PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

माओवादी केन्द्रले पारित गरेको ४५ बुँदे प्रस्ताव : कालापानी, लिपुलेकदेखि एमसीसीबारे के छ भनिएको?



पहिलोपोस्ट

माओवादी केन्द्रले पारित गरेको ४५ बुँदे प्रस्ताव : कालापानी, लिपुलेकदेखि एमसीसीबारे के छ भनिएको?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पुस ११ देखि १८ गते सम्म सम्पन्न ८ औं महाधिवेशनले कालापानी,लिपुलेक लिम्पियाधुरा लगायत  नेपाली भूमि रक्षाका लागि सदैव संघर्षरत रहने प्रण गर्ने प्रस्ताव पारित गरेको छ।

महाधिवेशनले पारित गरेको  ४५ बुँदे समसामयिक प्रस्तावको दोस्रो बुँदामा कालापानी, लिपुलेक, लिम्पियाधुराको विषय उल्लेख गर्दै संघीय संसदबाट पारित पूर्ण नक्शालाई पाठ्यक्रममा समावेश गरी राष्ट्रियताको भावना सुदृढ गर्न सरकारसँग माग गरेको छ।

त्यस्तै, महाधिवेशनले सन् १९५० को सन्धि लगायतका सबै असमान सन्धि-सम्झौताहरू खारेजी र सार्वभौमिक समानता र आपसी हितका आधारमा आवश्यकता अनुसार नयाँ सन्धि-सम्झौताका लागि आवश्यक पहलकदमी लिन नेपाल सरकार, देशका सबै राजनीतिक दलहरू र सरोकारवालालाई यो महाधिवेशन विशेष अपील गर्ने प्रस्ताव समेत पारित गरेको छ। माओवादी केन्द्रको महाधिवेशनले कञ्चनपुरका गोविन्द गौतम र दार्चुलाका जयसिंह धामीका दोसीलाई कारवाही गर्नसमेत माग गरेको छ।

‘नेपालको सीमा रक्षार्थ शहीद भएका कंचनपुरका गोविन्द गौतम र भारतीय पक्षले तुइन काटेपछि वेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामीप्रति उच्च सम्मान व्यक्त गर्दै घटनामा संलग्नलाई कारवाही र क्षतिपूर्तिका लागि कुटनीतिक पहल गर्न नेपाल सरकार समक्ष माग गर्दछ,’ पारित प्रस्तावमा भनिएको छ, ‘साथै कञ्चनपुर, कैलालीलगायत नेपाल भारत सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको ज्यादतीको बिरोध गर्दछ। सुस्ता,महेशपुर लगायतका सबै अतिक्रमित भूमि फिर्ता लिन र नेपाल र भारतबिचको सीमाको वैज्ञानिक व्यवस्थापनका लागि सरकारसँग माग गर्दछ।‘

महाधिवेशनले पारित गरेको प्रस्तावमा एमसीसीलाई समेत समावेश गरिएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक दस्तावेजमा समावेश नभएको भन्दै प्रतनिधिहरूले आलोचना गरेका थिए। महाधिवेशनले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमा पारित हुन नसक्ने प्रस्ताव समेत पारित भएको छ।

‘राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल सरकार र एमसीसी बिच भएको सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस्,’ पारित प्रस्तावमा भनिएको छ, ‘यस विषयमा सम्पूर्ण राजनीतिक दल, सरकार र संसद सहित समग्र राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्न यो महाधिवेशन माग गर्दछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell