
जनकपुरधाम : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा दुई पदका लागि ४ दलबाट ६ जनाको उम्मेदवारी दर्ता भएको छ।
चुनावी प्रतिस्पर्धाका लागि सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसप) बाट १-१ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र एमालेबाट २-२ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
मंगलवार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा चारवटै दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन्।
सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले महिला कोटामा उम्मेदवारी दर्ता गराएकी छिन्। पर्साको वीरगंज महानगरपालिकाकी अर्यालको प्रस्तावक नगिना यादव रहेकी छिन् भने सीता साह समर्थक रहेकी छिन्। यस्तै जसपाबाट अन्य समूह कोटामा सिरहाका मोहम्मद खालिद सिद्धिकीले उम्मेदवारी दर्ता गराएका छन्।
लोसपाबाट महोत्तरीकी रूपा यादव महिला कोटामा र श्यामसुन्दर सरदारले अन्य समूहमा उमेदवारी दर्ता गराएका छन्। यादवको प्रस्तावक प्रदेशसभा सदस्य रानी शर्मा तिवारी र समर्थक परमेश्वर साह रहेका छन्। सरदारको प्रस्तावक प्रदेशसभा सदस्य अभिराम शर्मा समर्थक गौरीनारायण साह रहेका छन्।
एमालेको तर्फबाट महिला कोटामा बिना देवी साह र अन्य समूहबाट उस्मान अन्सारीले उम्मेदवारी दर्ता गराएका छन्। साहको प्रस्तावक अनिलकुमार यादव र समर्थक गणेश राउत रहेका छन्। त्यस्तै, अन्सारीको प्रस्तावक तारादेवी लामा र समर्थक रामपृत महतो रहेका छन्।