
जनकपुरधाम : प्रदेश नम्बर २ मा स्थानीय तहबाट २६८ मतदाता छन् भने प्रदेशसभा तर्फबाट १०४ जना छन्।
यी मतदाताको राजनीतिक दलका आधारमा मतभार हेर्दा प्रदेश २ मा काँग्रेसको २ हजार २६२ मतभार, माओवादी केन्द्रको १ हजार १९४, एमालेको ९४२, नेकपा एकीकृत समाजवादीको ७५०, जसपाको २ हजार ९८८, लोसपाको १ हजार ५६०, लोकतान्त्रिक फोरमको १०८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत छ। फोरम लोकतान्त्रिक काँग्रेसमा आइसकेकोले काँग्रेससँग अब २ हजार ३७० मतभार रहेको छ।
प्रदेश नम्बर २ मा राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेल र शशीकला दाहालको समयअवधि समाप्त भएपछि चूनाव हुन लागेको हो ।
स्थानीयतहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ। जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ मतभार रहेको छ।
को को छन् उम्मेदवार ?
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा दुई पदका लागि ४ दलबाट ६ जनाको उम्मेदवारी दर्ता भएको छ। सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले महिला कोटामा उम्मेदवारी दर्ता गराएकी यस्तै जसपाबाट अन्य समूह कोटामा सिरहाका मोहम्मद खालिद सिद्धिकीले उम्मेदवारी दर्ता गराएका छन्।
लोसपाबाट महोत्तरीकी रूपा यादव महिला कोटामा र श्यामसुन्दर सरदारले अन्य समूहमा उमेदवारी दर्ता गराएका छन्।
एमालेको तर्फबाट महिला कोटामा बिना देवी साह र अन्य समूहबाट उस्मान अन्सारीले उम्मेदवारी दर्ता गराएका छन्।