PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

द लस्ट डटर : कम उमेरमै सन्तान हुर्काउनुपर्ने बाध्यताले जन्माएको कथा



सहयोग रञ्जित

द लस्ट डटर : कम उमेरमै सन्तान हुर्काउनुपर्ने बाध्यताले जन्माएको कथा
फोटो : imdb

सानै उमेरमा दुई छोरीकी आमा। श्रीमानसँग यौन सम्बन्धमा असन्तुष्टि। अर्कातिर करिअरको उक्लिँदो ग्राफ। तर, दुई बच्चाको जिम्मेवारीको बोझले सकसपूर्ण जीवन। यिनै पृष्ठभूमिमा गाँसिएको इतरसँगको सम्बन्ध। र, त्यसले विरक्त्याउँदै परिवारबाट टाढा पुर्‍याएको एउटा महिलाको कथा। प्रोफेसर लिडा पारिवारिक जिम्मेवारीको बोझबाट बाहिरिँदा त्यसले उब्जाएको अवस्थाको चित्रण हो - द लस्ट डटर।

घरको बोझिलो र झन्झटिलो वातावरण, अप्रत्यासित हिसाबमा मिलेको प्रशंसा, प्रेमको अनवरत खोजीले प्रोफेसर लिडा छोरीहरुबाट टाढा हुन्छिन्। अधवैशे उमेरमा पुग्दा त्यही टाढापनले उनमा बनाएको उकुसमुकुसलाई पर्दामा उतारेकी छिन् निर्देशक म्यागी गिलेनहालले। अभिनयबाट निर्देशकीय डेब्यु गरेकी उनको यो फिल्म साइकोलोजिक ड्रामा रुचाउनेहरुका लागि गजब लाग्न सक्छ।

गत सेप्टेम्बरमा ७८औं भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको द लस्ट डटरले बेस्ट स्क्रिनप्ले अवार्ड हात पारेकाले पनि धेरैमा फिल्म कस्तो होला भन्ने थियो। हालै नेटफ्लिक्समा अपलोड भएको फिल्म छिटो बच्चा जन्माएर हुर्काउन बाध्य महिलाको मनोदशामा आधारित छ। फिल्मको केन्द्रमा छिन् प्रोफेसर लिडा (ओलिभा कोलम्यान)। उनको मनोदशा उनमैमात्र सीमित रहन्न। उनी वरपरका पात्रहरु पनि उनकै हालतबाट गुज्रिरहेका छन्। निना (डाकोटा जोन्सन)को पनि सानी छोरी छिन्। तर, निना आफ्नो पतिसँग सन्तुष्ट छैनन्। उनको पनि विल (पावल मेस्कल)सँग चक्कर सुरु भएको छ। सेली (डाग्मर डोमेन्सिक)को पेटमा बच्चा छ। उनको मनोदशा पनि यी दुई पात्रभन्दा फरक हुनेवाला छैन - दृश्यले त्यही संकेत गर्छ।

प्रोफेसर लिडा आफ्नै मनोदशाबाट पीडित छिन्। उनी कहिले कहिले मायालु देखिन्छन् त कहिले असाध्यै चिढ्चिढाहटले भरिएकी। लिडाको मनोदशा र निनाको अवस्थालाई जोड्छ एउटा ‘बार्बी डल’ले। प्रमुख पात्रहरु खराब मनोदशाबाट कठोर बनिरहँदा ‘बार्बी डल’भित्र आत्मा भरेकी छिन् निर्देशक गिलेनहालले। छोरी हुर्काउनु पर्दाको झोकमा झ्यालबाट ‘बार्बी डल’ फ्याक्छिन् प्रोफेसर लिडाले। फुटेको ‘बार्बी डल’ले मातृत्व समाप्त पारिदिन्छ। आफैँले जन्माएका छोरीहरु छाडेर हिँडेकी उनी निनाको छोरीले खेलिरहेको ‘बार्बी डल’सँग जोडिन्छिन्। चोर्छिन् र लुकाउँछिन्। तर, निनामा भेट्छिन् आफ्नै हालत। निनालाई छोरीको माया छ तर हुर्काउँदाको झन्झट पनि। लिडालाई थाहा छ - उनको जस्तै निनाको डिप्रेसन सकिनेवाला छैन। त्यसैले उनी सघाउन चाहन्छिन्। निना र विलबिच यौनालापका लागि आफ्नो होटल अपार्टमेन्ट दिन उनी तयार हुन्छिन्। तर, त्यही द्वन्द्वको चरम स्थिति पैदा हुन्छ। ‘बार्बी डल’ मार्फत् फेरि निर्देशकले उनीहरुको मनोदशामा खेल्छिन्।

चल्तीका सिनेमामा महिलालाई 'वस्तु'का रुपमा पस्किने परम्परा हलिउडले नै स्थापित गरेको हो। त्यही परम्पराको बाढी सबैतिर हावी छ। सन्तान र उनीहरुको हुर्काइसँगै महिलाको मानसिक अवस्था कुन अवस्थामा पुग्छ भन्ने फिल्मले बुझाउँछ। निर्देशकीय हिसाबले जवान र ५० पुग्नै लाग्दा लिडाको मनोदशा दृश्यमा प्रस्तुत गर्न सहज छैन। अलेना फरानीको उपन्यास 'द लस्ट डटर'मा रहेको शब्दलाई दृश्यको भाषामा उतार्नु र दर्शकलाई त्यसको मनोविज्ञान बुझाउनु सजिलो काम पक्कै होइन। त्यसलाई जबरजस्त रुपमा निर्देशक गिलेनहालले उतारेकी छिन्। सिंगो सुन्तलाको बोक्रा नटुटाई सर्पको आकारमा उतार्दै छोरीलाई खुशी बनाउने लिडाको सीपलाई निर्देशकले अन्तिममा जसरी ‘कनेक्सन’ गरेकी छिन् त्यसले सन्देश दिन्छ - सन्तान प्रेमको मूल्य केहीसँग पनि तुलनायोग्य छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell