको छ। महोत्सव अन्तर्गत पदयात्रा, आधारभुत स्की तथा स्नोबोर्ड तालिम, जीवनरक्षा तालिम, स्थानीय समुदायसँग अन्तरक्रिया तथा स्की सम्बन्धि वृत्तचित्रहरु प्रदर्शन गरिने छ।
महोत्सवमा सबै क्षेत्रका मानिसहरुले भाग लिन पाउने जनाईएको छ। यद्यपि आयोजकले भने, पथप्रदर्शक, हिमाल आरोहण गाईड तथा पर्यटन क्षेत्रमा काम गरिरहेकाहरुको सहभागितामा जोड दिएको छ। महोत्सवमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ३ सय मानिहरु लाभान्वित हुने विश्वास आयोजकको छ।
महोत्सव सम्पन्न गर्न १६ लाख रुपैंया खर्च लाग्ने अनुमान गरिएको छ। उक्त खर्च अन्तर्गत सबैभन्दा बढी बिमामा छुट्टाईएको छ। महोत्सवमा भाग लिनेहरुको बिमाका लागि २ लाख २० हजार रुपैंया विनियोजन गरिएको आयोजकले जनाएको छ।