- नारायण अधिकारी -
चितवन : चिसो मौसममा उच्च रक्तचापको जोखिम बढी हुने चिकित्सकले बताएका छन्। जाडोले शरीरका नशा खुम्चिने र उचित खानपानमा ध्यान नदिने हुँदा उच्च रक्तचापसँगै मुटुको समस्या हुने चिकित्सकको भनाइ छ। अस्पतालमा अन्य समस्या लिएर आएका बिरामीमासमेत उच्च रक्तचापको समस्या देखिने गरेको छ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष एवं फिजिसियन डा भोजराज अधिकारीले रक्तचापको समस्या नभएको भन्दै आउने विरामीमा पनि रक्तचापको समस्या देखिएको बताए।
'चिसो मौसम सुरु भएयता अन्य प्रयोजनले परीक्षणमा आउने बिरामीमा उच्च रक्तचाप धेरैमा देखिन थालेको छ,' उलने भने। यसअघि कहिल्यै रक्तचाप उच्च नदेखिएका र थाहासमेत नपाएकामा समेत समस्या देखिएको उनको भनाइ छ।
हरेक तीन जना उच्च रक्तचापका बिरामीमध्ये एक जनालाई रक्तचाप रहेको थाहा नहुने गरेको उनको अनुभव छ। रक्तचाप पत्ता लागेर नियमित औषधि सेवन गरेका भन्दा रक्तचाप रहेको तर थाहा नै नपाएका बढी जोखिममा रहेको उनले बताए।
'उच्च रक्तचाप भएर पनि थाहा नपाउनु वा परीक्षण नगर्नु अत्यन्त जोखिमपूर्ण हो,” उनले भने, 'म स्वस्थ छु भनेर यसै बस्नु हुँदैन, समय समयमा परीक्षण गराउनुपर्छ।'
डा अधिकारीले दुई दिनको बहिरङग परीक्षणमा आउने बिरामीको रेकर्डमा करिब २५ प्रतिशतमा पहिलो पटक अत्यधिक रक्तचाप देखिएको बताए। 'बिरामी धेरैले पहिला कहिल्यै रक्तचाप नदेखिएको र आफूलाई थाहा पनि नभएको बताउनुभयो,' उनले भने।
गर्मी मौसममा पसिना बढी आउने हुँदा पसिनाबाट नुनको मात्रा बाहिरिने र शरीरमा नुन घट्ने बताउँदै उनले जाडो समयमा शरीरमा नुनको मात्रा बढी हुने जानकारी दिए।
'जाडोमा शरीरका रगतका नलीहरु खुम्चिन्छन् र जाम हुन्छन्। यस्तो अवस्थामा नलीहरुले निचोरेर रगतलाई मुटुमा फिर्ता पठाउँछ,' उनले भने, 'मुटुले पनि आएको रगतलाई पुनः फाल्ने काम गर्छ। यसरी नली खुम्चिएर फिर्ता पठाएको रगत मुटुले तत्काल नलीतर्फ नै फिर्ता पठाउदा रक्तसञ्चारको प्रवाह नमिलेपछि रक्तचाप बढ्छ।'
जाडो मौसममा मादक पदार्थ, चुरोट लगायतका सुर्तीजन्य पदार्थ, माछामासु बढी प्रयोग गर्ने हुँदा यस मौसममा रक्तचाप बढ्ने उनले बताए। विश्वको जनसङ्ख्याको करिब ४ भागमा एक भाग उच्च रक्तचाप भएका मानिस हुन थालेको बताउँदै डा अधिकारीले भने, जब कि विश्वमा करिब २५ प्रतिशत जनसङ्ख्या त बच्चा र युवकको छ।' विश्वमा तीन प्रकारका उच्चरक्तचापका मानिस रहेको बताउँदै उनले भने, 'पहिलो–उच्चरक्तचाप छ तर थाहा छैन, दोस्रो–उच्चरक्तचाप छ, दबाइ खान्छ तर कन्ट्रोल छैन र तेस्रो– उच्चरक्तचाप छ, दबाइ खान्छ र कन्ट्रोल पनि छ, उद्देश्य तेस्रो हुनुपर्छ।'
नियमित व्यायाम, दैनिक करिब ३० मिनेटको फटाफट हिँडाइ, नुन तथा चिल्लो कम सहितको सन्तुलित भोजन, योगा, तनावमुक्त जीवनशैली र विज्ञको परामर्शमा आवश्यक परे औषधि सेवन गरी रक्तचापलाई १३०/८० भन्दा कम राख्ने लक्ष्य राख्न उनले सुझाव दिए।
चितवन मुटु अस्पतालका अध्यक्ष एवं मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारी जाडो मौसममा उच्च रक्तचापसँगै मुटुको समस्या पनि बढी हुने बताउँछन्। उनले हृदयघात (हर्ट अट्याक) र हर्ट फेलर हुनसक्ने जोखिम रहेको बताए। 'उच्च रक्तचापसँगै दिमागको नशा फुट्ने र पक्षघात हुने हुन्छ, त्यसलाई स्ट्रोक भनिन्छ,' उनले भने, 'जाडो मौसममा हातखुट्टाको रक्तनली खुम्चिने गर्दछ। जसलाई पेरिफेरल भ्यासोकन्स्ट्रिक्सन स्ट्रोक भनिन्छ।
धेरै चिसोमा हिँड्डुल नगर्न सुझाव दिँदै उनले घाम लागेको समयमा र चिसो कम भएको समयमा हिँड्डुल गर्न सुझाव दिए।