
काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी)का मोहन वैद्यले प्रचण्डले भनेको समाजवाद 'प्रतिक्रियावादी समाजवाद' भएको टिप्पणी गरेका छन्। नेकपा (माओवादी केन्द्र)को पुस ११ देखि १८ गते सम्म सम्पन्न महाधिवेशनले पारित गरेको दस्तावेज मार्क्सवाद-लेनिनवाद-माओवादको सैद्धान्तिक मान्यतामा आधारित नभएको समेत उनले बताएका छन्।
माओवादी केन्द्रको सन्दर्भमा क्रान्तिकारी माओवादीको मुखपत्र वर्गदृष्टिमा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
'प्रचण्डको दस्तावेज मार्क्सवाद-लेनिनवाद-माओवादको सैद्धान्तिक मान्यतामा आधारित छैन। सारसंग्रहवादी, दक्षिणपन्थी अवसरवादी, संशोधनवादी छ,' उनले भनेका छन्, 'प्रचण्डको दस्तावेज एकातिर पुरानो सत्ता, व्यवस्था र संविधानको संरक्षण, अर्कोतिर दक्षिणपन्थी अवसरवादको समिश्रणको रुपमा आएको छ।'
कुनै समय प्रचण्डका नेता समेत रहेका वैद्यले 'माओवाद' शव्दलाई प्रचण्डले देखाउन र भ्रम छर्नका लागि मात्र प्रयोग गरेको आरोप लगाएका छन्।
'(एमाले अध्यक्ष केपी शर्मा ओली) ओलीसँग एकता गर्दा माओवाद फालिएको थियो। अदालतले माओवादी केन्द्र ब्युँताइदिएपछि माओवाद राखिएको हो। देखावटी रुपमामात्र प्रचण्डले माओवादको प्रयोग गरेका हुन्,' उनले भनेका छन्।
प्रचण्डले शान्तपूर्ण रुपमा समाजवादको स्थापना गर्ने भनेर मार्क्सवादी विरोधी कुरा गरेको समेत वैद्यको आरोप छ।
'कम्युनिस्ट घोषणापत्रमा मार्क्सले प्रतिक्रियावादी समाजवाद, सुधारवादी समाजवादको चर्चा गर्नुभएको छ। हो प्रचण्डले भनेको समाजवाद त्यस्तै प्रतिक्रियावादी समाजवाद हो। सर्वहारा वर्गीय समाजवाद होइन,' उनले भनेका छन्, 'मार्क्सवाद-लेनिनवाद-माओवादको सैद्धान्तिक पथप्रदर्शनमा स्थापित गरिने समाजवाद भनेको सर्वहारा वर्गीय समाजवाद हो। त्यस्तो समाजवाद सर्वहारा वर्गको नेतृत्वमा सर्वहारा वर्गको सत्ता (वैज्ञानिक समाजवाद) स्थापना गरिन्छ। त्यो भनेको शान्तिपूर्ण रुपमा होइन, वर्ग संघर्षको बाटोबाट स्थापित हुने हो। शान्तिपूर्ण रुपमा समाजवादको स्थापना गर्ने भन्नु सरासर मार्क्सवाद विरोधी कुरा हो। वर्ग संघर्षलाई मार्क्सवादले सार्वभौम सिद्धान्त मानेको छ।'
वैद्यले प्रचण्डले वकालत गरेको समाजवाद कांग्रेस जस्तो प्रतिक्रियावादी, सुधारवादी, सार संग्रहवादी समाजवाद रहेको टिप्पणी गरेका छन्। 'कांग्रेस, राप्रपा, एमाले र प्रचण्डले भनेको समाजवादमा केही फरक छैन। त्यस्तो समाजवाद स्थापित गर्न किन माओवादी केन्द्र नामको पार्टी चाहियो, त्यसका लागि कांग्रेस नै खाँटी छँदैछ नि,’ उनले भनेका छन्।
उनले प्रचण्डको दस्तावेजलाई राष्ट्रिय आत्मसमर्पणवादी दस्तावेज समेत बताएका छन्।
'नेपालको स्वाधीनतामाथि विगत लामो समयदेखि भारतीय विस्तारवादले सीमा अतिक्रमण र आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएको छ। लिम्पियाधुरा-लिपुलेक-कालापानीमाथि अहिले पनि कब्जा जमाइराखेको छ। नेपालको नक्सामा समेटिएपनि उक्त भूमि फिर्ताको विषय राष्ट्रिय स्वाधीनताको प्रमुख विषय हो,' उनले भनेका छन्, 'यो विषय प्रचण्डले दस्तावेजमा उल्लेख नै गरेका छैनन्। एमसीसी सम्झौताको विषयमा पनि प्रष्ट धारणा आएको छैन। स्वाधीनता र राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको कुरा गर्दा अमेरिकी साम्राज्यवादको अर्थनीति उदारवादका विरुद्ध लड्न जरुरी हुन्छ। त्यसका विषयमा पनि प्रचण्डको दस्तावेजमा ठोस कुरा केही पनि उल्लेख छैन।'
उनले माओवादी केन्द्र क्रान्तिकारी भन्दा मजबुत संसदीय धारको पार्टीको रुपमा देखिएको आरोप समेत लगाएका छन्।
'प्रचण्डको यो दस्तावेजबाट त माओवादी केन्द्र अझ मजबुत रुपमा संसदीय व्यवस्थाको बफादार बन्ने देखिएको छ। शान्तिपूर्ण रुपमा समाजवादको स्थापना गर्ने भनेर प्रचण्डले पार्टीलाई खाँटी संशोधनवादी पार्टीको रुपमा स्थापित गरेका छन्,' वैद्यले भनेका छन्, 'अब उहाँहरुको लडाइँ भनेको कांग्रेस र एमालेको भाग खोस्ने हो। कांग्रेस, एमाले र माकेको समाजवादको नारा एउटै भएपछि अब उनीहरुलाई अप्ठ्यारो परेको छ।'