PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रचण्ड ‘स्टाइल’: आलोचना सुन्ने ग्रहण नगर्ने, टालटुल गर्ने अघि बढ्ने



प्रकाश भण्डारी

प्रचण्ड ‘स्टाइल’: आलोचना सुन्ने ग्रहण नगर्ने, टालटुल गर्ने अघि बढ्ने
फाइल फोटो

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) को ८औँ महाधिवेशनबाट पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। आइतबार केन्द्रीय कमिटी घोषणा गरेका प्रचण्डले सोमवार आफूलाई अर्को कार्यकालका लागि आफैँले अध्यक्ष घोषणा गराए।

२९९ जनाको केन्द्रीय कमिटी चयन गर्नु पर्नेमा उनले अपूरो अर्थात् २४६ जनाको नाम बन्दसत्रको हलबाट अनुमोदन गराएका थिए। अपूर्ण केन्द्रीय कमिटीले फेरि अपूर्ण पदाधिकारी अर्थात् अध्यक्ष मात्रै चयन गर्‍यो।

२०४६ सालमा नेकपा (मशाल) को पाँचौँ महाधिवेशनबाट महामन्त्री बनेर नेतृत्वमा पुगेका प्रचण्ड २०४८ मा नेकपा एकता केन्द्रको महामन्त्री हुँदै २०५७ सालबाट तत्कालीन नेकपा माओवादीको अध्यक्ष बने। उनी लगातार ३२ वर्षदेखि पार्टीको नेतृत्वमा छन्। फेरि ५ वर्षका लागि माओवादीको नेतृत्व पाएका प्रचण्डले पूरा अवधि अध्यक्ष रहे उनी झन्डै चार दशक पार्टीको नेतृत्व गर्ने छन्।

माओवादी केन्द्रमा पदाधिकारी सङ्ख्या कति हुने भन्नेबारे यकिन छैन। महाधिवेशन सुरु हुनुअघि अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित १५ सदस्यीय पदाधिकारी हुने निर्णय भएको थियो। महाधिवेशनका बेलासम्म आइपुग्दा उक्त सङ्ख्यालाई आवश्यकता अनुसार केन्द्रीय कमिटीले निर्धारण गर्ने तय गरेको थियो।

कामचलाउ गर्ने अघि बढ्ने

२०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बनेपछि प्रचण्ड र केपी शर्मा ओली अध्यक्ष बनेका थिए। केन्द्रीय कमिटी, स्थायी कमिटी, सचिवालयलगायतका पार्टी संरचना बनाएर ओली-प्रचण्ड अध्यक्ष भए पनि एकता प्रक्रियाले भने पूर्णता पाउन पाएन। उनीहरूले एकतालाई कामचलाउका रूपमै अघि बढिरहेका बेलामा अदालतले २०७७ फागुन २३ गते एकीकरणमाथि नै प्रश्न उठाएर नेकपालाई मान्यता दिएन। त्यसपछि दुबै पार्टीले पुराना संरचना ब्युँताउन लागे।

प्रचण्डको कामचलाउ स्टाइलमा कहाँसम्म अघि बढे भने एकताको समयलाई शून्य अवधि मानेर समय गुजारेको माओवादी केन्द्रले ८औँ महाधिवेशनलाई पनि राष्ट्रिय सम्मेलनका रूपमा तयारी गरेको थियो। तर महाधिवेशन सुरु हुन अघिल्लो दिन पुस १० गते बसेको स्थायी कमिटीको बैठकले महाधिवेशन नै गर्ने निर्णय गर्‍यो। निर्वाचन आयोगले महाधिवेशन नगर्दा कानुनी समस्या आउने भन्दै माओवादीलाई पटक-पटक चेतावनी दिएपछि प्रचण्ड महाधिवेशनमा जान बाध्य भए। सेल, वडा, पालिका, जिल्ला हुँदै प्रदेशसम्म माओवादीले सम्मेलन गरेको थियो।

पदाधिकारी नछान्नुको बहाना यस्तो

प्रचण्डले केन्द्रीय कमिटी सदस्यको सूची वाचन गरिसकेपछि सोमबारको बैठकले पदाधिकारी टुङ्ग्याउने बताएका थिए। तर, सोमबार उनले आफूलाई अध्यक्ष बनाउने बाहेकका पदाधिकारी नछानेरै अघि बढे। त्यसका लागि उनले नेता वर्षमान पुनको चीनमा भइरहेको उपचारलाई बहाना बनाएका छन्। नेता पुन र पत्नी ओनसरी घर्ती आएपछि मात्रै पदाधिकारी चयन हुने प्रचण्डको भनाई छ।

'उहाँहरू पार्टीको सिनियर लिडर पनि हुनुहुन्छ। आएपछि मात्रै पदाधिकारी टुङ्गो लगाउँछौँ,'उनले भने।

नेताहरूका अनुसार प्रचण्डले पदाधिकारीमा नेताहरूको भागबन्डा मिलाउन नसकेपछि वर्षमान पुनलाई देखाएर केन्द्रीय कमिटीको बैठक २५ गतेसम्मका लागि लम्ब्याएका हुन्।

माओवादी केन्द्रको पदाधिकारीमा पर्न नेताहरूका बीचमा तीव्र प्रतिस्पर्धा छ। प्रचण्डलाई नै चुनौती दिनेगरी नेताहरू तयार नभए पनि महासचिव लगायतका पदमा भने नेताहरूको बिचमा रस्साकस्सी सुरु भइसकेको छ।

महासचिवका लागि जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, देव गुरुङलगायतले दाबी गरिरहेका छन्। गुरुङले सोमबार आफ्नो दाबी महासचिवका लागि भएको संकेत गरेका थिए।

'मैले आफैँ भन्ने कुरा होइन। पार्टीले मूल्याङ्कन गरेर दिने कुरा हो,'उनले भने।

विशेष महाधिवेशनको प्रस्ताव किन?

प्रचण्डले तीनै तहको निर्वाचनपछि विशेष महाधिवेशन हुने बताएका छन्। उनले यो प्रस्ताव त्यसै ल्याएका भने होइनन्। माओवादी केन्द्रभित्रको विवादले महाधिवेशनका बेलामा उग्र रूप लिने भएकाले विशेष महाधिवेशनसम्मका लागि भन्दै पदाधिकारीमा आकांक्षी नेताहरूलाई मनाउने कोसिस थालेका हुन्।

'पदाधिकारीमा धेरै जना आकांक्षी हुनुहुन्छ। स्वाभाविक पनि हो। नेतृत्वले यसलाई कसरी मिलाउँछ त्यो हेर्न बाँकी छ। तर, विशेष महाधिवेशन पनि पार्टीभित्रको असन्तुष्टि मिलाउनकै लागि हो,' एक नेताले भने।

प्रचण्डले विवाद टालटुल बनाउन लगाएको अर्को जुक्ति हो-महाधिवेशनबाट केन्द्रीय कमिटीको पूर्ण कमिटी घोषणा नै नगर्ने। उनले २९९ मा २४६ जनालाई केन्द्रीय सदस्य बनाएर अन्य स्थान खाली राखेका छन्। विवाद भएर निर्वाचन गर्नुपर्ने अवस्थामा प्रचण्डले रिक्त रहेको स्थानमा सदस्य चयन गरेर विवाद मिलाउने प्रयास गर्नेछन्।

युवा र विद्यार्थी संगठनमा पनि टालटुल

प्रचण्डकै प्रभावस्वरुप माओवादी केन्द्रको युवा र विद्यार्थी संगठनका कमिटीहरूले पनि पूर्णता पाउन सकेका छैनन्। सबै ठाउँमा प्रचण्डले तजबिजीमा आफू निकटलाई नेतृत्व दिएको भन्दै माओवादी केन्द्रभित्र असन्तुष्टि व्यक्त हुने गरेका छन्। माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षमा प्रचण्डले पञ्चा सिंहलाई अघि सारेका थिए। असोजमा भएको सम्मेलनबाट सिंह अध्यक्ष चयन भए पनि अरू पदाधिकारी भने चयन हुन सकेनन्। २५ सदस्यीय पदाधिकारी हुने अनेरास्ववियु क्रान्तिकारीमा व्यवस्था छ।

भदौमा भएको युवा संगठन वाइसीएलको संयोजकमा पनि प्रचण्डले हस्तक्षेप गरेका थिए। संयोजक सुमन देवकोटालाई चयन गरे पनि अरू पदाधिकारी वाइसीएलमा पनि चयन हुन सकेका छैनन्।

प्रदेशमा कतै चुनाव, कतै लफडा

प्रदेश नम्बर एकमा निर्वाचनमार्फत् हर्कबहादुर लावती (मिक्सो) अध्यक्षमा निर्वाचित भएका थिए। वाग्मतीमा पनि निर्वाचनमार्फत् सरल सहयात्री पौडेल अध्यक्ष चयन भएका छन्। माओवादीको प्रदेश २ र सुदूरपश्चिममा नेतृत्वका लागि सहमति हुन नसकेपछि प्रदेश समिति नै बनेको छैन । कर्णाली, लुम्बिनी, गण्डकीमा अध्यक्ष चयन भएका छन्। तर, अन्य पदाधिकारी चयनमा विवाद देखिएको छ।

माओवादी केन्द्रका नेताहरूले केन्द्रीय सदस्य छान्ने मापदण्ड प्रदेशले सिफारिस गरेको आधारमा भएको बताउने गरेका छन्। तर धेरैजसो ठाउँमा पदाधिकारी र कमिटी नै नबनेकाले प्रचण्डले तजबिजीमा सूची प्रस्तुत गरेको बताइन्छ। प्रचण्डले अध्यक्षमा निर्वाचित भइसकेपछि आफ्नो आदेश अनुसार नभई प्रदेशको सिफारिसको आधारमा सूची प्रस्तुत भएको दाबी गरेका छन्।

'केन्द्रीय सदस्यको चयन हलमा प्रचण्डको आदेशका रूपमा भएको होइन प्रदेशको सिफारिसका रूपमा आएको हो। सर्वसम्मत रूपमा चयन भएको हो,'उनले भने।

आलोचना सुन्ने तर ग्रहण नगर्ने

प्रचण्डको अर्को स्टाइल हो -आलोचना सुन्ने तर सुझाव ग्रहण नगर्ने। हुन त उनले परिस्थिति हेरेर आत्मालोचना गर्ने गरेका छन्। महाधिवेशनमा प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्डले 'आफ्नै टाउकोमा आगो लगाएर' अघि बढ्न तयार रहेको बताएका थिए। तर, उनले महाधिवेशनमा ल्याएको राजनीतिक प्रतिवेदनमा भने खासै परिवर्तन भएन। नेताहरू राम कार्की, लेखनाथ न्यौपाने र हरिवोल गजुरेलले आफ्नो फरक विचार प्रस्तुत गरेका थिए। तर, तिनलाई समेटेर अघि बढ्ने भने पनि प्रचण्डको प्रस्तावलाई मात्रै अनुमोदन गरेर महाधिवेशन सकिएको छ। प्रतिनिधिहरूले कार्यकारी पदमा २ वर्षको म्याद, नेतृत्वको उमेर हद लगायतका विषय उठाएका थिए। जसलाई प्रचण्डले उल्लेख गर्न आवश्यक देखेनन्। प्रचण्डलाई प्रतिनिधिहरूले पार्टीमा 'बा' प्रवृत्ति मौलाएको भन्दै आलोचना गरेका थिए। आलोचनाको ठिक उल्टो महाधिवेशनको हलबाट केन्द्रीय कमिटीको सूची वाचन गरेर महाधिवेशनलाई प्रचण्डले अन्त्य गरिदिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell