PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

मैदान फर्किए मल्ल : म सधैँभरका लागि कप्तान हुन आएको होइन र हुनुपर्छ भन्ने पनि छैन



पहिलोपोस्ट

मैदान फर्किए मल्ल : म सधैँभरका लागि कप्तान हुन आएको होइन र हुनुपर्छ भन्ने पनि छैन

काठमाडौं : नेपाली क्रिकेटमा विवाद पछिल्लो महिना अलि बढि नै चर्कियो। यसले मैदानमा खेलाडीको गुट उपगुटको अवस्था नै सिर्जना गरिदियो। अर्कोतर्फ विश्वकपको छनोट नजिकिँदै गर्दा नवनियुक्त प्रशिक्षक पुबुदु दासानायकेले ३० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए।  तर, खेलाडी-क्रिकेट संघ मतभेद चर्किँदा सबै खेलाडीले निर्धारित मितिमा रिपोर्टिङ गरेनन्।

आइतवार र सोमवारको खेलाडी क्यान छलफल पछि भने मंगलवार बिहान २८ जना खेलाडी कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान पुगे। जसमा अस्वस्थ रहेका सागर ढकाल र बिगब्यास लिग खेलिरहेका कप्तान सन्दिप लामिछाने अनुपस्थित रहे। अर्थात समग्रमा सबै खेलाडी एकठाउँमा आए।

क्यानविरुद्ध 'स्टायान्ड' लिएक पूर्व कप्तान ज्ञानेन्द्र आफूहरु सबै 'इगो'हरु बाहिर राखेर देशको लागि भनेर मैदान फर्किएको बताउँछन्।

'इगोहरुलाई बाहिर राखेर नेपाल क्रिकेटको भविष्यका लागि भनेर, महत्वपूर्ण प्रतियोगिता पनि आइरहेको छ। यसका लागि एकठाउँमा बस्नु पर्छ र हामीले नै क्रिकेटलाई अघि बढाउनु पर्छ भन्ने हिसाबले जे भयो भयो अब अगाडिको लक्ष्य भनेको अगाडि बढ्ने नै हो,' प्रशिक्षणका लागि मैदान पुगेका ज्ञानेन्द्र मल्लले भने,' विवाद समाप्त भएर हामी सबै यहाँ छौं। विवाद भन्दा पनि असन्तुष्टि हो। विवाद बनाइए जस्तो लाग्यो। विवाद जस्तो गरेर पोट्रेट भयो। खेलाडीको केही कुरामा असन्तुष्टि थियो त्यसमा क्लेरिफाइ गर्नेभन्ने मात्र कुरा हो।'

मल्लले विवाद सकिएको बताउँदै अहिलेका लागि विश्वकपमा छनोट हुने लक्ष्य लिएर अघि बढेको बताए। भने, 'अहिलेलाई धेरै पनि समय छैन। हाम्रो लक्ष्य भनेको विश्पकप खेल्ने हो। गेममा फोकस हुनुपर्छ जस्तो लाग्छ।'

कप्तान सन्‍दीप लामिछाने हाल नेपालमा छैनन्। र, देखिएको खेलाडीको विभाजनले मैदानमा खेलाडी एक टिम भएर उभ्भिन सक्छन् या सक्दैनन् भन्ने प्रश्न उठिरहेको छ। यस्तोमा पूर्वकप्तान मल्ल खेलाडीमा विभाजन भएको कुरालाई ठाडै अस्वीकार गर्छन्।

'हामी एकअर्कासँग कसैसँग दुश्मनी लिएजस्तो लाग्दैन। न त बोर्डसँगै लिएको हो। उहाँहरुसँग बस्दा पनि राम्रै कुरा हुन्छ। यहाँ खेलाडीहरु कोही दशौं वर्ष देखि खेलिरहेको छ भने कोही भर्खर खेलिरहेको छ। डोमेस्टिकदेखि अन्तर्राष्ट्रियसम्म,' उनले अगाडि भने, 'विवाद हुने भइदिएको भए यहाँ कोही हुँदैन थियो होला।'

कप्तानी र आत्मसम्मानको कुरा 

विवाद बढ्दै जाँदा क्यानको बोर्ड बैठकले मल्ललाई कप्तानीको जिम्मेवारीबाट र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारीबाट हटाएको थियो। यसले आफूलाई व्यक्तिगत रुपमा कठिन भएको मल्लले बताए।

'अलिकति दु:ख लाग्यो। यत्रो वर्ष क्रिकेटलाई दिइयो अनि बिनाकारण विभिन्न कुराहरु निकालेर जे भयो त्यसले व्यक्तिगत रुपमा गाह्रो भएको थियो,' पूर्वकप्तान मल्लले भने, 'कहिले पनि बोर्डको विरुद्धमा जाने या बोर्डलाई तल्लो स्तरको देखाउन कहिले पनि गरेको होइन। गर्ने भए अरुअरु बाटो हुन्थ्यो होला। खेल्दिन थिएँ होला। तर यत्रो वर्षदेखि केही नहुँदा पनि खेलेकै थिए। दु:ख लाग्यो। आत्मसम्मानको हिसाबले अफ्ठ्यारो परेको थियो।'

यसका बावजुत आफूले कप्तान हुनुअघि पनि देशका लागि खेलेको र अब पनि खेल्ने उनले बताए।

'म सधैँभरको लागि कप्तान हुन आएको होइन र हुनुपर्छ भन्ने पनि छैन। म कप्तान हुनुअघि पनि खेलिरहेको थिएँ। अहिले पनि खेल्छु। देशका लागि खेल्छु। मेरो लागि खेल्छु। परिवारका लागि खेल्छु' उनले भने।

'पहिलै कुरा हुनुपर्थ्यो'

क्यानले खेलाडीसँग विवाद सुरुहुनु भन्दा अघि नै बसेर छलफल गरेको भए विवाद यहाँसम्म आइनपुग्ने उनले तर्क गरे।

'सुरुमा वर्गीकरणको कुराबाट यो नै सुरु भएको हो। हामी यसमा बसेर कुरा गर्न चाहन्थ्यौं किनभने पछिल्लो पटक २०२० मा पनि यस्तै भएको थियो। तर यस्तो हुन सकेन। र, विभिन्न कारणहरुले कुरा नियन्त्रण बाहिर गयो,' मल्लले भने, 'हामी टेबल टक गरेर यो विषयलाई समाधान गरौं भन्ने चाहन्थ्यौं। किनभने वर्गीकरणको लागि ढिला भइसकेको थियो। हामीलाई मापदण्डको केही थाहा थिएन।'

आफूहरुले त्यही समस्याहरुलाई सल्टाउने बाटोमा जान खोजेको उनले दाबी गरे। 'यसलाई प्लेयर र बोर्ड मिलेर सल्टाएको भए हुने थियो। तर पनि जे हुन्छ राम्रैको लागि हुन्छ' उनले भने।

नेपालमा पहिला काम गरिसकेका प्रशिक्षक पुबुदु फेरि मुख्य प्रशिक्षक भएर आउँदा विवाद समाधानमा केही सहज भएको उनले बताए। भने, 'कोचसम्म पुगिराख्नु भन्दा पनि खेलाडीबिचको समस्या यसरी नै पहिले छलफल भएको भए यो सबै कुराहरु हुँदैन थियो' उनले भने।

क्यान र खेलाडीबिच के सहमति भयो?

कारवाहीमा परेका चारजना खेलाडीले पत्रकार सम्मेलन गरेर आफूलाई कारवाही गर्ने निर्णयलाई पुनर्विचार गर्न क्यानलाई अनुरोध गरेका थिए। पछि बन्द प्रशिक्षण नजिकिँदै गर्दा खेलाडीले कारवाही पुनर्विचार गर्न भन्दै मेल गरिएको बुझिएको थियो।

त्यस्तै आइतवारमात्र क्यान अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, प्रशिक्षक पुबुदु, ज्ञानेन्द्र मल्ल लगायतबिच छलफल भएको थियो। जसमा कप्तानी सन्दीप लामिछानेले नै गर्ने र ४ जना खेलाडीमाथि गरिएको कारवाही अर्को बोर्ड बैठकले फुकुवा गर्ने सहमति भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताएका थिए।

पूर्वकप्तान मल्लले पनि लगभग यही सहमति भएको बताए।

'उहाँहरुले चार जना खेलाडीमाथि लगाएको कारवाही फिर्ताको कुरा गर्नु भएको छ,' मल्लले भने, 'त्यसपछि हामीले उठाएको कुरा भनेको ओमन सिरिजबाट तीन जना खेलाडी छुट्यो भन्ने हो। त्यसमा उहाँहरुले 'इन्सेन्टिभ'हरु दिने कुरा गर्नु भएको छ। बोर्डबाट पास गर्ने कुरा गर्नुभएको छ। यसमा अध्यक्ष र कोचले वाचा गर्नुभएको छ।'

यी हुन् बन्द प्रशिक्षणका लागि छनोट भएका खेलाडी :

सन्दीप लामिछाने ( बिग ब्यास खेल्न बाहिर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आशिफ शेख, कमलसिंह ऐरी, शहाब आलम, सन्दीप जोरा, अभिनास बोहोरा, शुसन भारी, पवन सर्राफ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुलसन कुमार झा, नन्दन यादव, जितेन्द्र कुमार मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल (अनुपस्थित), हरिशंकर शाह



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell