
२०२१ को जनवरी ६ मा भएको क्यापिटल हिल घटनाको अमेरिकी संसदले छानविन गरिरहेको छ। अनुसन्धानका क्रममा उसले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी तथा वरिष्ठ सल्लाहकार इभान्का ट्रम्पसँग बयान लिएको छ।
इभान्कासँगको बयानपछि संसदीय छानविन समितिकी उपप्रमुख लिज चेनीले 'ट्रम्प भविष्यमा कार्यालयका लागि अयोग्य रहेको' बताएकी छिन्। फेरि ओभल अफिसको वरिपरी पुग्न समते अयोग्य रहेको बताएकी छिन्।
दंगा रोक्न राष्ट्रपति ट्रम्पसँग पटकपटक अनुरोध गरेको इभान्का ट्रम्पलाई उदृत गर्दै चेनीले बताएकी छिन्।
'हामीले उनकी छोरीलाई चिनेका छौँ। हामीले उनीसँग बयान लिएका छौँ। इभान्काले कम्तिमा दुई पटक उन(राष्ट्रपति ट्रम्प)लाई हिंसा रोक्नका लागि अनुरोध गरेकी थिइन्,' सांसद चेनीले भनेकी छन्।
यसअघि प्रकाशित पुस्तकहरु 'आइ अलोन क्यान फिक्स इट', 'पेरिल'मा इभान्काले तीन पटक हिंसा रोक्नका लागि उनका पितासँग आग्रह गरेको उल्लेख छ।
'उनले यसअघिका अमेरिकी राष्ट्रपतिले ननाघेको सीमा नाघेका छन्,' अमेरिकी टेलिभजन कार्यक्रम 'दिस विक'सँगको अन्तर्वार्ताका क्रममा उनले भनेकी छिन्, 'जब राष्ट्रपतिले हुललाई रोक्न अस्वीकार गर्छन् जब उनले दंगा नियन्त्रणका लागि सरकारी निकायसँग समन्वय गर्न अस्वीकार गर्छन्। उनीमाथि विश्वास गर्न सकिँदैन।'
ट्रम्पकै पार्टी रिपब्लिकनबाट संसदमा प्रतिनिधित्व गर्ने चेनीले ट्रम्प अब आफ्नो उम्मेदवार हुन नसक्ने र फेरि शक्तिको नजिक पुग्न नसक्ने बताएकी हुन्।