
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्ना लागि पार्टी र राष्ट्रका लागि नेतृत्व लिने अन्तिम अवसर र चुनौती भएको बताएका छन्।
८ औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि प्रचण्डले यस्तो बताएका हुन्।
'यो मेरा लागि अन्तिम चुनौती र अवसर पनि हो, पार्टी अध्यक्षका रुपमा देश र जनताको सेवा गर्ने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र विचारमा योगदान पुर्याउने,' भावुक हुँदै उनले भने।
प्रचण्डले अरु सबै पार्टीको भन्दा माओवादी केन्द्रको महाधिवेशन भिन्न रहेको समेत दाबी गरे। उनले प्रदेशको सिफारिसका आधारमा नामहरु सिफारिस गरेको र सर्वसम्मत हलले केन्द्रीय नेतृत्व चयन गरेकोसमेत दावी गरे।
'हलमा प्रचण्डको आदेशको रुपमा होइन, सर्वसम्मत रुपमा भएको हो। तर, मिडियामा प्रचण्डले ताली बजाउनुस् भने हलले बजायो भनेर आयो र अपमान गरियो। त्यसबारे दु:खी छु,' उनले भने।
आइतवार माओवादी केन्द्रको महाधिवेशनबाट २ सय ३६ सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो। प्रचण्डले विधानमा व्यवस्था भएको २ सय ९९ मध्ये २ सय ३६ जनाको नाम प्रस्ताव गरेका थिए। प्रतिनिधिहरुले सर्वसम्मत पारित गरेका थिए।
आइतवार चयन भएका केन्द्रीय सदस्यहरुले प्रचण्डलाई पुन: अध्यक्षमा निर्वाचित गरेका हुन्। माओवादी केन्द्रको विधानमा केन्द्रीय कमिटी महाधिवेशनले निर्वाचित गर्ने र केन्द्रीय कमिटीले अध्यक्षसहितका पदाधिकारी चयन गर्ने व्यवस्था छ।