PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तीन दिनसम्म लगातार आएको त्यो कल जसले कारागारभित्र जारी अपराधको कनेक्सन काट्यो



सविन ढकाल

तीन दिनसम्म लगातार आएको त्यो कल जसले कारागारभित्र जारी अपराधको कनेक्सन काट्यो

काठमाडौं : 'तँलाई सुत्न पठाएको हो? काम गर्नुपर्दैन?'

संग्राम मोक्तानलाई मोबाइलबाट कसैले थर्काइरहेको थियो। यसरी प्रश्नमाथि प्रश्न उठाउँदै आएको आवाज प्रहरीले लाउड स्पिकरमा सुनिरहेको थियो। सँगै थिए संग्राम मोक्तान। लागु औषध नियन्त्रण ब्युरोको टोलीले मङ्सिर २६ गते काठमाडौंको महाङकालबाट उनलाई पक्राउ गरेको थियो।

ब्युरोको टोलीले लागु औषध सेवनकर्तालाई नियन्त्रणमा लिएर लागु औषधको कनेक्सन पहिल्याउँदै जाँदा संग्रामसम्म पुगेको थियो। लागु औषध सेवनकर्ताले संग्रामसँग ड्रग लिएको प्रहरीलाई जानकारी दिएका थिए। त्यही आधारमा सोही दिन अर्का युवक पञ्च स्याङतान समेत पक्राउ परेका थिए।

उनीहरू दुवैले लागु औषध बिक्री गर्ने गरेको खुलेको थियो। तर, उनीहरूलाई थाहा थिएन - त्यो लागु औषध कसलाई बेच्ने? कहाँबाट ल्याउने भन्ने प्रश्नको पनि जवाफ थिएन। उनीहरू दुवैको एउटै जवाफ थियो- फोन कलमा कसैले निर्देशन दिन्छ। उसैको आधारमा कसलाई बेच्ने जानकारी हुन्छ।

प्रहरीको अनुसन्धान अब संग्राम र पञ्चमा मात्र केन्द्रित हुँदा अपूरो हुने निश्चित थियो। पुग्नु थियो त्यो मान्छेसँग जसले फोनबाट निर्देशन दिन्थ्यो। उनीहरुलाई फोन गर्ने मानिसको नाम भने प्रहरीलाई बताएका थिए दुवैले। उनीहरुले खुलाएको नाम थियो- गुड्डु गुप्ता। त्यसबाहेक उनको हुलिया बुझ्ने कुनै फोटो र परिचय थिएन दुवैजनासँग। फोन नम्बर भएकाले प्रहरीलाई अनुसन्धानका लागि बाटो चाहिँ खुल्यो। तर, त्यो फोन नम्बरमा कतैबाट फोन गएको देखिएन - कल डिटेल चेक गर्दा। त्यसैले त्यो फोन नम्बर अनुसन्धानका लागि केही विशेष नै थियो प्रहरीका लागि।

प्रहरीले फोनको कनेक्सन हेर्दा जाँदा सिन्धुली कारागारसम्म नेटवर्क जोडियो। सिन्धुली जिल्ला कारागारमा १० वटा फोन प्रयोगमा थिए। जसमध्ये एउटा नम्बर त्यही फोन कलको थियो। लागु औषधको कारोबारको सम्पूर्ण जालो अब सिन्धुली कारागारमा रहेका गुड्डुमा गएर ठोक्किएको थियो। तर, जतिखेर प्रहरी त्यहाँ पुगे, उनी सिन्धुली कारागारमा भेटिएनन्।

+++

भारतीय नागरिक गुड्डुलाई २०६८ सालमा प्रहरीले ७ सय ग्राम हेरोइनसहित पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौँले २०६९ कार्तिक २१ गते १८ वर्ष कैद सजाय सुनाएको थियो उनीविरुद्ध। त्यसपछि उनी सिन्धुली कारागार चलान भएका थिए।

ब्युरोको अनुसन्धानमा कारागारबाट नै गुड्डुले लागु औषध कारोबार गरेको खुलेको थियो। अनुसन्धानका क्रममा सिन्धुली कारागारमा लागु औषध कारोबारमा पाँच वर्ष कैद भुक्तान गरिरहेका सन्तोष स्याङ्तान पनि तानिए। रोचक के भने उनी पनि त्यही कारागारमा भेटिएनन्।

प्रहरीले उनीहरूको अपराधको कुण्डली खोतलिसकेको थियो। जब प्रहरी कारागार पुग्यो केही दिन अघिमात्र उनीहरू दुवै जना जेल सरुवा भएर रौतहट कारागार पुगेका रहेछन्। प्रहरीको अनुसन्धान उनीहरू तिर मोडिनासाथ उनीहरुको कारागार सरुवा हुनु आफैंमा अर्को रोचक दृश्य थियो। संयोग हो वा कुनै योजना, अझै प्रष्ट भइसकेको छैन।

'कारागार भित्रबाट नै गुड्डुले तस्कर परिचालन गरेर कारोबार गरेको देखियो। अन्य केही मानिस नियन्त्रणमा छन् र अरू केही निगरानीमा,' लागु औषध नियन्त्रण ब्युरोका एसएसपी हृदय थापाले भने।

लागु औषध कारोबारको सञ्जालमा कारागारमा कार्यरत कार्यालय सहयोगी रीता सारु मगर समेत मुछिएकी छिन्। पुस ९ गते प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएको छ। गुड्डुले सन्तोष स्याङतानलाइ प्रलोभनमा पारेर कारागारबाट नै लागु औषध कारोबारको सेटिङ मिलाएका थिए। सन्तोष कारागारभित्रका टेलिफोन नाइके थिए। टेलिफोन नाइके भएकाले गुड्डुले फोनबाट नै कहाँबाट लागु औषध लिने र कसलाई दिने सहजै निर्देशन दिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

'उसले जेल बाहिरका मानिसलाई कारोबार गर्दा फलानो ठाउँमा जानु भन्थ्यो। गएर यस्तो लुगा लगाएको यसरी बसिरहेको मानिसलाई भेट्नु भन्थ्यो। उसलाई फोनमा नै यसरी मानिस बसिरहेको छ भन्ने थाहा हुन्यो,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए।

गुड्डुले कारागार बाहिर लागु औषधको कारोबार गर्न मासिक १३ हजारदेखि २० हजार रुपैयाँसम्ममा 'रोजगारी' दिएको खुलेको छ। सुरजसिंह ठकुरी, दीपक महर्जन र दुई जना नावालकलाई समेत उनले रकम दिएको देखिएको छ। त्यतिमात्र होइन, उनका सञ्जालका त्यस्ता सहयोगीहरुको कोठा भाडा समेत उनी आफैँले तिर्ने गरेका थिए।

लागु औषध कारोबारको रकम भने कारागारका कर्मचारी रीता सारु मगरको बैंक खाताबाट लेनदेन हुने गरेको देखिएको छ। रीताको खातामा विभिन्न मानिसले लागु औषध कारोबारको रकम हाल्ने र अरूलाई पठाउने गरेको देखिएको छ। उनले एक पटकमा ४ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म पठाउने गरेको देखिएको छ।

त्यस्तै, उनको खाताबाट अरू कारोबारीलाई ७५ हजारदेखि १ लाख रुपैयाँसम्म पठाएको पनि देखिएको छ। ' केही रकम दिएकाले खाता प्रयोग गरेको देखिन्छ। उनले अहिलेसम्म यो रकम लागु औषध कारोबारको हो वा होइन भन्ने जानकारी नभएको देखिन्छ। थप अनुसन्धान भइरहेको छ,' एसएसपी थापाले भने। पञ्च भने कारागारमा रहेका टेलिफोन नाइकेका भाइसमेत हुन्। उनीहरूले मातृभाषामा कारागारबाट कुरा गर्ने गरेका थिए जसले गर्दा अरुले बुझ्थेनन्। उनीहरूले मातृभाषामा बोल्ने भएकाले प्रहरीले उनीहरूको भाषा बुझ्ने प्रहरी नै राखेर अनुसन्धान गर्नुपरेको थियो।

प्रहरीले सुरुमा नियन्त्रणमा लिएका अभियुक्तको फोन मोनिटरिङ गरेको थियो। तीन दिनसम्म लगातार कारागारबाट गुड्डु र पञ्चसँग भएको कुराकानी सुनिरहेको थियो प्रहरीले। तर जब गुड्डुको ग्याङले उनीहरु प्रहरीको नियन्त्रणमा रहेको सुइँको पाए, गुड्डु सम्पर्कमा आउन छाडे। त्यतिमात्र होइन, उनी एकाएक कारागार सरुवा नै भए। उनीहरूले लागु औषध डाइजापा, फेनारगन र बुफ्रेनोर्फिन लगायत लागु औषधको कारोबार गरेको प्रहरीको दाबी छ।

कारागार भित्रै हुने अपराधको यो कुनै नयाँ केस भने होइन। हत्या, फिरौती, नक्कली नोटको कारोबारी, चन्दा लगायतका 'अपराध'को घेरामा पर्ने गतिविधि जेलभित्रैबाट पटकपटक हँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell