PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गुड्डुको योजनामा जेलभित्रैबाट ड्रग्सको डिल, कारागारका कर्मचारीको पनि कनेक्सन



सविन ढकाल

गुड्डुको योजनामा जेलभित्रैबाट ड्रग्सको डिल, कारागारका कर्मचारीको पनि कनेक्सन

काठमाडौं : कारागारका कर्मचारी र जेलभित्रै रहेका अपराधीको मिलेमतोमा लागू औषध कारोबार हुने गरेको खुलासा भएको छ। 

लागू औषध नियन्त्रण व्युरोको अनुसन्धानमा कारागारभित्रबाटै यस्तो कारोबार हुने गरेको देखिएको हो।

लागू औषधकै मुद्दामा दोषी ठहर भएर सिन्धुली कारागारमा रहँदै आएका भारतीय नागरिक गुड्डु गुप्ताको योजनामा भित्रैबाट ड्रग्सको धन्दा चल्दै आएको व्युरोले जानकारी दिएको छ। उनको नेतृत्वमा ८ जनाको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो।

संलग्न रहेका भनिएका ८ जनामध्ये एक जना सिन्धुली जिल्ला कारागारमा कार्यरत कार्यालय सहयोगी समेत रहेको पुष्टि भएको हो। त्यहाँ कार्यरत रीता सारु मगर नै कारागार भित्र लागु औषध कारोबार गराउने 'रोल'मा रहेको व्युरोले जनाएको छ। 

सोही कारागारमा कैद भुक्तान गरिरहेका सन्तोष स्याङ्तानको पनि लागू औषध कारोबारमा संलग्नता देखिएको छ। उनी जिल्ला कारागारका टेलिफोन नाइके समेत हुन्।  

गुड्डु गुप्ताको योजनामा उनीहरुले अवैध कारोबार गरिरहेको प्रहरीको दावी छ। गुड्डु २०६८ सालमा लागू औषधसहित पक्राउ परेका थिए। उनलाई २०६९ सालमा १८ वर्ष जेल सजाय तोकिएको थियो। त्यसैअनुसार कैद भुक्तान गरिरहेका उनी जेलभित्रै ड्रग्सको कारोबार हाँकिरहेका थिए। 

टेलिफोन नाइके रहेका सन्तोषलाई पनि ५ वर्ष कैद सुनाइएको थियो। गुड्डु र सन्तोष दुवैलाई सिन्धुली कारागारबाट रौतहट कारागार पठाइएको छ। 

यस समूहबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध समेत बरामद गरेको व्युरोले जनाकारी दिएको छ। जेल भित्र रहेको यस गिरोहले भारतबाट नेपालसम्म लागू औषध ल्याउने सञ्जाल नै खडा गरेको छ। त्यसरी नेपाल भित्रिने लागु औषधको जेलभित्रैबाट कारोबार हुँदै आएको अनुसन्धानमा देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell