२०२२ जनवरी १। नै नयाँ वर्षको स्वागतमा सिंगो विश्व झुमिरहेको थियो। बिहानैदेखि मानिसहरु शुभकामना आदानप्रदान गरिरहेका थिए। तर, भारत प्रशासित राज्य कश्मीरकी कुरातुलिन रेबहबरका लागि नयाँ वर्षको पहिलो दिन नै सकसपूर्ण रह्यो। बिहानै उनले एउटा मोबाइल एपमा 'अनलाइन अक्सन'मा आफैँलाई देखिन्। अर्थात् बिक्रीका लागि उनी अपलोड भएकी थिइन् त्यहाँ। एपमा उनको तस्बिर अनुमतिबिना राखिएको थियो 'फर सेल' लेखेर।
यसरी 'बिक्री' मा राखिनेमा उनीमात्रै थिइनन्। सय जनाभन्दा धेरै मुस्लिम महिलाहरुको तस्बिर 'बुल्ली बाइ' नाम दिएर लिलामीमा राखिएको थियो। यसरी बिक्रीको सूचीमा बलिउडका चर्चित अभिनेत्री शवाना आजमी पनि थिइन्। उनीसँगै धेरै पत्रकार, अभियन्ता र राजनीतिक दलका नेतालाई लिलामीमा चढाइएको थियो।
एपमा ६५ वर्षीया फातिमा नफिसलाई समेत बिक्रीमा राखिएको थियो। नफिस बेपत्ता नजिब अहमदकी आमा हुन्। यस्तै, नोबेल शान्ति पुरस्कार विजेता मलाल युसफजाइ पनि अक्सनमा अटाएकी थिइन्।
गत वर्षको जुलाइमा 'सुल्ली डिल्स' भनेर करिब ८० मुस्लिम महिलाहरुलाई यसरी 'लिलामी' मा राखिएको थियो।
''बुल्ली' र 'सुल्ली' शब्द मुस्लिम महिलाहरुलाई प्रयोग गरिने तुच्छ शब्दहरु हुन्। यसपटक भने 'बुल्ली बाइ'मा अंग्रेजी सहित पंजाबी इन्टरफेस समेत प्रयोग गरिएको थियो,' अल्ट न्यूजका लागि फ्याक्ट चेकिङ गर्दै आएका पत्रकार मोहम्मद जुबेरले भने।
रेहबर यसरी 'लिलामी' परेको दोस्रोपटक हो। जुलाईमा पनि 'सुल्ली डिल्स'मा उनको तस्बिर थियो।
'जब मैले मेरो फोटो देखेँ मेरो गला भारिएर आयो। मेरो हातका रौं ठडिए। मैले बोल्नै सकिन। त्यो निकै अपमानजनक थियो,' रेहबरले भनिन्। ट्वीटरबाट उनले मुस्लिम महिलामाथि हुँदै आएको दुर्व्यवहारको विरोध गर्छिन्। त्यसैको प्रतिफल मिलिरहेको थियो उनलाई।
एपमा यसरी महिलाहरुको फोटो राखेर 'फर सेल' लेखिएको भए पनि बिक्रीको प्रकृया भने अगाडि बढेको थिएन। रेहबरका अनुसार यो अनलाइन एप्लिकेसन माइक्रोसफ्टको स्वामित्वमा रहेको ओपन सफ्टवेयर डेभलप्मेन्ट साइट 'गिटहब' बाट निर्माण गरिएको थियो।
'यो कार्य मुस्लिम महिलाहरुलाई अपमानित गर्न र उनीहरुको आवाज दबाउन गरिएको हो,' उनले भनिन्।
यो एपलाई शनिवार नै हटाइएको छ। पीडित महिलाहरुका अनुसार 'बुल्ली बाइ' को 'गिट हब इन्टरफेस एक्सटेन्सन' 'सुल्ली डिल्स'जस्तै थियो।
एपमा आफ्नो तस्बिर देखेपछि आक्रोशित बनेका महिलाहरुले शनिवार साँझ मोजाको तस्बिर सामाजिक संजालमा राखेर विरोध जनाएका थिए। यस्तो गर्नेमा थिइन्, भारतको राजधानी नयाँ दिल्लीमा पत्रकारिता गर्दै आएकी इस्मत एरा।
एराले अज्ञात व्यक्तिविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी छिन्। उनले मुस्लिम महिलाहरुलाई दुर्व्यवहार र अपमानित गर्न यस्तो घृणित कार्य भएको बताइन्। उनले यस्तो गतिविध स्वीकार्न नसकिने र त्यसले अश्लीलता फैलाउने बताएकी छिन्। उनको उजुरीलाई आधार बनाएर दिल्ली प्रहरीको साइबर क्राइम युनिटले आइतवार फस्ट इन्फरमेसन रिपोर्ट (एफआईआर) दर्ता गरेको छ। उनले धार्मिक सद्भाव भड्काउने, राष्ट्रिय एकतामा खतरा पुर्याएको र महिलाको यौन उत्पीडनको आरोप लगाउँदै उजुरी दर्ता गराएकी हुन्।
यस्तै, मुम्बइमा यसरी नै एपमा तस्बिर राखिएकी सिध्राले विभिन्न ट्वीटर प्रयोगकर्ता र 'बुल्ली बइ' एप निर्माता विरुद्ध मुद्दा दायर गराएकी छिन्।
पीडित महिलाले यसरी उजुरी दिए पनि प्रहरीले अपराधी समाउनेमा एरालाई शंका छ। किनभने 'सुल्ली डिल्स' कै विरुद्ध दर्ता गरिएको केसमा हालसम्म कसैलाई पक्राउ गरिएको छैन।
'मुस्लिम महिलालाई लक्षित गर्दै घृणा फैलाउनेलाई यस्तो गर्न अनुमति कसरी मिल्छ? त्यो दु:खद् कुरा हो। यस्तो अक्सन भएको पहिलोपटक होइन,' एराले भनिन्।
उनका अनुसार सामाजिक संजालमा मुस्लिम महिलाको अधिकारका विषयमा आवाज उठाउनेलाई 'अपराधी'हरुले निशाना बनाइरहेका छन्।
'यो हामीलाई चुप बनाउन गरिएको षड्यन्त्र हो। किनभने हामीले घृणा फैलाउने हिन्दु कट्टरपन्थीविरुद्ध बोलिरहेका छौं,' उनले भनिन्।
'सुल्ली' र 'बुल्ली डिल्स' मा तस्बिर प्रयोग भएकी मुम्बइकी वकिल फातिमा जोराह खानले गत वर्ष मुम्बई प्रहरीमा उजुरी दिएकी थिइन्।
'प्रहरीले उनीहरुलाई डाटा दिन भने पनि हामीले ट्वीटर, गिट हब र गोड्याडी' बाट कुनै प्रतिक्रिया पाएनौं। अदालतको वारेन्ट नभएसम्म उनीहरुले सूचना नदिने भन्दै हाम्रो माग अस्वीकार गरे,' उनले भनिन्।
गत वर्ष पनि इदउल फित्रको समयमा 'लिबरल डगी' नाम गरेको युट्युब च्यानलले पाकिस्तानी महिलाहरुको तस्बिर प्रयोग गरेर अश्लिल भिडियो अपलोड गरेको थियो। 'इद स्पेसल' भनेर सार्वजनिक गरिएको भिडियोको तीब्र आलोचना भएपछि उक्त कन्टेन्ट हटाइएको थियो। त्यसको केही हप्तापछि 'सुल्ली डिल्स' सतहमा आयो र मुस्लिम महिलाहरुलाई 'अक्सन' मा राख्यो।
यसरी महिलाहरुलाई 'अक्सन' मा राख्ने र मानमर्दन गर्ने गतिविधि बढ्दै गएपछि भारतका सांसदहरुले लोकसभामा प्रश्न समेत उठाइरहेका छन्। महाराष्ट्रबाट लोकसभा सांसद प्रियंका चतुर्वेदी महिलाको अपमान गर्दै भइरहेका कार्यबारे सरकारलाई पटकपटक अवगत गराउँदै आएकी छिन्। प्रहरीले उजुरी दर्ता गरे पनि कारवाही नभएको चतुर्वेदी बताउँछिन्। अपराधीहरुमाथि कारवाही नहुँदा उनीहरुको मनोबल बढ्दै गएको यस्ता घटना बढेको उनको दावी छ।
मुम्बईमा रहेकी वासिङ्टन पोस्टकी स्तम्भकार राना अयुब महिलाहरुलाई लक्षित गर्दै भइरहेको दुर्व्यवहारलाई कानुनले पहिचान गर्न नसकेको बताउँछिन्।
'बुल्ली बाइ भारतमा हेट क्राइमलाई निकै खतरनाक अस्थामा पुर्याएको छ। मुस्लिम महिलाहरुलाई कुट्टरपन्थी भिडका लागि खुल्ला छोड्ने काम भएको छ। अल्पसंख्यक समुदायका महिलाहरुलाई यसरी लिलामीमा राख्दा भारतकै नैतिक पतन भएको छ र यसले भारतको संवैधानिक मूल्यहरुको अपमान गरेको छ,' उनको भनाई छ।
भारतमा प्रहरी प्रशासनलाई 'बुल्ली बाइ' संचालन गर्नेहरुलाई कारवाही गर्न दबाब बढ्दै जाँदा प्रहरीले २१ वर्षीय छात्रलाई नियन्त्रणमा लिएको छ। मुम्बई प्रहरीले पक्राउ गरेको व्यक्तिको बारेमा कुनै पनि सूचना सार्वजनिक गरेको छैन। सम्बन्धित व्यक्तिको सूचना बाहिर ल्याइए त्यसबाट अनुसन्धान प्रभावित हुनसक्ने भन्दै महाराष्ट्रका गृह मन्त्री संजय पाटिलले पीडितहरुलाई अपराधीहरु कारवाहीको दायरामा आउने आश्वासन दिएका छन्।
(अलजजिराका लागि श्रीस्ती जश्वालको रिपोर्ट र बीबीसी हिन्दीमा प्रकाशित सामाग्रीका आधारमा तयार पारिएको।)